Comments Add Comment

रविन्द्र मिश्र भन्छन्- दोस्रोको कुरै नगर्नोस्, म पहिलो भैसकें !

हरिबोल र अनिल शर्माको पनि समर्थन पाउने दाबी

२८ कात्तिक, काठमाडौं । राजधानीको थापागाउँमा साझा विवेकशील पार्टीका संयोजक एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्रको सम्पर्क कार्यालय छ । कार्यालयमा बिहानैदेखि कार्यकर्ता र समर्थकहरुको भीडभाड देखिन्छ । आइटीमा दख्खल राख्ने केही युवाहरु कम्प्युटमा व्यस्त देखिन्छन् । पर्चा पम्प्लेट छरपस्ट देखिन्छ ।

सोमबार दिउँसो मिश्रको सम्पर्क कार्यालयमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मीको एउटा टोली छिर्‍यो । मिश्र टेलिफोनमा व्यस्त थिए ।

टेलिफोन सम्वाद सकिनेवित्तिकै एक युवक अभिवादन गर्दै मिश्रको छेउमा पुगे । र, भने- ‘सर नमस्कार, मचाहिँ स्याङजाली हुँ, गोपालमान श्रेष्ठको क्षेत्रको । तर, म तपाईको पार्टीमा लाग्न चाहन्छु ।’

मिश्रले धन्यवाद व्यक्त गर्दै आफू व्यस्त रहेकाले अर्को व्यक्तिलाई सम्पर्क गर्न सुझाव दिए । र, उनी प्रहरीको छेऊतिर आए ।

आफूलाई नमस्कार गरिरहेका असईलाई मिश्रले ठट्टा गर्दै सोधे- ‘तपाईहरु मलाई समाउन आउनुभएको त होइन नि ? राजनीतिमा लागिएको छ, के हो, के हो नि !’

असईले भने- ‘होइन हजुर, हामी हजुरहरुकै सुरक्षाका लागि खटिएका हौं ।’

त्यसपछि अनलाइनखबरकर्मीले मिश्रसँग जिज्ञासा राख्ने पालो आयो- अनलाइनखबरसँगको अन्तरवार्तामा प्रकाशमान सिंहले पहिलो मै हुँ, दोस्रो को हुने, रविन्द्र मिश्र र अनिल शर्मालाई सोध्नोस् भन्नुभएको छ, तपाई दोस्रो त भइसक्नुभयो हैन ?

‘दोस्रो’ भनेकोमा असहमति जनाउँदै मिश्रले भने- ‘हैन हैन, दोस्रोको कुरै नगर्नोस्, काठमाडौं १ मा म पहिलो भइसकें ।’

सिंह र मिश्र दुबैमा उस्तै आत्मविश्वास

अन्तरवार्ताका लागि चाक्सीबारीमा पुग्दा कांग्रेस उम्मेदवार प्रकाशमानसिंह आफूले जित्नेमा ढुक्क देखिन्थे । उनको बडी ल्याङ्वेजले नै काठमाडौं १ मा आफूले ढुक्कसँग जित्ने बताउँथ्यो ।

तर, प्रकाशमानको जस्तै आत्मविश्वास तराजु चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका रविन्द्र मिश्रमा पनि देखियो । तीन दिनअघि थापागाउँमा आयोजना गरिएको भेलामा उत्साहजनक उपस्थिति देखेपछि मिश्र आफ्नो जितमा झनै ढुक्क देखिएका हुन् ।

मिश्रले आफूलाई काठमाडौं १ का उम्मेदवार हरिबोल भट्टराईले पनि समर्थन जनाउने र अन्तिम घडीमा आएर वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले पनि सहयोग गर्ने अपेक्षासमेत व्यक्त गरे । यद्यपि उनीहरुको समर्थन विनै एक्लै पनि जित पक्का भइसकेको उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment