Comments Add Comment

कांग्रेससँग उपेन्द्र यादवको प्रस्ताव- तालमेल गरौं, समय अझै बाँकी छ

१ मंसिर, काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसलाई अझै पनि चुनावी तालमेल गर्न आग्रह गरेका छन् । लोकतान्त्रिक गठबन्धन बनाउने भनिए पनि कांग्रेसले उदारता देखाउन नसकेको भन्दै यादवले अन्तिम समयसम्म पनि आफूहरु तालमेलका लागि तयार रहेको बताए ।

रिपोर्टर्स क्लब नेपालले गरेको कार्यक्रममा अध्यक्ष यादवले मधेसमा राजपा-फोरमसँग तालमेल गर्ने हो भने कांग्रेसलाई नै फाइदा हुने बताए । मधेसमा कांग्रेस निकै कमजोर भइसकेको दाबी गर्दै यादवले कांग्रेसले तालमेल गर्न तयार भयो भने अझै पनि उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न मिल्ने बताए ।

कांग्रेसले महोत्तरी ३ मा महन्थ ठाकुर र सप्तरी २ मा यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिन निवेदन दिएको थियो । यादवको क्षेत्रबाट उम्मेदवार बनेका कांग्रेसका सकलदेव सुतिहारले उम्मेदवारी फिर्ताका लागि निवेदन पनि दिएका थिए । तर ढिला भएका कारण फिर्ता हुन सकेको थिएन ।

यादवले सप्तरी क्षेत्र नम्बर २ मा आफ्नो जित सुनिश्चित भएको दाबी गरे ।

यता उपेन्द्रका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार उमेश यादवले भने उपेन्द्रले विगतको जनताको हितमा कुनै पनि काम नगरेकाले यसपटक जनताले आफूलाई जिताउने दाबी गरेका छन् । आफूले विकास निर्माणका धेरै काम गरेको बताउँदै उमेशले चुनाव जितेपछि मधेसी जनताको हित हुने गरी संविधान संशोधनका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

यस्तै अर्का उम्मेदवार जयप्रकाश ठाकुरले पनि आफूले चुनाव जित्ने दाबी गरेका छन् । अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएपछि उनीविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका हुन् । उनको उम्मेदवारीलाई स्वतन्त्र मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment