Comments Add Comment

ईयुको बैठकमा नेपालबारे छलफल हुँदैः कालोसूचीबाट हट्ने अन्योल कायमै

महानिर्देशक हटाउने निर्णयबारे गम्भीर चासो

२४ कात्तिक, काठमाडौं । युरोपियन युनियन (ईयू)को बैठकमा नेपाली आकाशलाई कालोसूचीबाट हटाउने/नहटाउनेबारे छलफल हुने भएको छ ।

२७-२९ कात्तिकमा बेल्जियमको ब्रसेल्समा ईयूको बैठक बस्न लागेको हो । त्यसबारे ईयूले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराइसकेको छ ।

नेपाली उड्डयन क्षेत्रको सुधारमा भएका प्रगतिबारे ईयूले प्राधिकरणसँग रिपोर्ट मागेको छ । ‘हामीले रिपोर्ट बुझाइसकेका छौं,’ प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले भने ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को गम्भीर सुरक्षा चासो (एसएससी)बाट गत ६ साउनमै नेपाल हटिसकेको छ ।

बैठकमा नेपाली अधिकारीहरुलाई भने ईयूले बोलाएको छैन । जबकि, सन् २०१३ मा कालोसूचीमा राख्ने निर्णय गर्दा नेपालबाट प्रतिनिधि बोलाएको थियो ।

आईकाओको एसएससीकै आधारमा ईयूले पनि नेपाललाई कालोसूचीमा राखेको थियो ।

ईयूको चासो

ईयूको चासो अहिले निजी जहाज कम्पनीको प्रभाव बढ्दै गएको र एयर अपरेटर्स सर्टिफिकेट (एओसी) ठीक ढंगले जारी नभएको विषयमा छ ।

यस्तै, प्राधिकरणका उच्च अधिकारी बारम्बार फेरबदल हुने गरेको विषयमा पनि ईयूले चासो देखाएको छ । प्राधिकरणका महानिर्देशकलगायत उच्च अधिकारी परिवर्तन भइरहँदा हवाई सुरक्षामा असर पर्ने ईयूले बताउँदै आएको छ ।

प्राधिकरणका प्रवक्ता वीरेन्द्रकुमार श्रेष्ठले भने, ‘ईयूले यस विषयलाई नजिकबाट नियालिरहेको छ । यो प्रवृत्ति कायम रहे कालोसूचीबाट हट्न कठिन हुन्छ ।’

पछिल्ला वर्ष नेपालमा हवाई दुर्घटनामा कमि आएको छ । सन् २०१० देखि ०१२ सम्मका हवाई दुर्घटनालाई लिएर ईयूले नेपालको हवाई सेवा सुरक्षित नरहेको बताउँदै आएको छ ।

तर, प्राधिकरणमा हुने राजनीतिक हस्तक्षेप घट्नु साटो बढ्दो क्रममा छ । एक उच्च अधिकारीका अनुसार महानिर्देशक सञ्जीव गौतमलाई हटाएर मन्त्रालयमा हाजिर गराउने पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवको निर्णयबारे ईयूले गम्भीर चासो व्यक्त गरेको छ ।

ती अधिकारीले भने, ‘सोही कारण यस वर्ष पनि कालोसूचीबाट हट्ने सम्भावना न्यून छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment