+
+

चुनावी रिपोर्टिङका टिपनटापनः देखेका र भोगेका ९ परिदृश्य

दुई चार अर्ब चलाउन नसक्नेहरु झोले कार्यकर्तामात्रै बन्ने देखियो

मात्रिका पाैडेल मात्रिका पाैडेल
२०७४ मंसिर १२ गते १२:४६

१२ मंसिर, रामेछाप । पहिलो चरणको चुनावअघि ३ नम्बर प्रदेशका पाँच जिल्लाको प्रत्यक्ष चुनावी रिपोर्टिङको अनुभव लिएर फर्किँदा सोचेभन्दा भिन्न केही परिदृश्यहरु सँगाल्न पाइयो । सिन्धुपाल्चोकको बाँसखर्कबाट शुरु भएको दौडाहा रामेछापको दुरागाउँमा मतदान गरेर फर्किँदासम्म नयाँ अनुभूतिसहित समापन भयो ।

जनतालाई नलागेको चुनाव

सिन्धुपाल्चोकको बाँसखर्क डेटलाइनमै हामीले भिडियो स्टोरी गरेका थियौं- यसपटक चुनाव नेता र कार्यकर्तालाई मात्र लागेको छ, जनतालाई चुनाव लागेको छैन । मंसिरको चटारोले गर्दा जनतालाई चुनाव नलागेको हो कि भन्ने आशंका रामेछापमा मतदान गर्नेबेलासम्म मिथ्या भयो ।

वास्तवमा स्थानीय चुनावमा जनताको मझेरीसम्म जसरी चुनाव लागेको थियो, प्रतिनिधिसभा र प्रदेशसभाको चुनावले जनतालाई छुन नसकेको यथार्थ आफ्नै आँखाले देखियो । स्थानीय चुनावमा भोट हालेका धेरै मतदाताले यसपटक मतदान केन्द्रसम्म पुग्ने जाँगर देखाएनन् । यसले के देखाएको छ भने,आम मतदातालाई यो चुनावले छुन सकेन ।

दलका कार्यकर्ता पनि झारा टार्ने हिसाबले मात्र सक्रिय भएकाले पनि आम मतदातासम्म यो चुनावको महत्व बुभाउन नसकिएको हुनसक्छ । पहिलो चरणको चुनावमा कम मतदान हुनुको मुख्य कारण के हो भन्नेमा आ आफ्ना तर्क हुनसक्छन् । तर, फिल्डमै देखिएको तथ्य के हो भने-स्थानीय चुनावमा जस्तो समाजका सबै फ्याक्टरहरु यो चुनावमा चलायनमान हुनै सकेनन् ।

समानुपातिक मत धेरै बदर

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकैपटक हुनाले पनि मतदाता धेरै हदसम्म अलमलमा परेको देखियो । संरचना नै नभएको प्रदेशसभा र नयाँ संरचनामा हुन लागेको प्रतिनिधिसभा चुनावको बारेमा सर्वसाधारण बेखबर देखिए । अझ समानुपातिकतर्फ एउटै पानामा दुई ठाउँमा मतदान गर्ने व्यवस्था निकै अवैज्ञानिक र अव्यवहारिक देखियो ।

यसपटक समानुपातिकतर्फको मत धेरै बदर हुने सम्भावना छ । राजनीतिक रुपमा प्रशिक्षित बाहेक आम मतदाताले प्रतिनिधिसभाको मतपत्रमा मात्र छाप लगाएर प्रदेशसभामा छाप नलगाएको बताए । कतिपयले रातो मतपत्रमा दुई ठाउँमा छाप लगाउनुपर्छ भनेर सिकाएकाले एकै लहरमा दुई चिन्हमा मतदान गरेको पनि बताएका छन् ।

म आफैंले मतदान गरेको केन्द्र र अन्य ठाउँका मतदातासँग बुझ्दा प्रदेशसभातर्फको समानुपातिक लहरमा कम मत खसेको छ । यसले दलहरुको समानुपातिकतर्फको हारजितमा निकै ठूलो प्रभाव पार्न सक्छ । समानुपातिक मतपत्र एउटै बनाएर प्रदेशभरिको मत गनेर प्रदेशसभाको समानुपातिक सिट निकाल्ने र देशभरको गनेर प्रतिनिधिसभाको सिट निकाल्ने बिधिनै व्यवहारिक हुने रहेछ ।

प्रत्यक्षतर्फको मतपत्र भने बदर प्रतिशत कम हुने देखियो । किनकी मतदाता लाइनमा बसेर गएपछि पहिलो चरणमा प्रतिनिधिसभाको मतपत्रमा छाप लगाउने व्यवस्था गरिएको छ । प्रतिनिधिसभाको मतपत्र मतपेटिकामा खसालेपछि प्रदेशसभाको मतपत्र लिएर छाप लगाउने व्यवस्था गरिएको रहेछ । यसले गर्दा मतदाताले सहज रुपमा आफूले रुचाएको वा आफूलाई सिकाइएको चिन्हमा मतदान गर्न सक्ने भए ।

यसकारण बुथ कब्जा हुन सकेनन्

मतदान केन्द्रको सुरक्षा सबैतिर निकै व्यवस्थित र मजबुत पाइयो । सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीले क्रमशः तीनओटा घेरा बनाएको र मतदान गर्ने बाहेक अन्य व्यक्ति सुरक्षा घेराभन्दा बाहिर रहने भएकाले हुलहुज्जत हुन पाएन । सुरक्षाकर्मी र प्रशासनको ध्यान शान्तिपूर्ण र निष्पक्ष चुनाव गराउनमै केन्दि्रत भएकाले धाँधली वा बुथकब्जाका घटना यसपटक निकै कम भए ।

उदाहरणका लागि, दोलखाको जफेस्थित जामुने मतदान केन्द्रको कुरा गरौं । स्थानीइ चुनावमा नेविसंघका महामन्त्री कुन्दन काफ्लेले बाहिरबाट केटा लगेर बुथ कब्जा गरे । गाउँपालिका अध्यक्षका उम्मेदवार ईश्वरचन्द्र पोखरेल आफैं लखेटिए । तर, यसपटक कुन्दन काफ्ले नै सुरक्षाकर्मीबाट लखेटिए ।

उनले विगतमा जस्तै ढुंगा, बोत्तल र गुलेली प्रहार गरेर विपक्षी लखेट्न खोज्दा सुरक्षाकर्मीको पेट्रोलिङ टोलीले कुन्दनलाई नै लखेट्यो । मतदानस्थल शान्तिपूर्ण बनाउन सुरक्षा निकायले यसपटक सचेत पहल गरेको देखियो । सधैंजसो बुथ कब्जा हुने र मान्छे मारिने दोलखाको कलंक यसपटक मेटिनुमा सुरक्षा निकायको सचेत प्रयत्न हो ।

शान्तिपूर्ण चुनावको शर्तः सुरक्षा निकायको सचेत प्रयत्न

यदि सुरक्षा निकायले सचेत प्रयत्न गर्ने हो भने चुनावमा बुथ कब्जा, हुलदंगा र हुलहुज्जतका घटना नियन्त्रण गर्न सकिन्छ भन्ने दोलखाको चुनावले यसपटक पुष्टि गरेको छ ।

चुनावअघि सिन्धुपाल्चोकको अवस्था यस्तो थियो कि, कुनै पनि बेला हिंसात्मक झडप र धेरै बुथहरु कब्जा हुन सक्छन् । यही बुझेर सिन्धुपाल्चोकमा एसएसपीकै कमाण्डमा एक दर्जन बढी डीएसपीसहित कमाण्डो परिचालन भयो । त्यसैले सिन्धुको चुनाव पनि अपेक्षाकृत शान्तिपूर्ण नै भयो ।

सुरक्षाकर्मीले चाहने हो भने जतिसुकै पेशेवर गुण्डाहरु चुनावमा प्रयोग भए पनि उनीहरुको जोर चल्दैन भन्ने उदाहरण बन्यो सिन्धुपाल्चोकको चुनाव ।

वाम एकताः कार्यकर्ताको पुनर्मिलन

विजयादशमीका दिन केपी ओली र प्रचण्डले ७ बुँदे सहमतिमार्फत सरप्राइज एकता गर्दा धेरैले यो गठबन्धन कार्यकर्ता तहबाट असफल नहुने आँकलन गरेका थिए ।

एमाले र माओवादी कार्यकर्ताबीच जुन स्तरको दुश्मनी थियो, स्थानीय चुनावले अझ बढी तिक्तता थपेको थियो । नेता मिले पनि कार्यकर्ताका मन नमिल्ने अनुमान लिएर म सिन्धुपाल्चोकदेखि रामेछापसम्म पुगेँ ।

तर, फिल्डमा विल्कुल फरक दृश्य देखियो । अपवाद बाहेक अधिकांश जिल्लामा वडा तहसम्म एमाले र माओवादीका कार्यकर्ता तथा शुभेच्छुक लपक्कै मिलेको देखियो । केन्द्रमा भन्दा प्राकृतिक एकता गाउँमा देखियो ।

माथिबाट लादिएको एकता तल सफल नहुने अनुमान लगभग फेल खायो । यतिसम्म पनि सुनियो कि-अब केन्द्रमा नेताहरु मिलेनन् भने हामी तलबाटै पार्टी एकता गरेर एउटै कमिटी बनाउछौं ।

सिन्धुपाल्चोकमा भेटिएका अग्नि सापकोटा हुन् वा रामेछापमा भेटिएका देवशंकर पौडेल हुन् उनीहरुले पार्टी एकता नभए कार्यकर्ताले विद्रोह गर्ने अनुभव सुनाए ।

एमालेहरुले गोलाकारभित्रको हँसिया हथौडामा भोट नहाल्ने र माओवादीले सूर्यमा भोट नहाल्ने जुन आशंका थियो, अधिकांश ठाउँमा त्यस्तो अवस्था देखिएन । वामपन्थी गठबन्धनको गठबन्धनको मत क्रस भएर लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जित्ने अवस्था १० प्रतिशत पनि देखिएन ।

नेता नमिले तलबाटै पार्टी एकता

माओवादीका अधिकांश कार्यकर्ता भनेका ०५८ पछि एमाले छाडेर गएकाहरु नै छन् । यो वाम एकताले दुवै पार्टीका कार्यकर्ताको पुनर्मिलन गराइदिएको रहेछ । जसरी कोरिया प्रायद्धीप विभाजनपछि छुट्टएिका कोरियालीहरु वर्षौंंपछि आफन्तसँग पुनमिर्लन हुँन पाउँदा अँगालोमा बेरिएका दृश्य फोटोमा देखिन्छ, अहिले एमाले माओवादी कार्यकर्ताको पुनर्मिलन लगभग त्यस्तै रहेछ ।

माओवादी कार्यकर्ताहरुको मनोविज्ञान यस्तो देखियो कि-अब कुनै पनि बहानामा पार्टी एकता रोक्न हुँदैन । कुनै बेला युद्ध र चुनाव दुवै माध्यमबाट सिंगो देश हल्लाएका माओवादीहरु ०७० पछि जनमतमा खुँम्चिँदै जानु परेकोमा हीनताबोध गरिरहेका छन् ।

उनीहरुलाई यो चुनावपछि केपी ओली वा प्रचण्ड को प्रधानमन्त्री बन्छन् भन्ने भन्दा पनि कहिले पार्टी एकता हुन्छ भन्ने चासो बढी रहेछ ।

पछिल्लो १०/५ वर्षयता एमाले र माओवादीबीच अत्यन्तै कटुतापूर्ण सम्बन्ध रहेको भूगोल हो मध्यपहाडी क्षेत्र । रामेछापका एमाले नेता देवशंकर पौडेल माओवादीबाट पटक-पटक कुटपिट र अपमानको शिकार बने । ०६४ को चुनावमा उनलाई मार्ने उद्देश्यले माओवादीले पि्रतीमा भीरबाट खसाले ।

पौडेलको झोला लुटियो । उनीमाथि कालोमोसो समेत दलियो । तर यसपटक माओवादी उम्मेदवार श्याम श्रेष्ठ जिताउन उनै पौडेल बुढेशकालमा झोला बोकेर रामेछापका विकट पहाडहरु छिचोल्दै हिँडे । दोलखामा एमाले र माओवादीको दुश्मनी एक अर्काको हत्या गर्ने तहमा थियो । एकले अर्कोलाई सिध्याउन हिडेका एमालेका पार्वत गुरु र माओवादीका विशाल खड्का अहिले एक अर्काका भरोसायोग्य साथी बनेको देखियो ।

यी प्रतिनिधिमूलक दृश्यले के देखाउँछ भने-वाम एकता तत्कालिन रुपमा केपी ओली र प्रचण्डलाई सत्ता प्राप्तिको अस्त्र भए पनि उनीहरुका कार्यकर्ताका लागि दीर्घकालिन रुपमा चाहिएको अस्त्र हो । त्यसैले मंसिर २१ को चुनाव परिणामपछि यो अस्त्र ओली र प्रचण्डको हातमा नरहने सम्भावना यसकार छ कि-कार्यकर्ता तहमा पार्टी एकता भइसकेको छ । उनीहरु तलबाटै पार्टी एकता गर्दैछन् ।

यदि पार्टी एकता नभनी तालमेलमात्र भनेको भए,वामपन्थी उम्मेदवारहरु धेरै ठाउँमा हार्ने निश्चित देखियो । एमालेलाई गोलाकारमा र माओवादीलाई सूर्यमा भोट हाल्न बाध्य पार्ने एकमात्र अस्त्रनै पार्टी एकता देखियो । पार्टी एक हुन्छ भनेपछि विगतका सबै तिक्त अनुभव बिर्सिएर हिडेका छन् कार्यकर्ता ।

कांग्रेसले कांग्रेस हराउने युगको अन्त्य

नेपाली कांग्रेसमा एउटा सदावहार डाइलग छ-कांग्रेसलाई कांग्रेस बाहेक अरुले हराउन सक्दैन । जिन्दगीभर रुखमा भोट नहाल्ने काँग्रेसहरु धेरै छन् । तर अब यो डाइलग पनि यसपटकको वामपन्थी एकताले पूरानो बनादिइएको देखियो । कहिल्यै नमिल्ने र रुखमा भोट नहाल्ने कांग्रेसहरु पनि यसपटक निस्वार्थ ढंगले चुनावमा खटिएका रहेछन् ।

बिगतमा एकले अर्कोलाई हराउन हिड्नेहरु यसपटक कम्युनिस्टहरु मिलेपछि आपसमा मिलेको दृष्य सबै जिल्लामा देखियो । कम्युनिस्टले जिते भने अब कांग्रेसका दिन सकिन्छन् भन्ने तत्वबोधले काम गरेको पाइयो । मोहन बस्नेतबाट पीडित भएका सिन्धुपाल्चोकका कांग्रेसहरु ‘मुख होइन रुख हेरौं’ भन्दै मनदेखिनै कांग्रेस जिताउन हिडेको देखियो ।

नुवाकोटमा केसी र महत परिवारको दुश्मनी विपक्षी पार्टीबीचको भन्दा निकै तिक्त हुने गथ्र्यो । एकले अर्कोलाई जस्तापाता बेचेको आरोप लाउनेसम्मको सम्बन्ध भएका दुई घराना यसपटक वामपन्थी एकताकै कारण भावनात्मक रुपमै एक भएको दुर्लभ दृष्य देखियो । यसपटक नुवाकोटका प्रायः सबै कांग्रेसले रुखमै भोट हालेको व्यंग्यात्मक डाइलग समेत सुनियो ।

मतदाताको ध्रुवीकरण

वामपन्थी एकताले कांग्रेसलाई एक हुन बाध्य पारेको बिभिन्न जिल्ला भ्रमणपछि अनुभव गर्न पाइयो । यसका साथै कम्युनिस्ट जित्नु हुन्न भन्ने भावनाले राप्रपा समर्थकले रुखमा भोट हाल्ने अवस्था आउनु कांग्रेसका लागि राम्रो संकेत हो । जितहार जसको भए पनि यसपटक मतदाता दुई धु्रवमा मात्र विभाजित भएको देखियो, शहरलाई अपवाद मान्दा ।

शहर बजारमा भने तराजुको प्रभाव राम्रै देखियो । जिल्ला सदरमुकाम र क्षेत्रीय शहरहरुमा राजनीतिप्रति निराश युवा पुस्ताको आकर्षण विवेकशील साझा पार्टीतिर पनि देखियो । तर, आम मतदातामा चाहिँ जित्नेलाई भोट दिनुपर्छ भन्ने परम्परागत मान्यताले अझै डेरा जमाएको छ । जसका कारण प्रत्यक्षमा भने वामपन्थी वा लोकतान्त्रिक गठबन्धनमा मतदाता धु्रवीकृत भएका छन् ।

र अन्तमा, चुनावको सम्भावित नतिजा निर्वाचन आचारसंहितका कारण अहिले उल्लेख गर्न मिलेन । तस्वीर लगभग प्रष्ट छ । तर यो चुनावले पहाडमा दुई पक्षीय र मधेसमा त्रिपक्षीय प्रतिस्पर्धालाई संस्थागत गरेको छ । साना दलहरुको अस्थित्व अब समाप्त भएको छ ।

एमालेले गोलाकारभित्रको हँसिया हथौडामा भोट हाले, माओवादीले सूर्यमा भोट हाले अझ महत्वपूर्ण कुराचाहिँ सबै कांग्रेसले यसपटक रुखमा भोट हाले । वामपन्थी एकताले कांग्रेसलाई एकतावद्ध बनाइदिएको छ । अपवादबाहेक अन्तर्घातको रोगबाट यसपटक कांग्रेस जोगिएको छ । वामपन्थीहरुमा अब एउटै कम्युनिस्ट पार्टीमार्फत चिनियाँ मोडलको विकास गर्नुपर्छ भन्ने भावना विकास भएको छ ।

पैसा हो कि नगदको खोलो ?

रहृयो कुरा, पैसाको चलखेल । स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष जित्न ५ करोडसम्म खर्च गर्नेहरुले प्रतिनिधिसभा र प्रदेशसभामा कति खर्च गरे होलान् ? सुन्दामात्रै पनि आङ जिरिङ्ग हुन्छ । कम्तिमा एक करोड खर्च नभएको कुनै उम्मेदवारको छैन होला । ठूला गठबन्धनका उम्मेदवारहरुको खर्च एक करोडभन्दा माथि रहेको अनुमान सह गर्न सकिन्छ ।

रामेछापकै कुरा गर्दा, एकजना उम्मेदवारको दैनिक खर्च १० लाख, प्रत्येक वडामा कम्तिमा दुई कार्यकर्तालाई पल्सर १५० मोटरसाइकल, बुथ खर्च प्रत्येक वडालाई ४ लाख…जम्माजम्मी १० करोडभन्दा माथि नगद स्वाहा । टिकट लिँदादेखिको अदृष्य खर्चको हिसाबै छैन ।

पानीसरि पैसाको खोलो बगेको देख्दा यो निष्कर्षमा पुगियो- दुई चार अर्ब रुपैयाँ चलाउन नसक्नेहरु पार्टीको झोला बोक्नमात्र योग्य छन्, चुनाव लड्ने कुरा अब उनीहरुको बुँतामा रहेन ।

लेखकको बारेमा
मात्रिका पाैडेल

पाैडेल अनलाइनखबर डटकमका पूर्व उप-सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?