+
+

सेयर के हो थाहा छैन, लगानी गर्न आतुर छन् दोलखावासी

तामाकोशीको सेयर किन्दा व्याज पाइने बुझाइ

सुदिल पोखरेल सुदिल पोखरेल
२०७४ मंसिर १० गते ६:५५

१० मंसिर, दोलखा । कालिञ्चोक-९ का डम्बर ओलीले तामाकोशीमा सेयर हाल्न कागजात तयार पारेको निकै समय भयो । तर, प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर नखुलेकाले उनले जोहो गरेको रकम स्थानीय सहकारीमा थन्किएको छ ।

‘फाइलमा धुलो जमिसक्यो, पोहोरै खोलिदिएको भए एक वर्षको व्याज खाइसकिन्थ्यो,’ उनी भन्छन् । सेयरमा लगानी गर्दा नाफा हुने सुनेका छन् । तर, कसरी ? उनीसँग जवाफ छैन ।

कसैले त्यसबारे बुझाइदिएका पनि छैनन्, ओलीलाई । तामाकोशीको सेयर पनि बैंककै जस्तो हुने उनको बुझाइ छ । उनको चाहना छ, छिट्टै खुलोस् सेयर । र, खरिद गरेर बिक्री गर्ने उनको सोच छैन । भन्छन्, ‘बुढेसकालमा सेयर काम लाग्ने ठानेको छु ।’

दोलखाका बासिन्दा माथिल्लो तामाकोशीमा सेयर लगानी गर्न आतुर छन् । तर, उनीहरुलाई सेयर के हो र कसरी नाफा हुन्छ भन्ने जानकारी छैन ।

सेयरमा लगानी गर्न केहीले ऋण नै खोजेका छन् ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजना स्थानीय बासिन्दाका लागि सेयर निष्कासनको तयारीमा छ । आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार ३० कात्तिकमा धितोपत्र बोर्डमा आवेदन दिइसकिएको छ ।

‘पुस मसान्तसम्ममा सेयर खोल्ने तयारीमा छौं,’ उनी भन्छन् ।

आयोजनाले स्थानीयवासीका लागि १० प्रतिशत सेयर जारी गर्दैछ । कुल २५ प्रतिशतमध्ये १५ प्रतिशत अन्य स्वदेशी लगानीकर्तालाई बिक्री गर्ने आयोजनाको तयारी छ ।

न्यौपानेका अनुसार स्थानीय बासिन्दालाई जनही ३० देखि तीन सय कित्तासम्म पर्नेछ । अति प्रभावित, प्रभावित र कम प्रभावित गरी तीन वटा वर्गीकरण गरिएको छ । अति प्रभावितलाई बढी र कम प्रभावितलाई थोरै सेयर दिने आयोजनाको तयारी छ ।

कालिन्चोक-१० का ६८ वर्षीय हरिबहादुर खड्काले दशैंमै सेयर निष्कासन हुने हल्ला सुनेका थिए । सोही आधारमा केही रकम पनि जोहो गरे । तर, त्यसलगत्तै चुनाव प्रचारमा व्यस्त नेताहरुले त्यसबारे उच्चारण पनि नगर्दा बाँकी रकम जोहो गर्ने कि नगर्ने द्विविधामा छन् ।

उनले बुझेको पनि सेयरमा लगानी गर्दा व्याज पाइने भन्ने छ । ‘आउँछ मात्रै भन्छन्, कहिल्यै आउँदैन, सेयर आउनेमा म त ढुक्क छैन,’ उनी भन्छन् ।

वर्षदिनअघि नै सेयर निष्कासन गर्दा स्थानीय बासिन्दाको रकम ‘होल्ड’ हुने भएकाले ढिलाइ गरिएको आयोजनाको भनाइ छ ।

‘हाम्रा नेतालाई भोट माग्दै फुर्सद छैन । हामीलाई सेयरबारे कसले बुझाइदिने,’ खड्का भन्छन् । नेताहरुलाई भोटको मात्रै चासो भएको उनी बताउँछन् ।

कालिन्चोककै कुमारप्रसाद प्रसाईंको योजना छ, सेयर खुलेपछि ऋण खोजेरै पनि लगानी गर्ने । उनी भन्छन्, ‘खुल्यो भने ऋणधन गरेर भए पनि हाल्ने हो ।’

कालिन्चोक- ९ का नारायण शाही पुसमा सेयर खुल्ने आशामा छन् । उनले त्यसका लागि रकमको जोहो गरिसकेका छन् ।

हालै सुरुङको ‘ब्रेक थ्रु’ भएकाले आयोजनाको निर्माण चाँडै सकिने र सेयरबाट राम्रै लाभ उठाउन पाइनेमा दोलखावासीमा निश्चिन्तता पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?