Comments Add Comment

एकै स्थानमा दुई पार्टीको सभा राखिएपछि नुवाकोटमा निषेधित क्षेत्र घोषणा

के हाेला माधव नेपाल र गगन थापाले सम्बोधन गर्ने सभा ?


७ मंसिर, नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिका–१ मा पर्ने ढिकुरे बजारसहित आसपासको क्षेत्रलाई आज निषेधित क्षेत्र घोषणा गरेको छ ।

नुवाकोट प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम ढिकुरे बजारदेखि पूर्वमा चौघडा, पश्चिममा बराहफेदीडाँडा, उत्तरमा माझपानी र दक्षिणमा चौघुडा क्षेत्र चारकिल्लाभित्र कुनै पनि सभा र जुलुस गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको सूचनामार्फत जनाएको छ ।

आज बिहान ६ बजेदेखि शुरु भएको निषेधित क्षेत्र साँझ ६ बजेसम्म कायम रहने जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए ।

चुनावी प्रचारको अन्तिम दिन आज ढिकुरेको मुख्य बजारमा नेपाली काँग्रेस र त्यसको केही मिटर दूरीमा नेकपा (एमाले) र माओवादी केन्द्रले संयुक्तरुपमा शक्ति प्रदर्शकसहित चुनावीसभा आयोजना गर्ने तय गरेका छन् । दुई शक्तिमध्ये एकलाई स्थान परिवर्तन गर्न गरेको आग्रह अस्वीकार गरेकाले बाध्य भएर निषेधित क्षेत्र घोषणा गर्नुपरेको प्रशासकीय अधिकृत शर्माले बताए ।

दुवै गठबन्धनबाट केन्द्रीयस्तरका नेताले सम्बोधन गर्ने चुनावीसभा एकै स्थानमा सञ्चालन हुँदा हिंसा र झडप सिर्जना हुनसक्ने प्रशासनले आशंका गरेको छ ।

सहमतिका लागि प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवसहितको सुरक्षा निकायका प्रमुखको टोलीले आयोजकसँग गरेको प्रयास असफल भएपछि सम्भावित घटना रोक्न निषेधित क्षेत्र घोषणा गरेको प्रशासनले जनाएको छ ।

प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपछि अब दुवै पार्टीले शक्ति प्रदर्शनसहितको चुनावीसभा अन्य स्थानमा सार्नुपर्ने भएको छ । आज हुने अन्तिम चुनावीसभामा कांग्रेसको तर्फबाट केन्द्रीय सदस्य एवं चर्चित युवा नेता गगनकुमार थापालगायत र वाम गठबन्धनका तर्फबाट एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता रामबहादुर थापा आउने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment