Comments Add Comment

वाम उम्मेदवारका एजेण्डाः कास्कीलाई कृषि, पर्यटन, जलविद्युत र खेलकुदको हव बनाइने

१७ कात्तिक, पोखरा । कास्कीका बाम गठबन्धनका उम्मेद्वारहरुले आगामी प्रतिनीधि सभा तथा प्रदेश सभाको निर्वाचन पछि देशमा स्थायी सरकारसंगै आर्थिक समृद्धिको लागि आफूहरुको उम्मेदवारी भएको उद्घोष गरेका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर कास्कीले शुक्रबार संयूक्त रुपमा पोखरामा आयोजना गरेको कास्कीका वाम गठबन्धनका उम्मेद्वारहरुसँग साक्षात्कारमा उम्मेद्वारहरुले मुलुकमा वाम गठबन्धनको नेतृत्वमा बहुमतको सरकार बनाएर मुलुकमा राजनीतिक स्थिरता प्रदान गर्दै आर्थिक समृद्धी ल्याउनको लागि आफूहरुको उम्मेद्वारी भएको बताएका हुन् ।

कार्यक्रममा बाम गठबन्धनबाट कास्की क्षेत्र नम्बर १ का उम्मेद्वार बनेका खगराज अधिकारीले स्थिरता र समृद्धीका लागि आफ्नो उम्मेद्वारीका भएको बताउँदै बाम गठबन्धनका उम्मेद्वार जिताउन मतदाता आतूर भएको बताए ।

उनले भने,’उम्मेद्वार म हैन, बाम गठबन्धन हो, बाम गठबन्धनले अघि सारेको एजेण्डा र समृद्धिको खाकामा म प्रतिबद्ध छु ।’ उनले कास्कीलाई नेपालकै नमूना जिल्ला बनाउने अभिलाषासहित जलविद्युत, अर्गानिक कृषि, पर्यटन र खेलकुदको हब बनाउने घोषणा गरे ।

उनले कास्की क्षेत्र नम्बर-१ मा २ सय मेगावाट बिजुली निकाल्नसक्ने फेवाताल बनाउने, कास्कीमा अन्र्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्नेलगायतका आफ्नो एजेण्डा प्रस्तुत गरे ।

कास्की क्षेत्र नम्बर २ का रविन्द्र अधिकारीले बहुमतको स्थायी सरकार निर्माण गर्ने र त्यस सरकारको माध्यमबाट देशमा आर्थिक विकास गर्दै समृद्ध मुलुक बनाउने, शान्ति, सामाजिक न्याय, समानताका लागि बाम गठबन्धन बनाएको बताए ।

उनले यो गठबन्धनमार्फत आर्थिक क्रान्ति गर्दै समाजवादसम्म पुग्ने योजना रहेको उल्लेख गरे । अधिकारीले आन्तरिक लोकतन्त्र नभएको तर लोकतान्त्रिक भनिने कांग्रेसलाई दक्षिणपन्थी पार्टी भनेपनि फरक नपर्ने टिप्पणी गरे । उनले एमाले र माओवादीलाई कांग्रेसले जतिसुकै अधिनायकवाद र अलोकतान्त्रिक भनेर भ्रम फैलाएपनि जनताले विश्वास नगर्ने दावी गरे ।

कुरा र मन्त्र जपेर मात्र विकास नहुने भन्दै अधिकारीले बाम गठबन्धनले १० वर्षमा नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउने, १० वर्षमा २० हजार मेगावाट बिजुली उत्पादन गर्ने, बृद्धभत्ता ५ हजार पुर्‍याउने, शिक्षा सबैले समान पाउने सुनिश्चितता गर्ने, १० वर्ष भित्रमा वाषिर्क ५० लाख पर्यटक नेपालमा र २० लाख पर्यटक पोखरामा मात्र भित्राउने बाम गठबन्धनले घोषणा पत्र बनाएको जानकारी दिए ।

उनले कांग्रेसले भनेजस्तो नीजि सम्पति हडप्ने हैन, बरु उनीहरुको सम्पति र सार्वजनिक क्षेत्रको पनि संरक्षण गर्दै रोजगारीको सिर्जना गर्ने बताए ।

क्षेत्र नम्बर ३ का उम्मेद्वार जगत विश्वकर्माले बाम गठबन्धनको साझा गन्तव्य भएकाले घोषणा पत्रमा उल्लेख भएका एजेण्डाहरु कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताए । उनले रुपान्तर र समृद्धि नेपालीको राष्ट्रिय लक्ष्य भएकाले त्यसलाई पूरा गर्न आत्मनिर्भर अर्थतन्त्रको विकास गरेर समृद्ध नेपाल निर्माण गर्ने बताए । उनले कास्कीलाई स्मार्ट सिटी बनाउने, पर्यटनको राजधानी बनाउने, समुन्नत पोखरा निर्माण, सुखी जनता बनाउने योजना सुनाए ।

कास्की १ को प्रदेश नम्बर १ का उम्मेद्वार दीपक कोइरालाले आफ्नो क्षेत्र लेखनाथदेखि रुपाकोटसम्मको कृषिमा आधुनिकीकरण गरेर आत्मनिर्भर बनाउने, गाउँमै रोजगारी सिर्जना गरी त्यहाँ उत्पादित सामानको बजारीकरण गर्ने लगायतका प्रमुख एजेण्डा रहेको बताए ।

कास्की १ को प्रदेश नम्बर २ का उम्मेद्वार मनबहादुर गुरुङले जल जमिन, जैविक विविधता, जडीबुटीको समुचित प्रयोग गर्ने बताए । उनले गाउँ खरबारीमा परिणत भएकोप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई सदुपयोग गरेर आत्मनिर्भरतातर्फ अग्रसर बनाउने आफ्नो योजना रहेको बताए ।

कास्की २ को प्रदेश क्षेत्र नम्बर १ का उम्मेद्वार कृष्ण थापाले आफू विजयी भएर ५ वर्ष जनताको घरदैलोमा रहेर, सुख, दुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गरे । साथै उनले लोकतान्त्रिक गणतन्त्रमा प्राप्त उपलब्धी कहीँ कतै नझुकी र नचुकी इमान्दारपूर्वक जनतामा समर्पित रहने बताए ।

कास्की २ को प्रदेश नम्बर २ का उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले बिकासका ४ एजेण्डा प्रस्तुत गर्दै कास्कीलाई मासु, दूध र तरकारीमा आत्मनिर्भर बनाउने, पर्यटनको केन्द्र बनाउने, रोजगारी सिर्जना गर्ने, घर/घरमा सरकार पुर्‍याउने तथा ब्यबस्थित सहर निर्माण गर्ने बताए ।

कास्की ३ को प्रदेश नम्बर १ का उम्मेद्वार रामजी वराल ‘जीवन’ले आफ्नो क्षेत्रमा पर्ने हेमजादेखी पुरुञ्चौरसम्मको क्षेत्र कृषिका हिसाबले अत्यन्तै सम्भावना बोकेको क्षेत्र भएकाले कृषिमा आधुनिकीकरण गरेर उत्पादन बढाउने, त्यसको बजारीकरण गर्ने तथा सो क्षेत्रका पर्यटकीय क्षेत्रको संरक्षण र प्रबर्द्धन गर्दै त्यस क्षेत्रलाई पर्यटनको हब बनाउने योजना प्रस्तुत गरे ।

कास्की ३ का प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार राजिव पहारीलेे नेपालको पर्यटनको राजधानी कास्की भएको र कास्कीको पनि राजधानी बैदाम, पुम्दीभुम्दी, घान्द्रुक भएकाले त्यसको विकासमा जोड दिने बताए ।

उनले फेवाताललाई पहिलेकै आकारमा पुर्‍याउने, आफ्नो क्षेत्रमा परेका छोरेपाटनदेखी अन्नपूर्ण बेसक्याम्पसम्म रिङ्गरोड बनाउने, पोखरामा स्वास्थ्य तालिम केन्द्र बनाउने, जिर्ण सडकको स्तरोन्नती गर्नेलगायतका एजेण्डा प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment