चलचित्र ‘फाटेको जुत्ता’ सफल भएपछि निर्माता अर्जुन कुमारले यसको सिक्वेलको घोषणा गरेका छन् । काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा अर्जुन र चलचित्रका नायक सौगात मल्लले ‘फाटेको जुत्ता २’को घोषणा गरे । चलचित्र ‘फाटेको जुत्ता २’मा ‘फाटेको जुत्ता’कै टिम हुनेछन् । तर, नायिका भने फेरिने पक्का भएको छ ।
नायिका प्रियंका कार्की बाहेक अन्य सबै पुरानै टिम लिएर अर्जुन फेरि मैदानमा उत्रन लागेका छन् । आखिर, किन प्रियंका हिट चलचित्रको सिक्वेलमा नहुने भएकी हुन् त ?
पत्रकार सम्मेलनमा एक पत्रकारले प्रश्न सोधे-‘तपाइलाई यसपटक फाटेको जुत्ता र पानीको बोत्तलले साथ दिए कि कलाकारले ? यसमा अर्जुनले मिश्रति प्रतिक्रिया दिए ।
हो, प्रचारमा साथ नदिएका कारण नायिका प्रियंका कार्की ‘फाटेको जुत्ता’को सिक्वेलमा नहुने भएकी हुन् । यो चलचित्रलाई वैशाख १ गते रिलिज गर्ने तयारी अर्जुनको छ । चलचित्रलाई निकेश खड्काले नै निर्देशन गर्नेछन् भने मुख्य नायकको रुपमा सौगात मल्ल नै देखिनेछन् ।
चलचित्र ‘फाटेको जुत्ता’लाई लिएर निर्माता अर्जुन कुमार र नायिका कार्कीविच फोनमा झगडा नै भएको थियो । विशेषगरि, नायिका कार्कीले आफूलाई प्रचारका लागि ‘छक्का पन्जा २’ टिमले राम्रो पैसा दिएको तर ‘फाटेको जुत्ता’को निर्माणपक्षले नदिएको बताएकी थिइन् । त्यसपछि अर्जुन र प्रियंकाविच फोनमै भनाभन भएको थियो । पत्रकार सम्मेलनमा अर्जुन प्रियंकाप्रति आक्रोशित रुपमा प्रस्तुत भएका थिए ।
कार्यक्रममा निर्माता अर्जुन कुमारले अब आफूले चलचित्र वितरण पनि सुरुवात गरेको घोषण गरे । पपर्कन पिक्चर्समा आवद्ध अर्जुनले अब छुट्टै चलचित्र वितरण गर्ने तयारी थालेका हुन् ।
नायक सौगात मल्लले ‘फाटेको जुत्ता’ किन हिट भयो भन्ने आफूलाई थाहा नभएको बताए । उनले, चलचित्रको कथा अनुसार पूर्ण रुपमा चलचित्र नबनेको पनि स्विकार गरे ।
प्रतिक्रिया 4