Comments Add Comment

मतदातालाई सुरक्षाप्रति आश्वस्त पार्न सरकारलार्इ निर्वाचन आयोगको आग्रह

५ मंसिर, काठमाडौं । मतदाताहरुलाई सुरक्षाप्रति आश्वस्थ बनाउन प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सरकारलाई आग्रह गरेका छन् ।

निर्वाचन आयोगमा मंगलबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले मतदातालाई सुरक्षाप्रति आश्वस्त पार्न सरकारसँग आग्रह गरेका हुन् ।

प्रमुख आयुक्त यादवले निर्वाचनको मौन अवधि सुरु भएपछि थप सजगताका साथ सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायहरुलाई निर्देशनसमेत दिए ।

निर्वाचनलाई सफल बनाउन सुरक्षा निकायहरुले आपसी समन्वयमा काम गरिरहेको भन्दै आम जनताले महसूस गर्ने गरी सुरक्षाको वातावरण बन्ने विश्वास व्यक्त गरे ।

बैठकमा निर्वाचन आयुक्त नरेन्द्र दाहालले सु्रक्षा निकायले तयार गरेको सुरक्षा योजनालाई थप सक्रियताका साथ कार्यान्वयन गर्न सुझाव दिएका थिए ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक एवं निर्वाचन आयुक्त सुधीरकुमार शाहले सुरक्षा खलबल्याउन प्रयत्न गर्नेलाई कानूनअनुसार कारबाही गरी जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने र राजनीतिक दलले समेत सुरक्षा कार्यमा सहयोग पुर्‍याउनुपर्ने बताए ।

गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सुरक्षा निकायहरुबीच उच्चस्तरको सम्पर्क एवं समन्वय रहेको र निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई नियन्त्रणमा लिई कानूनअनुसार कारबाही गरिरहेको र निर्वाचनमा सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार प्रतिबद्ध रहेको बताए ।

रक्षा मन्त्रालयका सचिव विनोद के।सी।ले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्नका लागि गर्नुपर्ने सहयोग गर्न नेपाली सेना सदा तत्पर रहेको बताए ।

बैठकमा निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले सुरक्षा निकायहरूबीचको लगातारको सम्पर्क, समन्वय र सहयोगबाट मतदातालाई सुरक्षाको प्रत्याभूति दिन सकिने हुँदा मतदातालाई सुरक्षाको अनुभूति हुने गरी सुरक्षा निकायहरुलाई थप प्रयास गर्न सुझाव दिए ।

बैठकमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक दिलिपराज रेग्मी र नेपाली सेनाका उपरथी शरद गिरीले आ-आˆना संगठनबाट सम्पादन भइरहेका कार्य प्रगतिका बारेमा अवगत गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment