४ मंसिर, बारा । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१, पथलैयाको एक होटलमा ३ जना भारतीय नागरिकले खाजा खाए । त्यसको पैसा तिर्न उनीहरुले भारु २ हजारको नोट निकाले ।
तर, त्यो त्यहाँ साटिएन । नजिकैको राजेन्द्र खतिवडाको किराना पसलमा ती भारतीय नागरिक पैसा साट्न गए । खतिवडालाई ती नोटप्रति शंका लाग्यो । र, प्रहरीलाई खबर गरे ।
लगत्तै, ती भारतीय नागरिक प्रहरीको फन्दामा परे ।
इलाका प्रहरी कार्यालय, पथलैयाको टोली पुगेर ३ जना माथि केरकार गर्दा थाहा भयो, उनीहरुसँग उस्तै नम्बरका १८ थान २ हजारका नोट रहेछन् ।
आइतबार इलाका प्रहरी कार्यालय सिमराले पत्रकार सम्मेलन गरी नक्कली नोटको कारोबार गर्ने उनीहरुलाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भारत लखनउ, नवस्थाका ५० वर्षीय कृष्णपाल सिंह, सोही स्थानका ४२ वर्षीय भुषण सिंह र भारत सितापुरका २६ वर्षे सन्नी सिंह छन् ।
उनीहरुले प्रयोग गरिरहेको एक भारतीय नम्बर प्लेटको बुलेरो गाडी समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरुको गाडी चेकजाँच गर्दा नक्कली नोट साटेर लिएको केही नेपाली नोट समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धानपछि मुद्दा चलाइने बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए ।
लागुऔषधसहित ४ पक्राउ
वीरगञ्जको सिमा नाकाबाट विभिन्न प्रतिबन्धित लागुऔषध भित्र्याउने क्रममा चार जना पक्राउ परेका छन् । उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट अवैध लागुओषध इन्जेक्सन डाइजिलेब १ सय ६५ थान, फेनारगन १ सय ४९ थान, नुफिन १ सय ३९ थान लगायत बरामद गरिएको छ ।
उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको बारा प्रहरी प्रमुख राजकुमार वैदवारले जानकारी दिए ।
प्रतिक्रिया 4