Comments Add Comment

अछाममा एकै वडाका चार उम्मेद्वार

१२ कात्तिक, अछाम । शिक्षकबाट रिटायर्ड भएका सुरतबहादुर विष्टले धेरै आकांक्षीलाई पछि पार्दै नेपाली कांग्रेसबाट अछाम प्रदेशसभा-१ को टिकट हात पारे ।

सोही वडाका पूर्व सांसद रामबहादुर विष्ट पनि कांग्रेसबाट पार्टीको समानुपातिकतर्फ प्रतिनिधिसभाको सूचीमा पर्न सफल भए ।

एमालेबाट प्रदेशसभामा दुर्गा विक र राप्रपाबाट श्यामबहादुर शाहीको नाम समानुपातिकको बन्द सूचीमा परेको छ ।

यी चारै जना अछामको पञ्चदेवल-विनायक नगरपालिका-४ कालिकास्थान निवासी हुन् ।

प्राचार्यबाट रिडायर्ड हुने बित्तिकै सुरतबहादुरले राजनीति सुरु गरेका हुन् । रामबहादुर भने दुई/दुई पटक जित र हारको अनुभव लिइसकेका छन् ।

नेकपा (एमाले) बाट सात नम्बर प्रदेश समानुपातिकमा परेकी सोही वडाकी दुर्गा विक भने एनजीओकर्मी हुन् । उनले महिला र दलित अधिरका सम्बन्धी वकालत गर्थिन ।

सोही वडाका राप्रपाका केन्द्रीय सदस्य रहेका श्यामबहादुर शाही अधिवक्ता समेत हुन् । उनी दोश्रो संविधानसभा निर्वाचनमा राप्रपा नेपालबाट अछाम-२ बाट यसअघि प्रत्यक्ष चुनाव लडेका थिए ।

अहिले शाही बाहेक अन्य तीन जना उम्मेदवारहरुले मतदाता फकाउन सभा, छलफल र भेटघाटलाई तीव्र बनाइसकेका छन् ।

टिकट पाएर १६ गते उम्मेद्वारी दर्ता गरेपछि सुरतबहादुरसँगै रामबहादुर मतदातालाई आफ्नो पक्षमा पार्न चुनावी अभियानमा जुटेका छन् ।

दुर्गा भने एमालेको चुनावी अभियान टोलीसँगै मत मागिरहेकी छन् । प्रत्यक्ष उम्मेद्वार विष्टसँग वामगठबन्धनबाट माओवादी केन्द्रका अक्कल रावल चुनावी प्रतिस्पर्धामा छन् ।

एकै वडाका चारजना उम्मेद्वार भएपछि स्थानीय वासिन्दालाई भने कसलाई मत दिने भन्नेमा अन्यौल भएको छ ।

तीनै जना उम्मेद्वारहरुले आआफूलाई भोट दिए सडक, खानेपानी, विजुली, स्वरोजगारको आश्वासन बाँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment