Comments Add Comment

लुलो खुट्टाबाटै विश्व साइकल यात्रा

‘अपांग पनि सपांगभन्दा कम छैनन्’


२८ कात्तिक, काठमाडौं । मोरङको बयरवनका पोलियो प्रभावित चित्रबहादुर पौडेल (३५) पहिलो पटक मेची–महाकाली साइकलयात्रामा निस्किँदा धेरैले उनलाई पागल भने । परिवारबाटै अवरोध भयो । अपांग भएकै कारण उनले अनेक अवरोध सामना गर्नुपर्‍यो  ।

‘शुरुमा त पागल भइस् भन्थे,’ उनी भन्छन्, ‘अपांग हो । यसरी केही गर्न सक्दैन भन्थे सबैले ।’ तर, अवरोधबीच उनले हिम्मत गरे । अपांगले पनि केही गरेर देखाउन सक्छन् भन्ने प्रमाणित गर्नु थियो, पौडेललाई ।

साविकको बयरवन गाविसमा उनी एक्ला अपांग बालक थिए । विद्यालयमा पनि सयौं सपांग बालबालिकाकाबीच उनी एक्लो हुन्थे । उनलाई भीडकै बीचमा पनि एक्लो महशुस हुन्थ्यो ।

मज्जाले दौडिन मन लाग्थ्यो तर सक्दैनथे । त्यसबेलादेखि नै उनलाई अरुजस्तै सक्षम रहेको देखाउने हुटहुटी जागेको थियो ।

भद्रपुरदेखि गड्डाचौकीसम्म

नेपाल अपांग संघको तत्कालीन झापा शाखाबाट उनले सकारात्मक सहयोग पाए । र, मेची–महाकाली यात्रामा निस्किए ।

‘त्यसबेला अपांग संघ झापाका अध्यक्ष धनजु श्रेष्ठले मलाई मेची–महाकाली यात्रामा निस्किन प्रोत्साहित गर्नु भयो,’ उनी स्मरण गर्छन्, ‘अनि, साइकल सिकेँ । र, यात्राको तयारी थालें ।’

सामान्य तयारी र ठूलो आँटका साथ उनले ०५९ सालमा भद्र्रपुरबाट मेची–महाकाली यात्रा आरम्भ गरे ।

यात्राका क्रममा चितवन पुग्दा माओवादी द्वन्द्व उत्कर्षमा थियो, जसका कारण उनले बाटोमा अनेक संघर्ष झेल्नु पर्‍यो ।

‘घरमा बास माग्न जाँदा माओवादी भएको शंकामा बस्न दिँदैनथे,’ उनी भन्छन्, ‘प्रहरी चौकीमा बस्न जाँदा यहाँ नबस्नुस् भन्थे ।’

प्रहरी आफैं असुरक्षित रहेका बेला अपांगलाई त्यहाँ बस्न अनुमति दिने अवस्था थिएन । होटेलमा बस्दा पनि प्रहरीको जाँचमा पर्थे ।

कतिपय ठाउँमा प्रहरीले नै स्थानीय बासिन्दाको घरमा बस्ने व्यवस्था मिलाइदिए । र, उनले सुत्न पाए ।

भद्रपुरबाट यात्रा शुरु गरेको ४६ दिनमा उनले एक हजार ५० किलोमिटरको यात्रा पूरा गरे । र, २१ पुस ०५९ मा कञ्चनपुरको गड्डाचौकी पुगे ।

त्यसक्रममा विभिन्न ठाउँका संघसंस्था र व्यक्तिहरुले उनलाई सहयोग गरेका थिए । आफ्नो आँट र मनकारीहरुको सहयोगमा पौडेलले अन्ततः आफूलाई प्रमाणित गरेरै छाडे ।

धर्मशालामा बस्दै, मन्त्रालय चहार्दै

गड्डाचौकीबाट गाडीमा फर्किन उनीसँग पैसा थिएन । नेपालगञ्जमा होटेल स्नेहकी गीता राणाले उनलाई काठमाडौं आउने टिकट मिलाइदिइन् । त्यसपछि उनी पहिलो पटक राजधानी आए ।

राजधानी आएर उनी सबैभन्दा पहिले अपांगता भएका व्यक्तिहरुको क्षेत्रमा कार्यरत संघसंस्थाहरुको छाता संगठन राष्ट्रिय अपांग संघ गए । त्यहाँ उनी सम्मानित भए । र, २५ सय रुपैयाँ पाए ।

काठमाडौं उनका लागि नौलो थियो । कहाँ बस्ने, के गर्ने ? टुंगो थिएन । पछि गौशालाको धर्मशालामा बस्ने निर्णयमा पुगे ।

करिब ६ महिनाको काठमाडौं बसाइमा उनले मन्त्रालयहरु चहारे । विभिन्न संघसंस्थाका कार्यालय पुगे ।

‘त्यतिबेला मन्त्रालय छिर्नलाई अहिलेजस्तो गाह्रो थिएन,’ उनी सम्झिन्छन्, ‘परिचय–पत्र देखाउँदा सजिलै जान पाइन्थ्यो ।’

समाजकल्याण मन्त्रालयबाट आफूहरु जस्ता व्यक्तिहरुलाई सहयोग हुन्छ भन्ने उनले सुनेका थिए ।

तत्कालीन समाजकल्याण मन्त्री गोरेबहादुर खपांगी उनीसँग भेटेर गद्गद् भए । खपांगीले व्यक्तिगत रुपमै उनलाई २५ सय रुपैयाँ दिए ।

‘एसिया र युरोपका ६० भन्दा बढी मुलुक पुगिसकें, अब अफ्रिकी मुलुकहरु घुम्ने तयारीमा छु’

‘त्यो पैसा मेरा लागि अत्यधिक थियो,’ उनी भन्छन्, ‘धर्मशालामा बस्थें । ३५ रुपैयाँमा रोटी र भात खान पाइन्थ्यो । सुतेको २५ रुपैयाँ दिनुपथ्र्यो ।’

चिसोबाट बच्न उनी कार्टुन ओछ्याएर सुत्थे । बेलाबेला बाहिरै सुत्थे । बाहिर सुत्दा पाँच रुपैयाँ मात्र तिरे पुग्थ्यो ।

एकाध मान्छेले दिएको नगदबाहेक उनीसँग आश्वासन मात्र बाँकी रह्यो । तर, त्यसरी कति दिन जिन्दगी चलाउने ? उनले काठमाडौंमा भविष्य राम्रो देखेनन् । र, फेरि घरै फर्किए ।

मेची–महाकालीले विश्व यात्राको आँट

आफ्नो अंशमा परेको एक बिघा खेतमा फलेको धान बेचे । ५० हजार रुपैयाँ उनको हातमा पर्‍यो । त्यो लिएर उनी राजधानी छिरे । र, ट्रेक कम्पनीको साइकल २६ हजार रुपैयाँमा किने ।

‘त्यो साइकलमा चढ्न पाउँदा त ठूलै मान्छे, भएझैं लाग्यो,’ उनी सम्झिन्छन्, ‘मेची–काली यात्रापछि पाएको उत्साह विश्व साइकल यात्रामा जाने तयारीको आधार थियो ।’

मेची–महाकाली यात्राकै आत्मबलमा पौडेलले भारतबाट विश्व साइकल यात्रा थाले । त्यसपछि पञ्जाब, पाकिस्तान हुँदै उनी अन्य मुलुकतिर दौडिए ।

विश्व यात्रामा निस्किनेबित्तिकै उनले भारतमा स्वास्थ्य समस्या झेल्नुपर्‍यो  ।

‘पहिलो गाँसमै ढुंगा भनेझैं भयो,’ उनले स्मरण गरे, ‘पहिलो पटक दिल्लीमा बर्गर चिज खाएको थिएँ । नौलो भयो पखाला लागेर झण्डै मरें ।’

नयाँदिल्लीमा उनलाई फुड पोइजन भएछ, जसका कारण उनी निकै समस्यामा परे । त्यहाँ सामान्य उपचार भयो । र, पाकिस्तानको राजधानी इस्लामावाद पुगेपछि नेपाली अधिकारी प्रवीण भट्टराईले उनको उपचारमा सहयोग गरे ।

भट्टराईले नै विश्व यात्राका लागि ३५ सय डलर पनि जुटाइदिए । त्यहाँका नेपाली र स्थानीय समुदायबाट संकलित सहयोग थियो, त्यो ।

उनी जुन देश जान्थे, त्यहाँको कूटनीतिक किताबहरु बोकेर हिँड्थे । अति आवश्यक फोन नम्बर भएको डायरी पनि साथमै हुन्थ्यो । त्यसैको माध्यमबाट उनी जुन देश पुगे पनि सहयोग लिन्थे ।

बंगलादेश, माल्दिभ्स, बर्मा, थाइल्यान्ड, भियतनाम, क्याम्बोडिया, ताइवान, इन्डानेसिया, फिलिपिन्स, कोरिया, जापानलगायत ६० भन्दा बढी मुलुक पुगिसके, उनी । अब अफ्रिकी मुलुकहरु घुम्ने तयारीमा छन् ।

न्युजिल्यान्डमा स्याउ टिप्ने जागिर

न्युजिल्यान्ड यात्रा उनका लागि सबैभन्दा सुखद रह्यो । त्यहाँ उनले कसैसँग सहयोगका लागि हात फैलाउनु परेन । स्याउ टिप्ने काम गर्दै पैसा कमाए । दैनिक तीन सय न्युजिल्यान्ड डलर पाउँथे, उनले ।

‘एनआरएन न्युजिल्यान्डका लोकनाथ पौडेलले मलाई काममा लगाइदिनु भएको थियो,’ उनी भन्छन्, ‘त्यो कामले मलाई साइकलयात्रामा धेरै सहज भयो ।’

विश्व साइकलयात्राको अनुभूति संग्रहित पुस्तक पनि लेख्दैछन्, पौडेल । उनको पुस्तकको थिम छ, ‘लुला खुट्टाले संसार घुम्दा ।’ हरेक दिनको अनुभवलाई पुस्तकमा उतार्ने जमर्को गरिरहेका छन् । जीवनलाई संघर्ष ठान्छन्, उनी । र, विश्व साइकल यात्रालाई त्यसैको एक अंग मान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment