Comments Add Comment

सिरकमाथि राजनीतिः एमालेले समातेको सिरक प्रहरीले फर्कायो

प्रहरीले भन्यो– चुनावपछिमात्रै सिरक बेच्न ल्याउनू


२८ कात्तिक, सिन्धुपाल्चोक । चुनावले हरेक ठाउँमा असर पारेको छ भन्ने दृष्टान्त मंगलबार सिन्धुपाल्चोकको धुस्कुनमा राम्रैसँग देख्न पाइयो । जाडो मौसममा हुने सिरकको व्यापारलाई समेत निर्वाचन आचारसंहिताले प्रभावित पारेको छ ।

सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाअन्तर्गत धुस्कुनमा एक गाडी सिरक मंगलबार बिहान धुस्कुनका वडा अध्यक्ष सुकदेव रिसालको समूहले नियन्त्रणमा लिएर सशस्त्र प्रहरीलाई बुझायो ।

नेपाली कांग्रेसले मंगलबार धुस्कुनमा आमसभा गर्न लागेको र सो आमसभाबाट कांग्रेसले मतदाताहरुलाई सिरक बाँड्न लगेको भन्दै वडाअध्यक्ष रिसालको नेतृत्वमा एमाले कार्यकर्ताले सिरक समातेका हुन् ।

बा १४ छ ५६४९ नम्बरको टाटा मोबाइलमा लगिएको सिरकसहितको गाडी एमाले कार्यकर्ताहरुले सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीलाई जिम्मा लगाएका हुन् ।

एमाले नेता एवं धुस्कुनका वडाअध्यक्ष रिसाल धुस्कुनको दलित बस्तीमा लगेर सिरक वितरणको योजना रहेको आफूहरुले सूचना पाएकाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको दाबी गरे ।

कांग्रेस भन्छ– वामपन्थीको गलत प्रचार

नेपाली कांग्रेसका नेता एवं धुस्कुनका स्थानीय वलदेव तिमिल्सिनाले भने मतदातालाई सिरक वितरण गर्ने आफूहरुको कुनै योजना नभएको अनलाइनखबरलाई बताए ।

‘हामीलाई बदनाम गर्ने उद्देश्यले बामपन्थीहरुले यस्तो प्रचार गरेको हुन सक्छ,’ तिमिल्सिनाले भने– ‘हामी निर्वाचन आचारसंहितविपरीत काम गर्ने छैनौं ।’

एसपी मधुकृष्ण  गडतौलाले भने– गाउँमा यसरी चुनावका बेला सिरक लैजाँदा गलत सन्देश जाने भएकाले चुनावपछि मात्रै ल्याउनू भनेर फिर्ता पठाएका छौं

प्रहरीले भन्यो– चुनावपछिमात्रै सिरक बेच्न ल्याउनू

सिरकसहितको गाडी जिम्मा लिएका सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय लामोसाँघुका एसपी मधुकृष्ण गडतौलाले व्यापारिक प्रयोजनका लागि सिरक लगिएको आफूले थाहा पाएको बताए ।

तर, चुनाव अघि त्यसरी गाउँमा सिरक लैजाँदा गलत सन्देश जाने भन्दै चुनावपछि मात्रै गाउँमा सिरक लैजानु भनेर आफूहरुले सम्बन्धित व्यक्तिलाई नै सिरक जिम्मा दिएको गडतौलाले अनलाइनखबरलाई बताए ।

एसपी गडतौलाले भने– ‘बिक्रीका लागि ल्याइएको थाहा भएको छ, तर गाउँमा त्यसरी ठूलो परिमाणमा चुनावका बेला सिरक लैजाँदा गलत सन्देश जाने भएकाले हामीले चुनावपछि मात्रै ल्याउनू भनेर फिर्ता पठाएका छौं ।’

त्यसो त जिल्लामा व्यापारीहरुले सिरक, पानी ट्यांकी लगायतका सामाग्रीहरु ठूलो संख्यामा भित्र्याउन थालेका छन् । र, यो कार्य व्यापारिक प्रयोजनका लागि मात्रै नभएर मतदातालाई प्रभावित बनाउनका लागि गाउँ–गाउँमा वितरणका लागि गरिएको हुन सक्ने कतिपय दलका कार्यकर्ताले आशंका गर्न थालेका छन् । मंगलबार धुस्कुनमा समातिएको सिरक यही आशंकाको परिणति हो ।

र, यसले आगामी मंसिर १० गते मतदान हुनुअघि अघिसम्म सिन्धुपाल्चोक जिल्लाको व्यापार व्यवसायमा समेत प्रभाव पर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment