Comments Add Comment

विद्युतीय सफा टेम्पोलाई राहतः तोकियो ३० वर्षको आयु


२३ कात्तिक, काठमाडौं । सरकारले विद्युतीय सफा टेम्पोको आयु ३० वर्ष तोकेको छ । सरकारले २० वर्ष पुराना सार्वजनिक सवारीलाई उपत्यकाबाट हटाउने निर्णय गरेपनि विद्युतीय टेम्पोको हकमा यो व्यवस्था लागू नहुने भएको छ ।

सरकारले गत फागुनबाट सार्वजनिक सवारीलाई २० वर्षमा स्क्र्याप गर्नुपर्ने नियम लगाएको छ ।

यातायात व्यवस्था मन्त्रालयले यसअघि जारी गरेको सूचना राजपत्रमार्फत संशोधन गर्दै विद्युतीय टेम्पोको आयु ३० वर्ष तोकेको हो । अब २० वर्ष पुगिसकेका विद्युतीय टेम्पो थप १० वर्ष काठमाडौंमा ‘टर्सरी’ रुटमा चल्न पाउने भएका छन् ।

तर, त्यसका लागि सरकारले तोकेका विद्युतीय सवारीका मापदण्डहरु भने पुरा गर्नुपर्ने छ । टेम्पोलाई रंगरोगन र सजावट गरेर यात्रुमैत्री बनाई चलाउनुपर्ने व्यवस्था गरिएको छ ।

विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने हेतुले यस्तो यस्तो निर्णय गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए ।

‘विद्युतीय सवारीले वायुप्रदुषण गर्दैनन् । ब्याट्री परिवर्तन गरेपछि त्यसको कार्यक्षमता पनि पुरानै अवस्थमा र्फकन्छ,’ पाण्डले भने,’सार्वजनिक यातायातमा विद्युतीय सवारीको प्रयोग प्रोत्साहित गर्न यो निर्णय भएको हो ।’

उपत्यकाबाट २० वर्ष पुराना सार्वजनिक सवारी हटाउने निर्णयपछि टेम्पोका स्वरोजगार मजदुरले चर्को विरोध गरेका थिए ।

उनीहरुले नाकाबन्दीको समयमा आफूहरुले निभएको भूमिाकको अवमूल्यन गरेर यस्तो निर्णय भएको भन्दै विद्युतीय सवारीको लामो आयु तोक्न माग गरेका थिए ।

सरकारले तेलबाट चल्ने सवारीसमबन्धी व्यवस्थालाई कायम राख्दै तीनपांग्रे विद्युतीय सवारीको आयु भने ३० वर्ष तोकेपछि स्वरोजगार टेम्पो मजदुर पनि खुसी भएका छन् ।

अहिलेसम्म नेपालमा विद्युतीय सवारीसाधनको उपस्थिति दयनीय छ । विद्युतीय परिवहन निर्माता तथा आयात संघको तथ्यांक अनुसार हाल सात सय सफा टेम्पो सञ्चालनमा छन् ।

नाकाबन्दीमा काठमाडौंमा इन्धन संकटका कारण सार्वजनिक सवारी साधन चल्न नसकिरहेका बेला सफा टेम्पोले यात्रुहरुलाई राहत दिएको थियो । सफा टेम्पोको ब्याट्री लगायत उपकरण विदेशबाट आयात गरी नेपालमा एसेम्बल गरिन्छ ।

अन्य विद्युतीय सवारी साधनहरु चीन र भारतबाट आयात गरिन्छ । विद्युतीय टेम्पो छोटो दूरीको यात्राका लागि उपयुक्त मानिन्छ ।

सन् १९९३ मा थापाथली क्याम्पसमा आएको अमेरिकी आइएनजीओ यूएसएआइडीका प्रतिनिधीले काठमाडौंमा गुडिरहेको बिक्रम टेम्पोलाई विद्युतीयमा परिवर्तन गर्न ‘आइडिया’ दिएका थिए ।

बिक्रम टेम्पोकै बडीमा सिटमुनि ब्याट्री राखेर नेपालमै बनाइएको हो, विद्युतीय टेम्पो । सुरुवातमा स्वच्छ यातायात भन्ने गरिएकोमा पछि त्यसलाई ‘सफा टेम्पो नाम दिइएको थियो ।

वातावरण मैत्री हुने कारणले विद्युतीय सवारी साधनहरु वातावरण मैत्री र कम खर्चिलो हुने भएकाले प्रभावकारी मानिन्छन् ।

‘डिजेलका गाडीले जस्तो वायु प्रदुषण र ध्वनी प्रदुषण विद्युतीय गाडीले फैलाउँदैनन् । त्यसैले काठमाडौं जस्तो प्रदूषित शहरका लागि विद्युतीय सवारीसाधन निकै फाइदाजनक मानिन्छ,’ प्रवक्ता पाण्डेले भने, ‘त्यसैले सरकारले यस्ता सवारीलाई प्रोत्साहित गर्ने नीति लिएको छ ।’

सामान्य अवस्थामा नेपालले इन्धनका लागि वाषिर्क १ खर्बभन्दा बढीको पेट्रोल र डिजेल भारतबाट खरिद गर्छ । यदि तेलबाट चल्ने गाडीलाई विद्युतीय गाडीले विस्थापित गरेको खण्डमा हरेक वर्ष विदेशिने यति ठूलो रकम सुपथ बचत हुन्छ ।

अर्कोतर्फ बजार फस्टाएको खण्डमा विद्युतीय सवारी साधनहरु नेपालमै निर्माण गर्न सकिने वातावरण बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment