Comments Add Comment

राजेन्द्र महतोको मत माग्ने स्टाइल !

'विधिको शासन ल्याउने कि निधिको शासन ?'

१४ मंसिर, नगराइन(धनुषा) । धनुषा क्षेत्र नम्बर ३ मा राजपाका उम्मेदवार राजेन्द्र महतोको दैनिकी फेरिएको छ । बिहानै उठेर कार्यकर्तासँग भेटघाट गरेपछि उनी मतदाताको घरदैलोमा पुग्छन् । जनकपुरस्थित डेरामा फर्किँदा प्रायःमध्यरात हुन्छ ।

धनुषा-३ को चुनाव देशभर चर्चाको केन्द्रमा रहेकाले पनि हुन सक्छ, महतो दबाबमा छन् । आफ्ना प्रतिस्पर्धी कांग्रेस नेता विमलेन्द्र निधी एक साताभन्दा लामो समय काठमाडौंमा स्वास्थ्य उपचार गराएर फर्किर्दै गर्दा महतालेे भने एकसरो गाउँ तथा नगरका वडाहरु घुमिसकेका छन् ।

मंसिर १३ गते मध्यान्ह निधी काठमाडौंबाट जनकपुर विमानस्थलमा उत्रिँदा महतोचाहिँ निधीकै गाउँ नगराइनतर्फ जाँदै थिए ।

महतोले एकै दिन आफ्नो निर्वाचन क्षेत्रका दुई गाउँपालिका र एउटा नगरपालिकाका वडा तथा टोलसम्मै पुगेर मत माग्न भ्याए । महतोको मत माग्ने ‘स्टायल’ नै फरक रहेछ । एउटा वडाका फरक फरक टोलमा मान्छेहरु भेला पार्न लगाउने । आफू कहिँ गाडीबाट त कहिँ पैदल नै पुग्ने र मतदातालाई आफ्ना प्रतिस्पर्धी विमलेन्द्र निधीले मधेसविरुद्ध गरेका काम (उनकै शब्दमा अत्याचार) को विवरण बुँदागत रुपमा सुनाउने ।

आफ्ना कुरा मतदातासमक्ष राखिसकेपछि अन्तिममा महतो जनतालाई मैथिली भाषामा सोध्ने गर्छन्…यी अत्याचारीको भोट देबै कि नही देबै ? अप्पन लोग विधि क शासन चाहतै कि निधी के शासन ? मधेसीक भोट लेल मधेसीके हत्या करलवालाको भोट देबै ?

तलबाट नाही को आवाज आएपछि उनी मतदातालाई आफूसँगै नारा लगाउन आग्रह गर्छन्..जोर से बोलु..जय मधेस । छाता छाप जिन्दावाद ।

हामीले महतोलाई बुधवार विहान ९ बजेखि मध्यराति १२ बजेसम्म पछ्यायौं ।

महतोमाथि सर्लाहीबाट भागेर जनकपुरमा चुनाव लड्न आएको आरोप निधी पक्षधरले लगाइरहेका छन । महतोले यसको जवाफ पनि दिइरहेकै छन् । हरेक ठाउँमा पुगेपछि उनी भन्छन्..मलाई बहरिया हो , चुनाव जितेपछि भाग्छ भनेर प्रचार गरिँदैछ तर म भाग्न होइन मधेसबिरोधी बिमलेन्द्र निधीलाई भगाउन आएको हुँ । अत्याचारीलाई भगाएरै छाड्छु । उनी हरेक ठाउँमा भन्छन् ….हम भागेवाला नही छी, भगावेवाला छी ।

महतोले जनकपुरमा २ वटा घरभाडामा लिएर क्याम्प चलाएका छन् । बुधवार विहानै रामचौकस्थित राजपा कार्यालयबाट हामीले उनलाई पछ्यायौं । उनी जनकपुर उपमहानगरपालिका २५ नम्बर वडाको एउटा टोलमा पुगेर स्थानीय केहीलाई पार्टी प्रवेश गराए ।

जनकपुरका मेयर लालकिशोर साहले महतोलाई चुनावी अभियानमा दह्रिलो साथ दिइरहेका छन् । २५ नम्बर वडाबाट महतोको टोली धनौजी गाउँपालिकातर्फ लाग्यो । कटरियामा उनले तीनवटा टोल सभा र घरदैलो गरे ।

धनौजीका चारवटा वडाका ८ ठाउँमा टोलसभा गर्दा साँझ ६ बजिसकेको थियो । ४ नम्बर वडाको भडरिया अड्डा टोलमा सामुहिक मेसमा खाना खाएर महतो आफ्ना प्रतिस्पर्धी बिमलेन्द निधीको गाउँ नगराईनतर्फ लागे ।

नगराईनको बिर्ता टोलमा राति पनि मान्छे जम्मा भइरहेका थिए । उनले अन्यत्र जस्तै त्यहाँ पनि निधीका कारण मधेसीले संविधानमा कुनै अधिकार नपाएको र निधीले नै मधेसीको टाउकोमा गोली ठोकेको आरोप लगाए । मधेसीको भोट लिएर जितेपछि निधीले पहाडियाको सेवा गरेको आरोप महतोले त्यहाँ पनि दोहार्‍याए । त्यहाँ जम्मा भएका मान्छेले परर ताली बजाए ।

आफूलाई बाहिरिया भनेकोमा उनले हरेक ठाउँमा जवाफ पनि दिइरहेका थिए । नाकाबन्दी गरेर काठमाडांैंको दानापानी बन्द गर्ने बेला राजेन्द्र महतो जोगबनीदेखि सुनौलीसम्म जहाँ पनि पुग्दा बाहिरिया नहुने, अहिले मधेसको अधिकार संंस्थ्ाागत गर्न मधेस आन्दोलनको केन्द जनकपुरबाट उठ्दा बाहिरिया हुने ? उनी यही प्रश्न गर्दै हिँडेको पाइयो ।

नगराईनबाट महतोको टोली मुखियापट्टी मुसरनिया गाउँपालिका पुग्दा रातिको साढे ११ भइसकेको थियो । एमालेले जितेको यो गाउँमा पनि महतोलाई हेर्न उल्लेख्य संख्यामा मान्छेहरु जम्मा भएका थिए । महतोले त्यहाँ पनि एमालेलाई होइन, विमलेन्द निधीलाई नै गाली गरे । उनी पटक पटक निधीलाई अत्याचारी, मधेस बिरोधी र मधेसीको हत्यारा भनिरहेका थिए । यसबाट निधी र महतोको प्रतिस्पर्धा निकै कटुतापूर्ण बन्दै गएको आभास भयो ।

राजेन्द्र महतो जहाँ पुग्छन्, त्यहाँ जय मधेसको नारा लाग्छ । यसपटक उनले विकास र समृद्धिको भन्दा पनि मधेस आन्दोलनको भावनात्मक एजेण्डामा भोट मागिरहेका छन् । निधीको दुई पुस्ताले २५ वर्षदेखि जनकपुरमा चुनाव जितेर केही नगरेको आरोप उनले लगाइरहेका छन् ।

निधीको बुलेटको जवाफ मधेसी जनताले ब्यालेटबाट दिने बेला आएको भन्दै उनले मंसिर २१ गतेको दिन मतदातालाई सम्झाइरहेका छन् । मधेस आन्दोलनमा गोली चलाएर निधीले मधेसीको हत्या गरेको संगीन आरोप लगाउँदै महतोले त्यसको बदला लिने उपयुक्त मौका यही चुनाव हो भनिरहेका छन् ।

भडरियाका मतदातालाई एकैठाउँमा जम्मा गरेर उनले भने, ‘मंसिर २१ गते बिहान भोट हाल्न जानुअघि आफ्ना बालबच्चाको अनुहार हेर्नुस्। कांग्रेसले जित्यो भने तपाईका छोराछोरी सेना, पुलिस, कर्मचारी कुनै पनि सरकारी नोकरीमा जान पाउँदैनन्, त्यो अधिकार माग्दा गोली ठोकेर मार्छ । तपाईको एक भोटले निधीको शासन समाप्त पारेर विधिको शासन ल्याउन सक्छ ।

एकदिन भरि मध्यारातसम्म राजेन्द्र महतोको चुनावी अभियानलाई पछ्याउँदा उनीमात्र होइन, उनको टोलीका अन्य सदस्यहरुको प्रहारको निशाना पनि निधीमात्रै थिए । मधेस आन्दोलनमा मारिएका र घाइते व्यक्तिका फोटो तथा भिडियो गाउँ गाउँमा प्रदर्शन गरिएको छ र ती व्यक्तिमाथि गोली चलाउने आदेश निधीले दिएको भनेर गाउँलेलाई बताइँदैछ ।

गाउँका मान्छे राजेन्द्र महतोको कार्यक्रममा उल्लेख्य संख्यामा सहभागी हुने गरेका छन् । कतिपय उनका कुरा सुन्नकै लागि आएको बताउछन् भने कतिपय राजेन्द महतो कस्तो रहेछन् भनेर हेर्नका लागि पनि आउने गरेका छन् ।

नगराइनको बिर्ताबाट निस्कँदै गर्दा एउटा टोलका महिलाहरु घुम्टो ओढेर सडक किनारामा उभिएका रहेछन् । उनीहरु राजेन्द्र महतोको अनुहार हेर्न बसेको जानकारी पाएपछि महतोले गाडीबाट झ्यालको सिसा खोलेर भने- हम हि छी राजेन्दर महतो ।

तस्वीरः मिलन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment