Comments Add Comment

नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारः डिएचएस सर्वे


२७ कात्तिक, काठमाडौं । विगत दुई दशक यता नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आएको एक सर्वेक्षणले देखाएको छ । नेपालमा मातृ मृत्युदर, कुपोषण, बाल मृत्युदर, परिवार नियोजनका साधनको प्रयोग लगायतका क्षेत्रमा निकै सुधार आएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (डिएचएस) २०१६ ले जनाएको छ ।

युएस्आईडीको आर्थिक र आईसीएफको प्राविधिक सहयोगमा स्वास्थ्य मन्त्रालयको नेतृत्वमा न्यू ऐराले गरेको सर्वेक्षणबाट यो तथ्य पत्ता लागेको हो ।

सर्वेक्षणमा मन्त्रालयले मातृ मृत्युदर, विवाह, परिवार नियोजन, न्युट्रिसन, मातृ मृत्युदर लगायतको मुख्य सूचक मानेको थियो । सन् १९९६ यताको पाँचौं संस्करण रुपमा गरिएको सर्वेक्षणमा ११ हजार ४० घरपरिवारका १५ देखि ४९ वर्ष उमेर समूहका १२ हजार ८५२ महिला र ४ हजार ६३ पुरुषलाई अन्तवार्ता मार्फत सहभागी गराइएको थियो ।

उक्त सर्वेक्षणको प्रतिवेदन आज राष्ट्रिय योजना आयोगका वरिष्ठ उपाध्यक्ष डा. गिताभक्त जोशीले विमोचन गरे । विमोचन कार्यक्रममा बोल्दै डा. जोशीले नेपालको आर्थिक विकासको लागि महिला तथा बालबालिकाको पोषणतत्व (न्युट्रिसन)मा विशेष लगानी आवश्यक रहेको बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पुष्पा चौधरीले यस सर्वेक्षणले नेपालको स्वास्थ्य सुधारका क्षेत्रमा उल्लेख्य सुधार भएको जनाए पनि यो पर्याप्त नभएको बताइन् । उनले भनिन्, ‘सर्वेक्षणले दिएको नतिजा आफैमा उल्लेख्य छ । तर पर्याप्त हैन । यसमा अझै धेरै गर्न बाँकी छ ।’

उनले स्वास्थ्य क्षेत्रमा आएको नतिजालाई अझै सुक्ष्म रुपमा हेर्न जरुरी रहेको बताइन् ।

प्रत्येक पाँच वर्षमा गरिने स्वास्थ्य सम्बन्धी यो सर्वेमा अहिले धेरै सुधार देखिएको छ । यद्यपी, बालबालिकालाई पोषणयुक्त आहार, मातृ मृत्युदर, बाल मृत्युदर लगायतका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको स्वास्थ्य मन्त्रालय, अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख डा. दिपेन्द्र रमण सिंहले बताए ।

उनले भने, ‘यसको सुधारका लागि कति भइरहेको कार्यक्रमलाई अगाडि बढाउँदै लैजानु पर्ने देखिन्छ भने कतिपय कार्यक्रमहरुलाई आवश्यकता अनुसार परिमार्जन गर्दै लैजानु पर्ने देखिन्छ ।’

अस्पतालमा जाने गर्भवती महिलाको संख्या बढ्यो

सर्वेक्षण अनुसार नेपालमा १० मध्य ८ भन्दा बढी गर्भवती महिलाहरुले दक्ष चिकित्सक, नर्स तथा अनमीबाट सेवा लिने गरेको पाइएको छ । जबकी सन् २००१ मा १० मध्य ३ जना महिलाहरुले मात्र दक्ष जनशक्तिबाट उक्त सेवा लिने गरेका थिए ।

त्यस्तै, सन् २०१६ को तथ्यांक अनुसार नेपालमा धेरै महिलाहरुले ४ वा सो भन्दा बढी पटक स्वास्थ्य संस्थाबाट गर्भवती सेवा लिनुका साथै करिब ५७ प्रतिशत बालबालिका स्वास्थ्य संस्थामा जन्मिएको तथ्यांकमा उल्लेख छ । जबकी सन् १९९६ को तथ्यांक अनुसार नेपालमा करिब ८ प्रतिशत बच्चामात्र स्वास्थ्य संस्थामा जन्मने गरेकोमा अझ पनि करिब ४१ प्रतिशत बालबालिका भने घरमै जन्मने गरेको पाइएको छ ।

बाल मृत्युदर अझै भएन कम

उक्त सर्वेक्षण अनुसार नेपालमा ५ वर्ष मुनीका बालबालिकाको मृत्युमा क्रमिक सुधार देखिए पनि यसलाई अझै कम गर्न जरुरी छ । नेपालमा सन् १९९६ मा ५ वर्ष मुनीका बालबालिकामा बाल मृत्युदर तीन हजार ११८ रहेकोमा सन् २०१६ मा उक्त संख्या घटेर ३९ मा पुगेको छ । यद्यपी नेपालमा प्रत्येक २५ जना बालबालिकामध्य एक जनाको मृत्यु ५ वर्ष नपुग्दै हुने गरेको सर्वेक्षणमा उल्लेख छ ।

जबकी ‘दिगो विकास लक्ष्य’ अन्तर्गत सन् २०३० सम्ममा नेपालमा ५ वर्ष मुनीका बालबालिकाहरुको मृत्युदर प्रतिहजार जिवित जन्ममा २० मा घटाउने लक्ष्य रहेको छ ।

एक तिहाई बालबालिकामा अझै पनि पुड्कोपन

नेपालका एक तिहाई बालबालिका अझै पनि कुपोषणको शिकार भएको सर्वेक्षणले देखाएको छ । कुपोषणको शिकार हुने मध्य अधिकांशमा पुड्कोपनका समस्या भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले जनाएको छ ।

सर्वेक्षणले जनाए अनुसार विगत दुई दशक यता नेपालको कुपोषणको समस्यामा निकै सुधार आएको छ । यद्यपी, नेपालमा ५ वर्ष मुनीका करिब ३६ प्रतिशत बालबालिकामा पुड्कोपन भएको पाइएको सर्वेक्षणले देखाएको छ ।

विगत २० वर्ष यता नेपालका बालबालिकामा कुपोषणको समस्या घट्दै गएपनि एक तिहाई बालबालिकामा अझै पुड्कोपनाको समस्या देखिएको छ । ‘कुपोषणमा आएको सुधारका बाबजुद अझै पनि नेपालका एक तिहाई बालबालिकामा कुपोषण हुनुले यसमा अझै काम गर्नुपर्छ भनेर दर्शाएको छ ’, स्वास्थ्य मन्त्रालय अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख डा. दिपेन्द्र रमण सिंहले जानकारी दिए ।

नेपालमै पहिलो पटक गरिएको रक्तचाप सम्बन्धी सर्वेक्षणले नेपालमा १५ वर्ष उमेर माथिका करिब १७ प्रतिशत महिला तथा २३ प्रतिशत पुरुषमा उच्च रक्तचाप भएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment