Comments Add Comment

३२ जिल्लामा मतपेटिका कहाँ राखिन्छ ? केपी ओली भन्छन्- बाकस हाम्रो आँखाबाट ओझेल पार्न पाइँदैन

'एमालेले बुथ कब्जा गर्दैन, बाकस हेरफेर गर्दैन'

१ मंसिर, काठमाडौं । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनपछि मतपेटिकाको सुरक्षाको प्रश्न निकै महत्वपूर्ण छ । किनभने ३२ जिल्लाका ती मतपेटिका दोस्रो चरणको चुनाव नहुँदासम्म गणना नगरी राखिने निर्वाचन आयोगले यसअघि नै स्पष्ट पारिसकेको छ ।

तर, ती मतपेटिकाको सुरक्षा कसले गर्छ ? कतिपयले ती मतपेटिकाको सुरक्षा सेनाले गर्ने बताइरहेका छन् । तर, वीचैमा मतपेटिका हेरफेर त हुने हैन ? यसबारेमा पनि मतदाताहरुमा संशय छ ।

शुक्रबार साँझ काठमाडौंको दरबारमार्गमा भएको एउटा अनौपचारिक भेटघाटमा अनलाइनखबरले एमाले अध्यक्ष केपी ओलीलाई सोध्यो- ‘मंसिर १० गते मतदान भइसकेपछि ३२ जिल्लाका मतपेटिकाहरु कहाँ, कुन अवस्थामा राखिनेछन् ? ती मतपेटिका हेरफेर हुने वा गडबडी हुने सम्भावना छ कि छैन ?’

एमाले अध्यक्ष ओलीले पहिलो चरणका मतपेटिकाहरु दोस्रो चरणको चुनाव सकिएर गणना नहुँदासम्म आफ्ना कार्यकर्ताहरुको घेराबन्दीभित्र रहने बताए

एमाले अध्यक्ष ओलीले पहिलो चरणका मतपेटिकाहरु दोस्रो चरणको चुनाव सकिएर गणना नहुँदासम्म आफ्ना कार्यकर्ताहरुको घेराबन्दीभित्र रहने बताए । ती मतपेटिकाहरु एमाले कार्यकर्ताको आँखाबाट ओझेलमा पार्न नदिइने उनले बताए ।

अनलाइनखबरको प्रश्नको जवाफमा एमाले अध्यक्ष ओलीले भने- ‘बाकसको हेरफेर जसले गरे पनि स्वीकार्य हुँदैन । हाम्रा उम्मेदवार, उम्मेदवारका प्रतिनिधि र कार्यकर्ताको एक्सेस, घेराबन्दी र पहुँचभन्दा बाहिर मतपेटिका जान सक्दैन ।’
मतपेटिकाको सुरक्षा सम्बन्धी प्रश्न महत्वपूर्ण भएको बताउँदै ओलीले फेरि दोहोर्‍याएर भने- ‘हाम्रो उम्मेदवार, उम्मेदवारको प्रतिनिधि र कार्यकर्ताको निगरानीभन्दा अर्थात उनीहरुको आँखाबाट मतपेटिका ओझेल पर्न सक्दैन । कसैले सुरक्षाका नाममा वा केहीका नाममा पनि मतपेटिकामा हात लगाउन सक्दैनन् ।’

एमाले अध्यक्ष ओलीले अगाडि भने- ‘मतपेटिकामा हात लगाउने मतदान अधिकृत, निर्वाचन अधिकृतले शिलबन्दी गर्छ, त्यहाँ सहीछाप हुन्छ । त्यसपछि निगरानीभित्र रहनुपर्छ । र, हाम्रो आँखाबाट ओझेल पारेर हामीलाई विश्वास किन नगर्ने भन्न पाइन्न । बाकसको सुरक्षा हाम्रा कार्यकर्ताको आँखा अगाडि हुनुपर्छ । यो कुरा अहिलेदेखि नै हामी स्पष्ट गर्न चाहन्छौं ।’

मंसिर १० गते चुनाव भइसकेपछि ३२ जिल्लाका मतपेटिकाहरु कहाँ र कसरी राखिने भन्नेबारे अहिलेसम्म ठोस छलफल नभएको जानकारी दिँदै ओलीले भने- ‘तर, त्यसलाई सुरक्षित र निगरानीभित्र राखिनुपर्छ भन्ने हाम्रो अपरिवर्तनीय मान्यता छ । हाम्रो उम्मेदवार र उम्मेदवारका प्रतिनिधिको आँखाबाट ओझेल पर्नेगरी कसैले उठाउने र कहीँ लान्छु भन्ने दुस्साहस नगरे हुन्छ ।’

पहिलो चरणको मतपेटिकालाई दोस्रो चरणको मतदान र मतगणना हुँदासम्म सुरक्षित ढंगले सबै पक्षको भरपर्दो र विश्वसनीय ढंगले सुरक्षा दिने भन्ने सहमति निर्वाचन आयोग र सरकारसँग भएको ओलीले बताए ।

‘एमालेले बुथ कब्जा गर्दैन, बाकस हेरफेर गर्दैन’

भेटघाटमा एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीका तर्फबाट निर्वाचनलाई स्वच्छ बनाउने र आचारसंहिताको पूर्ण पालना गरिने प्रतिवद्धतासमेत जनाए ।

‘म तपाईहरुका अगाडि भन्न चाहन्छु- हाम्रो तर्फबाट लोकतान्त्रिक मूल्यमान्यता अनुसारको आचरण हुन्छ । बलजफ्तीको व्यवहार हुँदैन । धाँधली, अस्वस्थता जस्ता चुनावलाई प्रदुषित गर्ने काम हामीबाट हुँदैन,’ ओलीले भने, ‘बुथ कब्जा, धाँधलीजस्ता कुरा हामीबाट हुँदैन । मतपेटिका आदि हेरफेर गर्नेकुरा हामीबाट हुँदैन । आचारसंहिताको उल्लंघन गर्ने कार्यहरु किञ्चित हामीबाट हुँदैन । अरुले गरेको पनि हामी मन पराउँदैनौं र हामी त्यसको प्रतिवाद गर्छौं ।’

‘डेमोक्रेसी गुण्डातन्त्र होइन’

सत्तापक्षले कतिपय ‘महा डन’हरुलाई उम्मदेवार बनाएको र उनीहरुले बलको धम्की दिइरहेको ओलीले बताए ।

सिन्धुपाल्चोक लगायतका जिल्लामा बल प्रयोगका धम्कीहरु र छिटफुट रुपमा बल प्रयोगका घटनाहरु देखिइरहेका छन् नि भन्ने अनलाइनखबरको प्रश्नमा ओलीले यस्तो जवाफ दिए-

‘एमालेले नउठाएका डनहरुको पनि चर्चा गरेर उधुम मच्चाउँछन्, डन उठायो, डन उठायो भन्छन् । अस्ति मनाङतिरको डनको नाम लिएर एमालेले उठायो, उठायो भनेर चर्चा गरे । तर, विभिन्न ठाउँमा कांग्रेसले उठाउनुपरेको रहेछ । अनि एमालेमाथि एट्याक दिएर अरुतिर उठाएको रहेछ ।

डेमोक्रेसी गुण्डातन्त्र होइन । डेमोक्रेसी धनबल बाहुबलबाट चल्दैन । डेमोक्रेसी देश र जनताका निम्ति नीति र कार्यक्रम अघि सार्ने र त्यसमा अम्मल गर्ने कुरा हो । डेमोक्रेसी जनताको स्वच्छ अभिमतबाट चल्ने कुरा हो ।, डेमोक्रेसी नामले हुने होइन, कामले हुने हो ।

हामी त लोकतान्त्रिक पार्टी हो भनेपछि गुण्डागर्दी गरे पनि लोकतान्त्रिक भइन्छ ? यो परिभाषा विचित्रको छ । लोकतान्त्रिक पार्टी भएको हुनाले गुण्डागर्दी गर्दा पनि हुने ? यो अत्यन्तै अनुपयुक्त तरिका हो ।

म पनि सुनिरहेको छु, मिडियामा अभिव्यक्ति हेरिराखेको छु । सोझै, परेको म बेहोरौंला हान, ठोक, आफू पहिले जाई चाहिँ नलाग्नु भन्या छ । हामी जाई लागेको भनेर कसैले भन्छ ? भन्दै भन्दैन नि । हामीलाई ठूला आँखा देखाएर जाइलाग्यो, त्यसकारण हान्दिएँ भने भइहाल्छ, यस प्रकारका क्रियाकलाप अनुपयुक्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment