Comments Add Comment

पैसावाल दीपक बोहोरा, सिद्धान्तवाल घनश्याम भुसाल !

रुपन्देही ३ मा यसरी हुँदैछ दुई धारको छनोट

घनश्याम भुसाल र दीपक बोहोरा

२१ कात्तिक, काठमाडाैं । घनश्याम भुसाल र दीपक बोहोरा नेपाली राजनीतिका दुई फरक प्रवृत्तिको प्रतिनिधित्व गर्ने चर्चित पात्र हुन् । भुसालले सिद्धान्तको पहिचान बोकेका छन् भने बोहोराले सत्ता, शक्ति र पैसालाई राजनीतिको आदर्श बनाएका छन् । चुनावी चलखेलमा घनश्याम भुसाल दीपक बोहोराभन्दा कम अनुभवी नेता हुन् ।

रुपन्देही क्षेत्र नम्बर ३ का मतदाताका लागि यसपटक रोचक संयोग जुरेको छ- घनश्याम भुसाल रोज्ने कि दीपक बोहोरा ?

वामपन्थी गठबन्धनबाट एमाले उपमहासचिव भुसाल र लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष बोहोरा चुनावी मैदानमा आमने-सामने भएका छन् । रुपन्देही सदरमुकाम भैरहवा सहितको भूभाग समेटिएको यो निर्वाचन क्षेत्रमा यसपटक रुपन्देहीको सर्वाधिक चासोको चुनाव हुँदैछ ।

अर्बपति बोहोरा, आदर्शवादी भुसाल

प्रचण्ड सरकारका सबैभन्दा धनाड्यमन्त्रीको सूचीमा रहेका बोहोराको आर्थिक हैसियत करोडमा होइन, अरबौंमा छ । पछिल्लोपटक आयल निगमको जग्गा खरिद काण्डमा समेत संलग्न रहेको आरोप लागेका बोहोरा जसरी पनि चुनाव जित्नुपर्छ भन्ने सिद्धान्तबाट प्रेरित छन् ।

घनश्याम भुसाल ठीक विपरीत धारका नेता हुन् । जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मान्यताले राजनीतिलाई अपराधीकरण र भ्रष्टीकरण बनाउने उनको तर्क छ । दुई विपरीत विचारका नेतामध्ये को रोज्ने भन्ने निर्णय अब रुपन्देही ३ का मतदाताको छ ।

घनश्याम भुसाल एजेण्डा बोकेर चुनावमा होमिएका छन् भने बोहोरा आश्वासन बोकेर गएका छन् ।

बोहोरा र भुसालको राजनीतिक यात्रा

सक्रिय राजतन्त्रदेखि गणतन्त्रसम्म आउँदा करीव ३० वर्षको बीचमा दश पटक मन्त्री बनेका दीपक बोहोरालाई यसपटक नेपाली कांग्रेसले साथ दिएको छ । कांग्रेसका नेता बालकृष्ण खाँणले सो क्षेत्र बोहोरालाई छाडेर समानुपातिकमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।

अर्कोतिर नेपाली वामपन्थी आन्दोलनमा प्रखर वक्ता तथा माक्र्सवादी चिन्तकका रुपमा परिचित घनश्याम भुसाल साझा बामपन्थी उम्मेदवारका रुपमा अघि सरेका छन् । राजनीतिक चरित्रका हिसाबले घनश्याम र दीपक बोहोरा ठीक फरक प्रवृत्तिको प्रतिनिधित्व गर्छन् ।

तर, चुनावमा नेताको चरित्र भन्दा पनि चुनावी तिकडम निर्णायक हुने गर्छ ।

जतिबेला नेपालमा विद्यार्थी आन्दोलन चर्किएर पञ्चायती व्यवस्था धरापमा पर्दै थियो, त्यसबेला घनश्याम भुसाल अनेरास्ववियुको नेतृत्वमा उदाउँदै थिए । उता त्यही बेला दीपक बोहोरा पञ्चायत टिकाउन गठन भएको राष्ट्रवादी विद्यार्थी मण्डलको नेतृत्व गरेर राष्ट्रिय पञ्चायतको सिँढी चढ्न खोज्दै थिए ।

बिभिन्न काण्डका कारण राष्ट्रवादी विद्यार्थी मण्डललाई पञ्चायतभित्रै मण्डले भन्न थालिएको थियो । कमल थापा, दीपक बोहोरा, टंक ढकाल जस्ता नेताहरु सोही पृष्ठभूमिबाट राष्ट्रिय राजनीतिमा आएका थिए ।

घनश्याम भुसाल पनि ‘मण्डले’सँग लड्दै अनेरास्ववियुको महासचिवसम्म भएर एमालेको राजनीतिमा स्थापित भए ।

भुसालको आदर्श

दीपक बोहोरा नेपाली राजनीतिमा सत्ता, शक्ति र पैसाका लागि जुनसुकै गठबन्धन गर्न सक्ने खेलाडीका रुपमा चिनिन्छन् । ठीक विपरीत घनश्याम भुसाल राजनीति सिद्धान्तका आधारमा चल्नुपर्छ भन्छन् । उनको यही दार्शनिक पक्षलाई एमालेकै कतिपय कार्यकर्ताले अव्यवहारिक भन्ने गरेका छन् ।
जनतालाई झूठो आश्वासन दिन्न भनेका कारण भुसाल ०७० को चुनावमा कांग्रेस नेता बालकृष्ण खाँणसँग ८८ मतले पराजित भए । भुसालको आदर्शवादी कुराले गर्दा चुनाव हारेको एमालेका नेता कार्यकर्ता अहिले पनि बताउने गर्छन् ।

राजनीतिमा चुनाव जित्न जे पनि गर्नुपर्छ भन्ने दीपक बोहोरा र जे पनि गर्नुहुदैन भन्ने भुसालबीचको प्रतिस्पर्धा यसपटक रोचक बन्ने नै भयो ।

हारजितका उतार- चढाव

राप्रपाका बरिष्ठ उपाध्यक्ष तथा बहालवाला स्वास्थ्यमन्त्री दीपक बोहोराले रुपन्देहीमा पार्टीको संगठनका कारण भन्दा पनि व्यक्तिगत प्रभावका कारण ०७० को चुनाव जितेका हुन् । बहुदलीय व्यवस्थायताका अरु सबै चुनाव हारेका बोहोरा ०७० मा मात्र सफल भएका थिए ।

घनश्याम भुसाल भने यसबीचमा तीन पटक चुनाव लडे । ०५१ मा निर्वाचित एमालेका तत्कालिन सांसद धनपति उपाध्यायको निधनपछि भएको उपचुनावमा भुसालले कांग्रेसका रामकृष्ण ताम्राकारलाई पराजित गरेका थिए । ०५६ मा मालेबाट उम्मेदवार बन्दा उनी पराजित भए भने ०७० मा ८८ मतले पराजित भए ।

रुपन्देही ३ को चुनावी मैदानमा उत्रिएका भुसाल र बोहोरा दुवै केन्द्रीय राजनीतिका चर्चित पात्र हुन् । त्यसैले पनि यहाँको लडाई प्रतिष्ठताको विषय बनेको छ । बोहोराले भुसाललाई यो क्षेत्रको टुरिस्ट नेता भनेका छन् । यद्यपि भुसालले ०५१ मा यही क्षेत्रबाट चुनाव जितेका थिए ।

दीपक बोहोराले चुनाव कसरी जित्नुपर्छ भन्ने कुरा घनश्याम भुसालले भन्दा धेरै बुझेका छन् । उनी ०३८ सालदेखि निरन्तर रुपन्देहीमा चुनाव लडिरहेका छन् । उनको चुनाव जित्ने आधार भनेको पार्टी संगठन भन्दा पनि व्यक्तिगत प्रभाव र चलखेल नै हो ।

थारु र मधेसी फ्याक्टर

बोहोराले भैरहवा र आसपासका क्षेत्रको जातीय समीकरणमा पनि खेल्न खोजेका छन् । उनले मधेसी मतदातालाई प्रभावित पार्ने सम्भावना छ । अन्य क्षेत्रका मतदातामा घनश्याम भुसालको प्रभाव रहने देखिन्छ ।

थारुको मत थलामाथि हुन नदिन भुसालसँगै एमालेेले प्रदेशमा थारु नेता तुलसी चौधरीलाई खडा गरेको छ । त्यसो त बोहोरासँगै प्रदेशमा कांग्रेसका थारु नेता देवी चौधरी पनि प्रतिस्पर्धामा छन् ।

थारु र मधेसी मतदातामा दुवै पक्षले आँखा लगाएका छन् । कांग्रेसको पूरै मत बोहोरामा जान्छ कि बिभाजित हुन्छ भन्ने प्रश्न पनि यहाँ महत्वपूर्ण छ ।

बोहोराको व्यक्तिगत मत, भुसालको पार्टीगत

यस चुनावी लडाईमा नेता भुसालले व्यक्तिगत भन्दा पार्टीगत मत बढी पाउने देखिन्छ भने बोहराले पार्टीगत भन्दा व्यक्तिगत मत पाउने देखिन्छ । तर, यी दुवै नेताको ब्याकफोर्सका रुपमा तालमेल गरेका सहकर्मी दलको मत पनि निर्णायक हुन सक्छ ।

भुसाललाई यो क्षेत्रमा तुलनात्मक रुपमा कमजोर रहेको माओवादी केन्द्रको साथ छ भने बोहोरालाई यो क्षेत्रमा स्थानीय तहको चुनावको मतका हिसाबले एमालेपछि दोस्रो रहेको कांग्रेसको साथ छ ।

वाम गठबन्धनबाट यस क्षेत्रको प्रतिनिधिसभामा एमालेले र प्रदेशसभाको १ मा माओवादी केन्द्र र २ मा एमालेले उम्मेदवारी दिएको छ ।

त्यस्तै लोकतान्त्रिक गठबन्धनबाट यस क्षेत्रको प्रतिनिधिसभामा राप्रपाले र प्रदेश सभाको १ र २ मा कांग्रेसले उम्मेदवारी दिएको छ । बोहोराले यहाँका थारुको मत आफूतिर तान्ने प्रयास गरिरहेका छन् ।

स्थानीय चुनावको अंकगणित

चार महिनाअघि सम्पन्न स्थानीय तहको चुनावको मतलाई आधार मान्ने हो भने, रुपन्देही ३ मा लोकतान्त्रिक गठबन्धनभन्दा वामपन्थी गठबन्धन बलियो छ । तर दीपक बोहोराको भोट बैंक संगठन भन्दा पनि व्यक्तिगत पकड र चलखेलबाट निर्धारण हुने भएकाले स्थानीय तहको मत गनेर जितहार आँकलन गर्न सकिन्न ।

बोहोराले मतदाताको मूड हेरेर अन्तिम घडीमा थैली खोल्ने गरेको यहाँको राजनीतिक अग्रजहरु बताउँछन् ।

रुपन्देही ३ मा सिद्धार्थनगर नगरपालिका, शुद्धोदन गाउँपालिकाका सबै वडा समेटिएका छन् । त्यस्तै बुटववल उपमहानगरपालिकाका १४ देखि १९ वडा पनि यही क्षेत्रमा समेटिएका छन् । तिलोत्तमा नगरपालिकाका १३ र १४ वडाका साथै मायादेवी गाउँपालिकाका ७ र ८ वडाका समेटिएको यस क्षेत्रमा ओमसतिया गाउँपालिकाको वडा नम्बर २ पनि पर्छन् ।

स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिका (भैरहवा) र शुद्धोदन गाउँपालिका एमालेले जितेको थियो । त्यस्तै बुटवल उपमहानगरका ६ वटा वडामध्ये ४ वटा एमालेले र २ वटा कांग्रेसले जितेको छ ।

यस क्षेत्रमा समेटिएका तिलोत्तमा नगरपालिकाका दुवै वडा एमालेले जितेको छ भने ओमसतियाको एउटा वडा कांग्रेसले जितेको छ । त्यस्तै मायादेवी गाउँपालिकाका दुवै वडा संघीय समाजवादी फोरमले जितेको छ ।

स्थानीय तहको मत हिसाब गर्दा एमाले एक्लैको २० हजार २८ छ भने माओवादीको ४ हजार ८६७ समेत जोड्दा वामपन्थी गठबन्धनको मत करीव २५ हजार हुन्छ ।

त्यस्तै कांग्रेसको मत १६ हजार ६५१ छ भने राप्रपाको ४ हजार ८६७ छ । दुवै पार्टीको मत जोड्दा करीव २१ हजार हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment