Comments Add Comment

दमननाथको पुनरागमनलाई महेश बस्नेतले रोक्न सक्लान् ? यस्तो छ हिसाब

भक्तपुर २ः निरन्तर उकाले लागेको एमाले र स्थिर कांग्रेसबीच प्रतिस्पर्धा

२२ कात्तिक, भक्तपुर । पूर्वसभामुख दमननाथ ढुंगानाले सक्रिय राजनीति त्यागेर नागरिक समाजको अगुवा बन्दै गर्दा महेश बस्नेत सक्रिय राजनीतिमा प्रवेश गर्दै थिए । २०५१ को संसदीय चुनावमा दमननाथ ढुंगाना काठमाडौं २ मा एमालेकी विद्या भण्डारीसँग पराजित भएपछि राजनीतिबाट टाढिए ।

महेश बस्नेत भने २०५४ को स्थानीय चुनावमा भक्तपुरको गुण्डु गाविसको अध्यक्ष निर्वाचित भएर देशभरकै कान्छो गाविस अध्यक्षका रुपमा चर्चामा आए । महेश बस्नेत राजनीतिमा उदाउँदै गर्दा दमननाथको राजनीति अस्ताएको थियो ।

तर, यसपटक फेरि नयाँ संयोग जुरेको छ । दमननाथ ढुंगाना कांग्रेसको उम्मेदवार बनेर २३ वर्षपछि सक्रिय राजनीतिमा फर्किएका छन् । राजनीतिक सक्रियता र विकासे दौडाहाका कारण भक्तपुरमा उदाउँदै गरेका एमाले नेता महेश बस्नेत वामपन्थी गठबन्धनको साझा उम्मेदवारका रुपमा सोही क्षेत्रमा भिड्दैछन् ।

ढुंगानाको आगमन कांग्रेसलाई नै सरप्राइज

धेरैले भक्तपुर २ को चुनाव एमालेका युवा नेता महेश बस्नेत र कांग्रेस जिल्ला सभापति दुर्लभ थापाबीच प्रतिस्पर्धापूर्ण हुने अनुमान लगाएका थिए । तर, कांग्रेसले उम्मेदवारी मनोनयनको विहान ढुंगानालाई टिकट दिएपछि कांग्रेस वृत्तमा खैलाबैला मच्चियो ।

नयाँ पुस्ताका कांग्रेस कार्यकर्ताले दमननाथ ढुंगाना को हुन् भनेर सोधखोज गर्न थाले । विस्तारै कांग्रेसजन तंग्रिन थालेको र ढुंगानासँग परिचय शुरु भएको कांग्रेस जिल्ला सभापति थापाले बताए ।

भक्तपुर २ का कांग्रेसका लागि मात्र होइन, मतदाताका लागि पनि दमननाथ ढुंगानाको प्रवेश सरप्राइज बनेको छ । नयाँ पुस्ताका मतदाता उनको ‘प्रोफाइल सर्च’ गर्न थालेका छन् । जसले दमननाथको बारेमा बुझेका छन्, उनीहरु भने ढुंगानाले किन भक्तपुर २ नै रोजे भनेर अन्दाज लगाउन थालेका छन् ।

महेश बस्नेतको खटाई, अनुराधाको शालिनता

अर्कोतिर एमाले नेता महेश बस्नेत भक्तपुर २ का मतदाताबीच परिचित पात्र हुन् । युवा संघ अध्यक्ष हुँदै उद्योग मन्त्री समेत भइरहेका उनी राष्ट्रिय नेताको स्तरमा पुगे । २०७० को संविधानसभा चुनावमा यहि क्षेत्रबाट उम्मेदवार बनेर पराजित भएका बस्नेत उद्योगमन्त्री भएपछि चुनावलाई लक्षित गरेरै खटिए ।

भक्तपुर २ बाट दुई पटक चुनाव जितेको नेपाल मजदूर किसान पार्टीबाट निवर्तमान सांसद अनुराधा थापामगर प्रतिस्पर्धामा छिन् । संसदमा शालिन प्रस्तुतिका कारण चर्चामा रहेकी अनुराधाका लागि यो प्रत्यक्ष निर्वाचनको अनुवभ पहिलो हो ।

तर, बिगतमा भक्तपुर २ मा रहेका नेमकिपाको एकल पकडका ८ वटै वडा यसपटक यो क्षेत्रबाट १ मा गाभिएपछि नेमकिपा केही कमजोर भएको मानिएको छ । मध्यपुर र सुर्य बिनायक नगरपालिकामात्र रहेको यो क्षेत्रमा नेमकिपा तेस्रो स्थानमा छ ।

कांग्रेस र नेमकिपाको आलोपालो

२०४८ यताका ५ वटा संसदीय चुनावमध्ये यस क्षेत्रमा कांग्रेसले तीन र मजदूर किसान पार्टीले दुई पटक जितेका छन् । संयोग नै मान्नुपर्छ यहाँ कांग्रेस र मजदूर किसान पार्टीले आलोपालो जितेका थिए । २०४८ मा कांग्रेसका जगन्नाथ आचार्यले चुनाव जिते भने २०५१ मा नेमकिपाका आशाकाजी बासुकला बिजयी भए ।

त्यस्तै २०५६ मा कांग्रेसका लेखनाथ न्यौपानेले जिते भने २०६४ मा नेमकिपाका सुनिल प्रजापति विजयी भए । २०७० मा कांग्रेसका रामेश्वर ढुंगेलले जितेको यो क्षेत्रमा यसपटक कसले जित्ने हो ? अहिलेको रोचक प्रश्न यहि नै हो ।

साबिक भक्तपुर २ मा भक्तपुर नगरपालिकाका ८ वडा रहँदा यहाँ नेमकिपा बलियो थियो । तर, अहिले भक्तपुर र चाँगुनारायण नगरपालिका मिलाएर क्षेत्र नम्बर १ बनेको छ । क्षेत्र नम्बर २ मा सुर्यबिनायक नगरपालिका र मध्यपुर ठिमी नगरपालिका पर्छ ।

यसपटक भक्तपुर २ मा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान स्थानीयको छ । ‘भक्तपुर नगरपालिकाका सबै वडा एक नम्बरमा गएपछि अब यो क्षेत्रमा मजदूर किसान पार्टी प्रतिस्पर्धी रहेन’ स्थानीय शिक्षक न्हुच्छेभक्त कवाँले भने, ‘महेश बस्नेत र दमननाथ ढुंगानबीच प्रतिस्पर्धा हुने देखियो ।’

दमननाथका दुःख

भक्तपुरमा चुनाव लड्न गएपछि दमननाथ ढुंगानाले विपक्षीबाट मुख्य दुई आरोप खेल्नु परेको छ ।

एकः पाहुना उम्मेदवार, दोस्रोः भारतीय नाकाबन्दी अझ कडा बनाउन दूताबास गुहारेको ।

दुबै आरोपको खण्डन पार्टीले गरिसकेको ढुंगानाले बताए । उनले चुनावको बेला नाकाबन्दीको सन्दर्भ उठाएर मतदातालाई भड्काउन खोजिएको गुनासो गरेका छन् ।

भक्तपुरका लागि आफूले धेरै लगानी गरेको भन्दै उनले पाहुना उम्मेदवार नभएको जिकिर गरे ।

कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले कांग्रेसको संगठन र यहाँका सचेत मतदाता नै ढुंगानाको जितको आधार रहेको बताए । अब विकासे एजेण्डा स्थानीय तहमा समिति भएकाले राष्ट्रिय व्यक्तित्वलाई पार्टीले पठाएको हुन सक्ने प्रतिक्रिया दिए ।

दमननाथको मुख होइन, कांग्रेसको रुख हेर्नुस्

थापाले कांग्रेस कार्यकर्ताले उम्मेदवारको मुख होइन, रुख हेरेर भोट दिनुपर्ने बताए । ‘यहाँ २०१५ सालदेखि नै कांग्रेसले जितेको हो । यसपटक दमन दाइलाई सबैले नचिने पनि रुख हेरेर भोट हाल्नेछन्’ थापाले अनलाइनखबरसँग भने ‘एमालेले झूठा कुरा गरेर भोट माग्दैछ, हामी चुनाव जित्न सक्षम छौं ।’

थापाले अघि भने–हाम्रो लागि पार्टीले सरप्राइज गिफ्टका रुपमा दमन दाइलाई पठायो । सरप्राइज गिफ्ट अलि रोचक नै हुन्छ । विगतमा हामीले जिताएका हाम्रो पार्टीका साथीहरुले काम गर्न नसकेकै हो । तर, यसपटक विकासको एजेण्डा होइन, संविधान कार्यन्वयनका लागि दमन दाइ जस्तो नेता चाहिन्छ ।’

महेश बस्नेतका विकासे एजेण्डा

एमाले उम्मेदवार महेश बस्नेत भने स्थानीय तहको मताधार, भूकम्पपछि र मन्त्री भएपछि यो क्षेत्रको विकासमा आफूले गरेका काम र वामपन्थी गठबन्धनको कारण फराकिलोअन्तरमा चुनाव जित्ने दावी गर्छन् । उनले ढुंगानालाई भक्तपुरका मतदाताले नचिनेकाले आफूले उनको बारेमा कुनै टिप्पणी नगर्ने बताएका छन् ।

बस्नेतले भने, ‘यो क्षेत्रमा ३ पटक कांग्रेस र मजदूर किसान पार्टीले २ पटक चुनाव जितेर केही गरेनन् । मैले मन्त्री भएपछि मात्र यो क्षेत्रमा ४ अर्ब बजेट ल्याएँ ।’
भूकम्पको बेला मैले टोलटोलमा उद्दारका साथै राहतका लागि साधन स्रोत परिचालन गरेको र उद्योगमन्त्री भएपछि भौतिक पूर्वाधारमा गरेको विकास सबैले देखेका उनले बताए । बस्नेतले हनुमन्ते र मनहरा कोरिडोर निमाण,सुर्य बिनायको अन्तर्राष्ट्रिय उद्यान र मुहानपोखरीको खानेपानी आयोजनामा आफूले गरेको कामलाई चुनावी प्रचारको मसला बनाएका छन् ।

तर, कांग्रेस सभापति थापाले भने विकासको एजेण्डामा एमालेले प्रोपागाण्डा चलाएको आरोप लगाए ।

बढ्दो एमाले, रित्तिएको राप्रपा, स्थितर कांग्रेस

भक्तपुर २ का सबै चुनावहरुको मत विश्लेषण गर्दा यहाँ २५ वर्षको बीचमा एमालेको मत निरन्तर बृद्धि भइरहेको देखिन्छ भने कुनै बेला दोस्रो शक्ति रहेको राप्रपा रित्तिदै गएको छ । कांग्रेसको मत भने यस क्षेत्रमा स्थिरत रहेको देखिन्छ ।

भक्तपुर नगरका वडाहरु छुटेपछि यहाँ नेमकिपा तेस्रो शक्ति बन्ने देखिन्छ भने माओवादी निकै कमजोर अवस्थामा देखिन्छ । भक्तपुर २ एमालेको जनमत प्रत्येक चुनावमा बृद्धि भइरहेको पछिल्ला ५ वटा संसदीय र स्थानीय चुनावको मतको आंकडाले देखाउँछ ।

२०४८ सालमा कांग्रेसले १६ हजार मत पाएर जित्दा चौथो स्थानमा रहेको एमालेले ६ हजार मत पाएको थियो । जबकी राप्रपाले करीव ८ हजार मत पाएको थियो ।

२०५१ मा नेमकिपाले १४ हजार मत पाएर जित्दा कांग्रेसको मत करिव ११ हजारमा झर्‍यो, किनकी त्यसबेला गणेशमान सिंहको आह्वानमा बहालावाल सांसद नै बागी बनेका थिए । २०५१ मा राप्रपा दोस्रा बन्यो भने एमालेले २ हजार मत बढाएर चौथो स्थानमै रह्यो । २०५६ मा कांग्रेसले १४ हजार मत पाएप्र जित्दा एमाले ९ हजार मत सहित तेस्रो बन्यो । राप्रपाको ८हजार मत चौथोमा पुग्यो ।

तीनैवटा चुनाव लडेर ८ हजार मत ल्याएका राप्रपाका नेता गणेशवहादुर खत्री एमाले प्रवेश गरेपछि भक्तपुर २ मा एमाले उकालो लाग्यो भने राप्रपाको ओरालो यात्रा शुरु भयो । २०६४ मा नेमकिपाले १८ हजार मत पाएर जित्दा कांग्रेस १३ हजारमा रह्यो भने एमालेले निरन्त मत बढाउँदै ११ हजार पुर्‍यो ।

२०७० मा पुग्दा देशभरिकै धेरै मतदाता रहेको निर्वाचन क्षेत्र बनेको भक्तपुर २ मा कांग्रेसले करीव २१ हजार मत पाएर जित्दा एमालेका महेश बस्नेत १६ हजार मत सहित तेस्रो भए भने नेमकिपाका सुनिल प्रजापतिले बस्नेतको भन्दा केही बढी मत पाएर दोस्रो भए ।

आफ्नो पहलमा ५ हजार मत बढाएपछि चुनाव हारेर पनि उत्साहित भएका महेश बस्नेत त्यसपछि निर्वाचन क्षेत्रमा झनै खटिए । मन्त्री भएको बेला उनले सबै साधन स्रोत यहि क्षेत्रमा परिचालन गरे भने राप्रपाका बाँकी रहेका नेता कार्यकर्तालाई पनि प्रवेश गराए ।

स्थानीय तहको मत यस्तो छ

केही महिनाअघिमात्र सम्पन्न स्थानीय तह चुनावमा बस्नेतले आफ्नो पौरख देखाउँदै भक्तपुरमा तेस्रो शक्ति रहेको एमालेलाई पहिलो बनाए । सो क्षेत्रका दुवै नगरपालिकामा एमालेले जित्यो । बस्नेतले २०७० सालमा ल्याएको भन्दा १० हजार मत बढी स्थानीय तहमा एमालेले ल्याएको कारण अहिले यहाँ एमाले हौसिएको छ ।

भक्तपुर २ मा रहेका सुर्यविनायक नगरपालिका र मध्यपुर ठिमी नगरपालिकामध्ये सूर्यबिनायकमा एमाले बलियो देखिन्छ । नगरपालिकामा मेयर उपमेयरसहित १० मध्ये ७ वडा एमालेले जितेको छ । एमालेले १२ हजार मत पाउँदा यहाँ कांग्रेसले १० हजार मत पाएको थियो ।

एमाले उम्मेदवार बस्नेत सूर्यबिनायक नगरपालिकाकै बासिन्दा हुन् । कांग्रेसले स्थानीय उम्मेदवार नबनाएको फाइदा उनले त्यहाँबाट लिन सक्छन् । कांग्रेसले स्थानीय तहमा पाएको मत कायम राख्न बल गर्ने सभापति थापाले बताए ।

उता एमाले भने स्थानीय उम्मेदवार भएकाले स्थानीय चुनावमा मेयरले पाएको मतभन्दा कम्तिमा २ हजार थप्ने रणनीतिमा छ ।

मध्यपुर ठिमी नगरपालिकामा भने कांग्रेस बलियो छ । स्थानीय चुनावमा एमालेका मेयर उम्मेदवार मदन सुन्दर श्रेष्ठ १४ हजार मतका साथ बिजयी हुँदा कांग्रेसका अष्ट कबेले १० हजारमात्र मत पाएका थिए । तर, एमालेले पाएको त्यो मतमा नेपाल मजदूर किसान पार्टीको पनि हो ।

मध्यपुरको उपमेयर सहित बहुमत वडा भने कांग्रेसले जितेको छ । स्थानीय चुनावमा कांग्रेस उम्मेदवारलाई अन्तर्घात भए पनि दमननाथ ढुंगाना चुनाव लडेपछि स्थानीय अन्तरबिरोध प्रकट नहुने भएकाले कांग्रेसको मत बढ्ने दावी थापाको छ । एमालेले पनि आफ्नो सम्पूर्ण मेहनत मध्यपुरमै लगाउदैछ ।

स्थानीय तहको मत परिणाम अनुसार यो क्षेत्रमा एमालेको एक्लै २६ हजार १३५ मत छ भने कांग्रेसको २१ हजार ११ मत छ । त्यस्तै नेपाल मजदूर किसान पार्टीको मत करीव ५ हजार रहेको छ । माओवादीले सूर्यबिनायक र मध्यपुरमा गरी २६ सय मत पाएको छ ।

दुवै वामपन्थीको मत जोड्दा करीव ८ हजार मत छ भने कांग्रेसको २१ हजार मत रहेको छ । स्थानीय र सक्रिय उम्मेदवार हुनुको फाइदा उठाउँदै महेश बस्नेतले कम्तिमा ४ हजार मतान्तरमा जित्ने लक्ष्य सुनाए । यता कांग्रेस जिल्ला सभापति थापा भने एक मतले भने पनि कांग्रेस जित्ने दावी गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment