Comments Add Comment

‘काम नलाग्ने’ भनिएका ट्राफिक लाइट नै बाल्ने तयारी

‘इन्टेलिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टम’ असफल

२८ कात्तिक, काठमाडौं । योजनाअनुसार काम भए केही समयमा काठमाडौंका मुख्य चोकमा बाटो काट्दा यात्रुले ट्राफिक लाइटको संकेत कुर्नुपर्नेछ । सवारीलाई रोकिने र गुड्ने निर्देशन ट्राफिक लाइटले नै गर्नेछन् ।

चुनावको मुखमा राजधानीमा ट्राफिक लाइट सञ्चालन गर्ने विषय चर्चामा आएको छ । तर, ती सबै पुरानै प्रणालीका हुनेछन् ।

एसियाली विकास बैंक (एडीबी)को आर्थिक तथा प्राविधिक सहयोगमा जडान हुने भनिएको ‘इन्टेलिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टम’को योजना असफल भएको छ । त्यसका लागि एडीबीले सरकारलाई दिएको ३३ करोड रुपैयाँ पनि ‘फ्रिज’ भएको छ ।

काठमाडौं दिगो शहरी यातायात आयोजना (केएसयूपीटी)ले पूर्वयोजनाअनुरुप ट्राफिक लाइट जडान नगर्नेगरी उक्त सिस्टमका सबै कार्यक्रम खारेज गरेको हो ।

तीन पटक टेन्डर गर्दा पनि ‘ओभर बिड’ अर्थात् लागत अनुमान नाघेर प्रस्ताव आएकाले कार्यक्रम स्थगित गरिएको आयोजनाले जनाएको छ ।

एडीबीको ५१ प्रतिशत अनुदान र २१ प्रतिशत ऋण सहयोगमा उक्त सिस्टम जडान गर्ने योजना थियो ।

थन्किएका लाइटकै प्रयोग

नयाँ स्टिम लाइट जोड्ने विषयले तत्काललाई विश्राम पाएकाले सडकमा वर्षौंदेखि बिग्रिएर थन्केका लाइटकै मर्मतको तयारी शुरु भएको छ ।

लामो समयदेखि बिग्रिएर बसेका संकेत बत्तिलाई सडक विभागले ‘काम नलाग्ने’ बताउँदै आएको थियो ।

काठमाडौं महानगर, सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाले पुरानै लाइट मर्मत गरेर सञ्चालनमा ल्याउने निर्णय गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि सडक विभागलाई तत्काल लाइट मर्मत गरेर सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।

सोही निर्देशनअनुसार विभागले मर्मतका लागि अध्ययन गर्न लागेको छ ।

मर्मतका लागि आवश्यक सहयोग गरिने महानगरका मेयर विद्यासुन्दर शाक्यले बताए ।

‘१÷२ ठाउँमा तत्काल सञ्चालनमा आउने छन् । क्रमशः अरु पनि मर्मत गरेर तत्काललाई व्यवस्थापन गर्ने निर्णय भएको छ,’ शाक्यले भने ।

सडकमा अलपत्र बनेका ट्राफिक लाइट ०६५ सालमा जापानी सहयोग नियोग जाइकाले जडान गरिदिएको थियो ।

केशरमहल, दरबारमार्ग, पुतलीसडक, सिंहदरबार, पद्मोदय मोड, गौशाला, कालीमाटी, थापाथली, माइतीघर, नयाँबानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटीलगायत चोकहरुमा ट्राफिक लाइट अलपत्र छन् । त्यतिबेला कतिपय स्थानमा यात्रुले बाटो काट्ने प्रयोजनका लागि मात्रै पनि लाइट राखिएका थिए । ती पनि काम नलाग्ने बनाएर राखिएको वर्षौं बितिसकेको छ ।

उपत्यकाका २० भन्दा बढी स्थानका ट्राफिक बत्ती बिग्रिएका छन् । तीमध्ये अधिकांश बनाउनै नसकिने अवस्थामा रहेको बताउँदै सडक विभागले मर्मतमा चासो दिएको थिएन ।

तिनको अवस्था अध्ययन गर्ने जिम्मा एक प्राविधिक समितिलाई दिइएको छ । समितिको प्रतिवेदनअनुसार मर्मत अघि बढाइने विभागका उपमहानिर्देशक मुक्ति गौतमले बताए ।

‘सकेसम्म पुरानै लाइट चलाउँछौं । नत्र, नयाँ प्रणाली खरिद गरेर जडान गर्छौं,’ गौतमले भने, ‘काठमाडौंमा सवारी जाम र व्यवस्थापनको कठिनाइ हेर्दा यो अपरिहार्य देखिन्छ ।’

लाइट नहुँदा दुर्घटना बढिरहेकाले तत्काल मुख्य चोकहरुमा यसको व्यवस्थापन गर्नुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीआईजी सर्वेन्द्र खनालले बताए ।

‘हामी विगतमा ट्राफिक लाइट सिस्टममा गइसकेका थियौं । अहिले पछाडि फर्केर ट्राफिकले हात हल्लाउँदै सवारी व्यवस्थापन गर्नुपर्ने अवस्था छ । यसलाई चाँडो अन्त्य गनुपर्छ,’ खनालले भने ।

उनका अनुसार लाइट नहुँदा विगतभन्दा पाँच गुणा बढी ट्राफिक प्रहरीलाई सडकमा सवारी व्यवस्थापनका लागि खटाइरहनु परेको छ ।

सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले काठमाडौंमा करिब दुई सय स्थानमा ट्राफिक लाइट राख्नुपर्ने अवस्था रहेको बताए । त्यसका लागि विभाग आफैंले चरणबद्ध रुपमा काम थाल्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment