+
+
Shares

पहिलो चरणको चुनावः यी नेताको हुँदैछ भाग्य फैसला

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १० गते १८:५४

१० मंसिर, काठमाडौं । पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनबाट केही हेभी–वेट नेताहरुको भाग्य फैसला हुँदैछ । कसले चुनावमा बाजी मार्छन् भनेर थाहा पाउन भने २१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचनपछि शुरु हुने मतगणनाको प्रतिक्षा गर्नुपर्ने छ ।

पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी चर्चा गोर्खा क्षेत्र नम्बर २ को छ जहाँ एमालेको समर्थनमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र कांग्रेसको समर्थनमा नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रतिस्पर्धामा छन् ।

पूर्व सहकर्मीसमेत रहेका र यसपटक अलल–अलग पार्टीबाट चुनाव लडेका उनीहरुमध्ये कसलाई गोर्खा २ का मतदाताले चुन्छन् व्यग्र चासोको विषय बनेको छ ।

यसैगरी नुवाकोटमा डा. रामशरण महत र अर्जनुन नरसिंह केसीको भाग्य फैसला पनि आजको निर्वाचनबाट हुँदैछ । महत र केसी दुबै जना कांग्रेसका प्रभावशाली नेताहरु हुन् ।

पटक–पटक मन्त्रीसमेत महतसँग माओवादीका हितबहादुर तामाङ र केसीसँग एमालेका नारायणप्रसाद खतिवडा चुनावी प्रतिस्पर्धामा छन् । महत र तामाङ नुवाकोट क्षेत्र नम्बर १ बाट तथा केसी र खतिवडा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

यसैगरी सिन्धुपाल्चोकका दुईवटै निर्वाचन क्षेत्र यसपटक बढी चर्चामा छन् । क्षेत्र नम्बर एकमा माओवादी केन्द्रका अग्नि सापकोटा र कांग्रेसका मोहनबहादुर बस्नेत उम्मेदवार छन् भने क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति समशेर राणा र एमालेका शेरबहादुर तामाङ उम्मेदवार छन् ।

सापकोटा पूर्वसूचना तथा सञ्चारमन्त्री हुन् भने बस्नेत बहालवाला । उनीहरुमध्ये कसले चुनाव जित्ला भनेर चासो व्याप्त छ । यद्यपि उम्मेदवारहरुले आ–आफ्नो जीत सुनिश्चित भएको दावी गर्दै आएका छन् ।

ताप्लेजुङबाट एमाले सचिव योगेश भट्टराई र कांग्रेसका केशव दाहाल उम्मेदवार छन् । उनीहरुको प्रतिस्पर्धा पनि रोचक हुने अनुमान गरिएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङका मतदाताले भट्टराई र दाहालमध्ये कसलाई जिताउलान् हेर्न बाँकी छ ।

पाँचथरबाट कांग्रेसका भीष्मराज आङदेम्बे र एमालेका बसन्त नेम्वाङ तथा सोलुखुम्बुको कांग्रेसका बलबहादुर केसीको भाग्य फैसला पनि यसै चुनावले गर्दै छ । सोलुखुम्बुका हरेक चुनाव जित्दै आएका केसीसँग माओवादीका हेमकुमार राई प्रतिस्पर्धामा छन् ।

ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडा र एमालेका यज्ञराज सुनुवार पनि आमने सामने भएका छन् । खतिवडा र सुनुवार दुबै नेता उत्तिकै चर्चित छन् । युवामाझ लोकप्रिय यी दुई नेतामध्ये कसको पक्षमा चुनावी परिणाम जाला भन्ने चासो छ ।

माओवादी नेताहरु देव गुरुङ, वर्षमान पुन ‘अनन्त’, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र महेन्द्रबहादुर शाहीको भाग्य फैसला पनि पहिलो चरणको निर्वाचनबाट हुँदैछ । यी पाँचै जना माओवादी नेताहरुका प्रतिस्पर्धा नेपाली कांग्रेससँग छ ।

गुरुङसँग दिलबहादुर घर्ती, अनन्तसँग अमरसिंह पुन, शर्मासँग गोपालजी जंग शाह, बस्नेतसँग राजीवविक्रम शाह र महेन्द्रबहादुर शाहीसँग भुपेन्द्रजंग शाही प्रतिस्पर्धामा छन् ।

माओवादीका पाँचैजना माओवादी नेताहरु मन्त्री भइसकेका र पार्टीमा बलियो प्रभाव जमाउँदै आएका नेताहरु हुन् । तर, मतदाताहरुमाझ प्रभाव जमाएका छन् कि छैनन् भन्ने थाहा पाउन चुनावी परिणामलाई कुर्नैपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?