Comments Add Comment

राम कार्कीको बाचाः झापाका सडक अफ्रिकन सुन्दरीको गालाजस्तै बनाउँछु !

'विश्वप्रकाश भाइले गाउँमा घुमेर के गर्ने ?'

३० कात्तिक, झापा । माओवादी नेता एवं झापा क्षेत्र नम्बर १ का उम्मेदवार राम कार्कीले मजदुरहरुको तलब दोब्बर वृद्धि गर्ने र ग्राभेल सडकलाई ‘अफ्रिकन ब्यूटी’ को गालाजस्तै चिल्लो बनाउने बताएका छन् ।

‘तपाईंहरु हामीलाई भोट दिनुस् वामपन्थीको सरकार बनाउनुस्,’ कार्कीले भने, ‘पाँच वर्षको अवधिभित्र झापाका सबै सडक अफ्रिकन ब्यूटीको गालाजस्तै बनाइदिन्छौं । अफ्रिकामा जो सुन्दर मान्छेहरु हुन्छन् नि, तिनीहरुको जस्तो पोटिलो गाला !’

कार्कीले आफूले बोलेका कुरा ढुंगामा कुँदेका अक्षरजस्तै भएको भन्दै पूरा गरेरै छाड्ने प्रतिवद्धता जनाए ।

उनले भने- ‘हामीले बोलेका कुरा ढुंगामा लेखेको अक्षर जस्तै हो, ढाँट कुरा गर्दैनौं । कांग्रेसका नेता भन्छन् चियाको बोटमै जन्मिएको हुँ, तर म आमाले जन्माएको मान्छे हुँ, ५-६ महिना समय लाग्ला, तर बोलेको कुरा पूरा गर्छु ।’

‘विश्वप्रकाश भाइ’ ले गाउँमा घुमेर के गर्ने ?

माओवादी उम्मदेवार कार्कीले कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मा अरु कांग्रेस नेताहरुभन्दा फरक रहेको भन्दै प्रशंसा गरे । तर, चुनावपछि कम्युनिष्टको सरकार बन्ने भएकाले शर्माले चुनावमा गरेका बाचा पूरा नहुने ठोकुवा गरे ।

कार्कीले भने, ‘यहाँ विश्वप्रकाश भाइ उम्मेदवार हुनुहुन्छ । उहाँ गाउँमा घुम्नुहुन्छ । अरु कांग्रेसभन्दा फरक हुनुहुन्छ । उहाँ भन्दै जानुहोला, यहाँ कल्भर्ट बनाउँछु, बाटो बनाउँछु । तर के गर्ने ? सरकार कम्युनिष्टको बन्छ । तल गाउँ घुमेर के गर्ने ?’

चिया बगानका मजदुरको तलब दोब्बर पार्ने

झापा १ ज्यामिरगढीमा आयोजित चुनावी सभालाई बिहीबार बिहान सम्वोधन गर्दै कार्कीले भने, ‘अहिले नेपाल सरकारले तोकेको छ मजदुरहरुको ज्याला, त्यो १९ हजार जति छ । हामी के घोषणा गर्छौं भने आज चिया मजदुरले जति पाइराख्या छन्, त्यसको एक सय प्रतिशत बढी पैसा दिन्छौं ।’
कार्कीले अगाडि भने- ‘संसदबाट नियम बनाएर ८ हजार रुपैयाँ, ९ हजार रुपैयाँमा मजदुर लगाउन पाइँदैन भनेर नियम बनाउँछौं ।’

चिया बगानका मजदुरहरुको अहिलेको तलब ८-९ हजार रुपैयाँ मात्रै रहेको भन्दै उनले भने, ‘एकबिघा चियापत्ती टिप्नैपर्ने जसरी भए पनि, ज्वरो आयो भन्न पनि नपाइने, खुट्टा दुखेको छ पनि भन्न नपाइने, सुत्केरी भन्न पनि नपाइने । सुत्केरी भएर गएन भने पैसा दिँदैनन् ।’

चिया बगानका मजदुरको पक्षमा बोल्दै कार्कीले भने- ‘प्राइभेट चिया बगानले पनि सरकारले जस्तो ज्याला दिनुपर्छ । हामी मजदुरहरुको ज्याला डबल गर्छौं ।’

कार्कीले नेपालमा चियाको लिलामी सेन्टर झापा क्षेत्रनम्बर १ मै स्थापना गर्ने, वृद्धभत्ता पाँच हजार रुपैयाँ पुर्‍याउने, किसानलाई पेन्सन दिने र झापाका सबै ग्राभेल सडक पीच गर्ने घोषणा समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment