Comments Add Comment

तनहुँको ‘कर्णाली’: न बिजुली, न मोवाइल नेटवर्क !

११ मंसिर, तनहुँ । ‘सधैं जनतालाई झुक्याउने, चुनाव आउँदा मात्रै यसो गरिदिन्छु, उसो गरिदिन्छु भनेर भोट माग्न आउँछन् तर चुनाव सकिएपछि एकपटक पनि फर्किएर आउँदैनन्’ तनहुँको देवघाट गाउँपालिका-३ का स्थानीय युवा सुकबहादुर गुरूङ, आफ्नो ठाँउमा भोट माग्न पुगेका उम्मेदवारमाथि आक्रोश पोख्दै थिए ।

तनहुँको दमौलीबाट घुमाउने जाने वुद्धसिंह मार्गमा पर्ने सराङघाटमा जान एक झोलुङे पुल तर्नुपर्छ । वारिपट्टभिन्दा पारितर्फ नै जनताको बाक्लो बसोबास छ । दिउँसो ३ बज्जानबज्दै डाँडामा लुक्ने घाम ओझेल परेजस्तै यहाँका जनताका दुःख र हैरानी पनि ओझेल पर्दै आएका छन् ।

सुकबहादुरले गुनासो गर्दै भने- ‘अन्यत्र बेलुका ६ बजे साँझ पर्छ, हाम्रो यहाँ ४ नै साँझ पर्छ । बिरामी हुँदा उपचार गर्ने ठाँउ छैन, जनतालाई सधैं झुठो आश्वासन बाँड्नेहरुलाई यसपालि बहिष्कार गरिन्छ ।’

किनेका सवारी साधन वुद्धसिंह मार्गमै छाडेर सराङघाट जानुपर्ने बाध्यता छ स्थानीयलाई । ‘दिउँसोमा त पारि नै छाड्दा पनि केही भएन, रातिमा के गर्ने ? झोलुङेपुलबाट सराङघाटसम्म लैजान सडक बनाइदिन पर्‍यो।’ सुकबहादुरको माग छ ।

सुकबहादुर कांग्रेसका क्रियाशील स्थानीय युवा नेता हुन् । तर, उनले यसपटक उम्मेदवार हेरेर मात्रै मत दिने निर्णय लिएको सुनाए ।

एकान्त र अनकन्टारजस्तो लाग्ने यो ठाँउमा एक भृकुटी मावि पनि छ । विद्यालयका आफ्नै समस्या छन् । न त दरवन्दी अनुसारका शिक्षक नै छन्, न त विद्यालयको भौतिक पूर्वाधार नै गतिलो छ ।

विद्यालयका प्रधानाध्यापक यमकान्त चालीसेले विद्यालयको अवस्था दयनीय भएको गुनासो गरे । ‘जिल्ला शिक्षा कार्यालयले दिने अनुदान रकम दमौलीको विद्यालय र सराङघाटको विद्यालयलाई समान रुपमा बाँडिन्छ, यहाँको भौगोलिक अवस्थाको ख्याल गरिँदैन, विद्यार्थीहरु बर्षेनी घट्दै गएका छन्’ प्रअ चालिसे भने ।

सराङघाटको जस्तै गुनासो र समस्या प्यूघर फाँटको पनि छ । नजिकबाट सेती नदी बगिरहेको छ, तर त्यसलाई आवश्यकता अनुसार नजिकै रहेको बाँझो खेतबारीमा उकाल्न सकिएको छैन । कारण त्यहाँ बिजुली छैन ।

दमौलीसँग जोडिएको सेतीपारिका गाउँहरु काहुँ शिवपुर, रिसिङ लगायतका क्षेत्रका जनता अझै पनि अन्धकारमा बस्न वाध्य छन् । तर, जनताले राज्यसत्ताका विरुद्धमा विद्रोह गरेका छन् । उनीहरुले आ-आफ्ना घरमा छानाछानामा सोलार जोडेर साङकेतिक व्यग्य नेताहरुका बिरुद्ध गरेका छन् ।

तनहुँका भिरकोट, वैदी, कोटा, छिपछिपे लगायतका ठूला गाउँ र वस्तीहरु अझै पनि टुकीको भरमा छन् । अहिलेको क्षेत्र नः १ मा पर्ने देउराली, छिम्केश्वरी, धरपानी लगायतका क्षेत्रका जनता अन्धकारमा बस्न बाध्य छन् ।

क्षेत्र नः १ तनहुँबाट उम्मेदवार रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन् ‘त्यहाँ विद्युत लैजान अलि टाढा भयो । किन ढिला भयो भन्दाखेरि सेती प्रोजेक्टले सबै गरिदिन्छु भन्यो । त्यसले गर्छ भनेर थोरै आशा गरेर छाडियो । नत्र भए त मैले सरकारी बजेटबाट सबैतिर बिजुली बाल्दिइसक्थें।’

पाँच पटकसम्म तनहुँबाट निर्वाचित भएका पौडेलले छैठौंपटक उम्मेदवार हुँदासमेत यही मुद्दालाई अहिले चुनावी एजेण्डा बनाइएको छ । उनले मेन लाइनबाट बिजुली दिने काम अब शुरु हुने बताए ।

सराङघाटको जस्तै पीडा र गुनासो तनहुँको बन्दीपुर-६ ग्याजेटारको पनि छ । ५ हजारदेखि २० हजारसम्म र सामुदायिक वनबाट १० लाख रकम उठाएर स्थानीय जनताले गाउँसम्म सडक पुर्‍याएका छन् । त्यही बाटो पनि हरेक बर्ष आउने पानीले खलपत्रै हुने गरी बगाउँछ ।

ग्याजेटार वरपर ९६ घर बस्छन् । बल्लतल्ल सडक पुर्‍याए पनि यहाँका स्थानीयले बिजुली वत्तिको मुख देख्न पाएका छैनन् । ‘दमौली र अन्य क्षेत्रमा बलेको बिजुली हेर्दै रात काट्छौं, स्थानीय ४६ बर्षीय हर्कबहादुर गुरुङले भने ।’

‘तीन घण्टाको दूरीमा स्वास्थ्य चौकी छ । बिरामी भएर उपचार गर्न यहाँ पनि उस्तै समस्या छ । हामी त भाग्यले बाँचेका हौं, केही भए गाउँमै मर्ने हो,’ अर्का स्थानीय धनबहादुरले गुनासो गरे ।

स्थानीय विद्यालयमा विद्यार्थीको संख्या कम हुँदै गएको छ । शहरमा सुख खोज्न जानेहरु थपिँदा छन् । यो ग्याजेटारका अधिकांश भोट सामुहिक निर्णयका आधारमा खसाल्ने गरिएको स्थानीयले बताए । ‘हामीले सधैं एउटै पार्टीलाई भोट दिएका छैनौं,’ स्थानीय नेतासमेत रहेका भीमबहादुर गुरूङले भने, ‘हाम्रा समस्याहरुलाई जसले बुझ्ने प्रयास गर्छ, उसैलाई मत दिन्छम् ।’

ग्याजेटारको जस्तै दुःख छापस्वाँरामा पनि छ । ज्यामिरे र छापस्वाँरामा गरी ४० घर छन् । यहाँका वालवालिकाहरुमा सरसफाइको कमी देखिन्छ । अभिभावकहरुलाई ज्ञान भए पनि पानीको अभाव छ । ‘पानीविनाको जीवन त कसरी चल्न सक्छ र ?’ स्थानीय सहिद लालध्वज प्राविका सहायक शिक्षक विष्णु क्षेत्रीले भने ।

हिलेखर्कमा टिप्दैन मोबाइल !

तनहुँको पर्यटकीय र सुन्दर ठाँउ हो हिलखर्क । निकै गर्मी मौसममा समेत चिसो सिरेटो चल्ने यो ठाँउका आफ्नै दुःख छन् । तनहुँको सगरमाथा छिम्केश्वरी र वन्दीपुरको वीचमा रहेको यो पर्यटकीय केन्द्र होमस्टेका लागिसमेत चर्चित छ । तर, हिलेखर्कको दुःख नत यहाँ बिजुली छ, न त यहाँ नेपाल टेलिकमको मोवाइल नै टिप्छ ।

पर्यटकीय नगरी बन्दीपुरबाट औसतमा १ घण्टाको दुरीमा रहेको हिलेखर्क गाउँ भ्रमण र परम्परागत प्रस्तुतिसहितको परम्परागत खाना र होम स्टेका लागि प्रसिद्ध छ । हिलेखर्कसम्म जाने सडकको समेत दुरावस्था छ ।

स्थानीय आमा समूहकी अध्यक्ष बाटुमाया गुरुङले यहाँका जनताको दुःखलाई हटाउन नेताहरुले कुनै सहयोग नगरेको गुनासो पोखिन् । ‘जुन जोगी आए पनि कानै चिरेका हुन्’ राजनीतिप्रति निराश बन्दै गुरुङले भनिन्, ‘न त यहाँ बिजुली छ, न त यहाँ मोवाइलमा कुरा गर्न नै सकिन्छ ।’

बिजुली, सडक, खानेपानी, मोवाइल टावर, झोलुङे पुल, अस्पतालजस्ता मुद्दालाई अहिले तनहुँका दुई उम्मेदवार रामचन्द्र पौडेल र किसान श्रेष्ठले चुनावी एजेण्डा बनाएका छन् । तर, जनताले कसको कति विश्वास गर्ने हुन्, त्यो भने हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment