Comments Add Comment

अामा त्रिशुलीमा हराइन्, ७ महिने छोरा बगरमा भेटिए

बाबु साउदी अरबमा, जेठो छोरो अर्घाखाँचीमा एक्लै !

१४ मंसिर, चितवन । गाउँगाउँमा अस्पताल बनाउँछौं भन्दै नेताहरु भोट माग्न व्यस्त छन् । तर, जिल्लामै राम्रो अस्पताल भैदिएको भए अर्घाखाँचीकी २७ वर्षीया युवती मनिषा थापा ७ महिने शिशु बोकेर काठमाडौं धाउने थिइनन् । र, उनले त्रिशुली नदीमा डुबेर बेपत्ता हुनुपर्ने थिएन ।

अनलाइनखबरकर्मी विहीबार भरतपुरस्थित पुरानो मेडिकल कलेजको बच्चा वार्डमा पुग्दा त्यहाँ एक अवोध शिशु रोइरहेका थिए । उनी रहेछन् ३० जना यात्रु चढेको बस त्रिशुलीमा डुब्दा पनि दैवले बचाएका ७ महिने अपाङ्ग शिशु आर्यन थापा ।

बुधबार त्रिशुलीमा बस दुर्घटनाका परी घाइते भएका आर्यनलाई अस्पतालको आइसीयुबाट स्वास्थ्यमा सुधार भएपछि बच्चा वार्ड सारिएको छ । उनकी आमा मनिषा थापाको भने न त सास भेटिएको छ, न लास नै । उनी अझैसम्म त्रिशुलीको गर्तमै हराइरहेकी छिन् ।

बस भीरबाट नदीमा खसेपछि मनिषाले शिशुलाई गाडीबाट बगरमा फालेको हुन सक्ने उद्धारकर्ता सुरक्षाकर्मीहरुको अनुमान छ ।

ट्रकले दोहोर्‍याएर हान्यो !

त्रिशुलीमा बेपत्ता बनेकी अर्घाखाँचीकी मनिषा र घाइते अवस्थामा भेटिएका आर्यनका बारेमा कुरा गर्नुभन्दा पहिले बस कसरी त्रिशुली नदीमा खस्यो भन्ने सुनौं ।

अस्पतालमै भेटिएका बसका सहचालक सुनिलका क्षेत्रीका अनुसार बुधबार बिहान कलंकीबाट २६ यात्रुसहित छुटेको बसमा कलंकीबाट चार जना यात्रु थपिएका थिए ।

गाडीका दुईजना स्टाफ र ३० जना यात्रु बोकेको सो बस चुम्लिङटारको घुम्तीमा दुर्घटनामा पर्‍यो र त्रिशुलीमा खस्यो ।

बस बिहान ५ बजेर ३० मिनेट जाँदा कलंकीबाट छुटेको थियो । नौबिसेमा केहीबेर खाजा खान रोकियो । चालकले राम्ररी नै बस कुदाइरहेका थिए । बिहान ९ बजेतिर फिस्लिङ बजार कटेपछि ट्रकले हानेर दुर्घटना भयो ।

‘हामीभन्दा विपरीत दिशाबाट आएको ट्रकले अर्को ट्रकलाई ओभरटेक गर्ने क्रममा हाम्रो लेन मिच्यो’ सहचालक क्षेत्रीले अनलाइनखबरसँग भने, ‘बस ठिकै गतिमा थियो । तर, ट्रकले सिधै हाम्रो बसलाई हान्यो ।’

क्षेत्रीले भने, ‘ठोक्किएपछि ट्रक र बस दुबै रोकिएका थिए । तर, ट्रक फेरि पछाडि हट्यो र जोडले हाम्रो बसलाई हान्यो । पहिलो पटक हान्दा हामी सडकमै रोकिएका थियौं, दोस्रो धक्कामा बससहित हामी त्रिशुलीमा खस्यौं ।’

बस त्रिशुलीमा खस्दा ८ जनाको मृत्यु भएको छ । ३ जना हराइरहेका छन् । बाँकी यात्रुहरु घाइते बनेका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मनिषा र आर्यनको कथा

बस दुर्घटनामा परेर घाइते बनेका ७ महिने शिशु आर्यनको अवस्थामा सामान्य सुधार आए पनि आमा मनिषाको भने अझै अत्तोपत्तो छैन ।

अस्पतालमा बच्चाको हेरचाह र उपचारका लागि आर्यनकी ठूलीआमा विष्णु थापा भरतपुर आएकी छिन् । मनिषाका दाजु गोपाल आर्चाय पनि भाञ्जालाई हेर्न अस्पताल आइपुगेका छन् ।

आर्यनका मामा गोपाल आर्चायले अनलाइनखबरसँग भने- ‘बाबु त ठीक छन् तर, आमाको अवस्था अझैसम्म थाहा हुन सकेन ।’

दूधे बालक आर्यन र उनकी आमा मनिषा अर्घाखाँची निवासी हुन् । आमाको काखमा लुटुपुटु गरेर हुर्किइरहेका यी दूधे बालक आमाको ममताबाट छुटेका छन् ।

आफन्तका अनुसार मनिषा छोराको उपचारका लागि काठमाण्डौं आएकी थिइन् । उनी यसअघि पनि छोराको उपचारका लागि काठमाण्डौं आउने-जाने गर्दै आएकी थिइन् ।

आर्यन जन्मजात अपाङ हुन् । उनको खुट्टामा समस्या छ । काठमाण्डौंमा उपचार गराइरहेकी मनिषा चिकित्सकको सल्लाहअनुसार फलोअपका लागि काठमाण्डौं आएर घर र्फकने क्रममा दुर्घटनामा परेकी हुन् ।

‘एक महिनासम्म काठमाण्डौंमा राखेर समेत उनले उपचार गराएकी हुन्,’ मनिषाकी जेठानी बिष्णु थापाले अनलाइनखबरसँग भनिन्, ‘यसपटक पनि बाबुकै चेकअपका लागि उनी काठमाडौं गएकी हुन् ।’

पति साउदीमा, जेठो छोरो घरमा एक्लै

मनिषाका श्रीमान अर्थात् घाइते शिशु आर्यनका बुबा सुन्दर थापा बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा छन् । उनी छुट्टीमा नेपाल आएर सात महिनाअघि मात्रै साउदी फर्केका हुन् । कान्छो छोराको काठमाडौंमा उपचार गर्नका लागि सुन्दरले साउदीबाट खर्च पठाउँदै आएका थिए ।

अर्घाखाँचीस्थित घरमा मनिषा र सुन्दरका ९ बर्षे छोरा छन् । भाइ र आमा कतिबेला काठमाडौंबाट फर्केलान् भनेर हेर्दाहेर्दै उनका आँखा टट्टाएको आफन्त बताउँछन् ।

त्रिशुलीमा तीनजना अझै वेपत्ता

दूधे बालककी आमा मनिषा थापासहित अन्य दुईजना त्रिशुलीमा अझैसम्म वेपत्ता छन् । उनीहरुको विहीबार दिनभरि खोजी गरिए पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दीपक थापाले अनलाइनखबरलाई जानकारी दिए ।

वेपत्ता हुनेमा अर्का एक दुर्गाबहादुर कार्कीको पहिचान भएको छ । अर्को एक व्यक्तिको भने परिचय खुल्न सकेको छैन ।

‘गोताखोरहरुले समेत पानीभित्र पुगेर खोजी गरे, तर भेटिएन’, प्रहरी प्रमुख थापाले भने, ‘गाडीलाई माथि निकाल्ने प्रयास गर्दासमेत डोरी चुँडिएर निकाल्न सकिएन । शुक्रबार फेरि बिहानैदेखि प्रयास गर्नेछौं ।’

दुर्घटनामा परेर हराएका तीनमध्ये कोही बसले च्यापिएका हुन सक्ने प्रहरीको अनुमान छ । बस खसेको ठाउँ निकै अप्ठ्यारो भएकाले निकाल्न असहज भएको एपसी थापाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment