Comments Add Comment

स्कुल बंक गर्ने ठिटो बन्यो जनताको गायक

चुनावी सभामा विष्णु खत्रीलाई भ्याइनभ्याइ

काठमाडौं । चुनावको चटारोमा फुर्सद छैन, कसैलाई । कोही भोट घर-घर गएर माग्दैछन्, कोही भाषण ठोक्दैछन् अनि कोही उम्मेदवारलाई जिताउन आफ्नो कला र गलाको कमाल देखाइरहेका छन् ।

हो, यो चुनावमा कलाकार पनि कम्ती व्यस्त छैनन् ।

यही मेसोमा गायक विष्णु खत्रीलाई पनि यतिबेला चुनावी सभाहरुमा गाउन भ्याइनभ्याइ छ । अचेल उनी चुनावी सभामा गीत गाउने सेड्युल मिलाउनमै व्यस्त छन् ।

हामीसँग भेट्दा उनी बाग्लुङको गल्कोटमा आयोजित वाम गठबन्धनको चुनावी कार्यक्रममा गीत गाउने विषयमा कसैसँग फोनमा कुरा गर्दैथिए ।

‘माओवादी अध्यक्ष प्रचण्डले भाषण गर्ने कार्यक्रममा गीत गाउनुपर्नेछ,’ उनले भने ।

वाम गठबन्धनका धेरै उम्मेदवारका चुनावी गीत विष्णुले गाइदिएका छन् । एमाले नेता विष्णु पौडेलदेखि भूमि त्रिपाठीलाई जिताउन आव्हान गरेर रेकर्ड गरिएका गीतमा उनकै स्वर छ ।

‘यही कारण मेरो युट्युब च्यानल नै ह्याक भयो,’ विष्णुले भने, ‘प्रहरीमा उजुरी गरेको छु । कसरी खुलाउने भन्नेमा छलफल हुँदैछ ।’

प्रचण्डसँग पहिलो भेट

प्रज्ञाप्रतिष्ठानमा माओवादी केन्द्रको काठमाडौं जिल्ला प्रशिक्षण कार्यक्रम थियो । प्रमुख अतिथि थिए, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । कार्यक्रममा विष्णुले द्वन्द्वपीडित र घाइतेहरुको मर्म बोकेको गीत गाए ।

प्रचण्ड निकै प्रभावित भएछन् ।

वाम गठबन्धनका धेरै उम्मेदवारका चुनावी गीत विष्णुले गाइदिएका छन् । त्यही कारण उनको युट्युब च्यानल नै ह्याक भयो ।

‘विष्णुजीले कार्यक्रमलाई सांगीतिक बनाइदिनु भयो, ममा पनि उत्साह जगाइदिनुभयो,’ प्रचण्डले सबैसामु भने ।

प्रचण्ड सहभागी धेरै कार्यक्रममा उनले गीत गाएका छन् ।

अर्का नेता चित्रबहादुर केसीसँग पनि उनले राम्रै संगत गरेका छन् । विद्यार्थी छँदा उनी चित्रबहादुरको भाषण सुनेर जुरुक्कै उचालिन्थे ।

‘चित्रबहादुरजीसँग धेरै पटक भलाकुसारी गरियो,’ विष्णुले भने, ‘हरेक चुनावमा उहाँलाई सघाउँदै आएको छु ।’

एउटै गुनासो

राजनीतिक नेताहरुका पक्षमा गाउँदै हिँड्दा विष्णुको एउटै गुनासो छ । त्यो हो, कलाकारलाई ‘चाहिँदाका भाँडा नचाहिँदाका ठाँडा’ बनाउने दलहरुको रवैया ।

अहिले हरेक दलका नेताहरुका लागि कलाकार नभई हुँदैन । नेताको नाममा चुनावी गीत बनाउनेदेखि दलका नेता उपस्थित कार्यक्रममा सहभागी भएर गीत गाउने काम पनि तिनै कलाकारले गर्नुपर्छ ।

योगेश भट्टराइलाई जिताउने अभियानमा सहभागी भएर कलाकार मनोज गजुरेल ताप्लेजुङतिर केही दिन व्यस्त रहे । अहिले घनश्याम भुसाललाई जिताउन रुपन्देही पुगेका छन् ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका संयुक्त चुनावी सभाहरुमा गायिका कोमल वली छाइरहेकी छन् । त्यतै कतै बद्री पंगेनी पनि ‘अघि बढ प्रचण्ड’ भन्दैछन् ।

डा. बाबुराम भट्टराईले करिश्मा मानन्धर र नारायणकाजी श्रेष्ठले बल्छी ध्रुवेलाई लगेका छन् । नेतालाई कलाकार नभई हुँदैन, संगठन बनाउनदेखि चुनाव जित्नसम्म ।

‘जब उनीहरु चुनाव जितेर सत्तामा पुग्छन् । कलाको महत्व बिर्सिन्छन्,’ विष्णुले भने, ‘त्यसकारण अब नीति निर्माण तहमा कलाकारको उपस्थिति हुनुपर्छ ।’

जनताका गायक

विष्णु खासमा जनवादी गायक हुन् । सानैदेखि विद्रोही स्वभावका । दलित तथा आर्थिक अवस्था कमजोर हुनेलाई हुनेखानेले हेपेको उनलाई मन पर्दैनथ्यो । असमान ज्याला देख्दा नरमाइलो लाग्थ्यो । तर, एक्लै गाउँको थिति बदल्ने ताकत उनमा थिएन ।

बाग्लुङको गल्कोटमा जन्मेका उनले स्कुल गाउँमै पढे । एसएलसी उत्तिर्ण भएपछि महेन्द्र बहुमुखी क्याम्पस -अहिलेको धौलागिरि क्याम्पस) मा भर्ना भए ।

क्याम्पसमा कम्युनिस्टको बाहुल्य थियो । केही कम्युनिस्ट नेतासँग उनको भेट भयो । कम्युनिस्ट नेताहरुको भाषण सुन्न थालेपछि उनी खाँट्टी कम्युनिस्ट भए । विद्यार्थी संगठनमै रहेर काम गर्न थाले ।

‘लाइब्रेरी र साथीभाइमार्फत् विश्वका केही कम्युनिस्ट नेताहरुको जीवनी पढेपछि मलाई मान्छे बन्न त कम्युनिस्ट नभइनहुने रहेछ भन्ने लाग्यो । म राजनीति गर्न चाहन्थें,’ विष्णुले भने ।

गाउँमा लाग्ने एकादशी मेला निकै चर्चित थियो । हरेक वर्ष राष्ट्रियस्तरका कलाकार आउँथे र प्रस्तुति दिन्थे ।

‘कलाकार बन्न पाए त जनताको यति धेरै माया पाइने रहेछ भन्ने मलाई लाग्यो,’ उनले भने, ‘नेताको भाषणले भन्दा त गीत-संगीतले धेरैलाई प्रभाव पार्न सकिन्छ । मान्छेको जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ भन्ने ठहरमा पुगें ।’

गाउन उनलाई समस्या थिएन । स्कुलदेखि नै गाउँथे ।

संगीतमा लाग्नुअघि अध्ययन पनि गरे । गीत त धेरैले गाउँथे, ठ्याक्कै जनताको पीरमर्का समेटिएका र आम जनतालाई सन्देश दिन सक्ने गीत कस्तो हुन्छ भनेर खोज्दै हिंडे ।

खोज्दै जाँदा उनले लाहुरेहरुको समस्या भेटे, जो अर्काको देशमा रगत पसिना बगाउँछन् । जातीय भेदभावले पनि उनलाई छोयो । दलितलाई गरिने अमानवीय व्यवहार र मजदूरहरु माथि हुने थिचोमिचो सबैले उनलाई घोच्यो ।

जब दलका नेता चुनाव जितेर सत्तामा पुग्छन् । कलाको महत्व बिर्सिन्छन् । त्यसकारण अब नीति निर्माण तहमा कलाकारको उपस्थिति हुनुपर्छ’

विष्णुले यस्तै विषयमा गीत लेखेर गाउन थाले । उनका गीतले लोकगीतको क्षेत्रमा फरक मानक स्थापित गर्‍यो । सतही शब्द र भाकाहरुमै धेरै गायक गायिका सक्रिय भएका बेला उनले जनआन्दोलनका घाइते, बेपत्ता परिवारका व्यथालाई गीतको भाकामा उने । उनका गीतमा सस्तो मायाप्रेमको प्रसंग नहुने कारण पनि त्यही हो ।

‘जबसम्म मुलुक समृद्ध हुँदैन, घाइते, अपांग र लाहुरेहरुका गीत चलिरहन्छन्,’ उनले भने ।

पहिलो एल्बम

उनी जतिबेला काठमाडौं आएका थिए, गायकका रुपमा स्थापित हुनका लागि एल्बमै निकाल्नु पथ्र्यो । लगभग ३० हजार रुपैयाँ खर्चेर उनले पहिलो एल्बम निकाले ।

एल्बमले लगानी उठायो । पहिलो एल्बमबाटै आम्दानी गरेका खत्रीले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । आफ्नै शब्द र संगीतमा स्वर दिने खत्रीले सात सयभन्दा बढी गीतमा स्वर दिएका छन् ।

दलालदेखि दिक्क

विष्णुलाई लाग्छ, अहिले नेपाली संगीत उद्योग दलालको हातमा छ ।

‘केही पैसावाल मान्छे आउँछन्, गायक, गायिका, रचनाकार र संगीतकारलाई ज्याला दिन्छन् र गाउन लगाउँछन्,’ उनले भने, ‘तर, आफ्नै कलाको प्रतिफल वास्तविक स्रष्टाले पाउँदैन ।’

मेला महोत्सवको पनि स्थिति त्यस्तै छ । मुलुकमा हुने विभिन्न महोत्सवमा आयोजक संस्थाले सीधै कलाकारसँग सम्पर्क गर्ने चलन हराउँदै गएको छ ।

‘कलाकारलाई कति पैसा दिने र कति दिन गाउन लगाउनेजस्ता विषयमा बिचौलियाहरुले कुरा मिलाउँदा रहेछन्,’ उनले भने ।

माटोको सुगन्ध

लोकसंगीतमा विकृति आएकामा उनलाई चिन्ता लाग्छ । उनको बिचारमा लोकसंगीतमा माटोको सुगन्ध हुनुपर्छ । तर, कतिपय गीत यस्ता छन्, गन्ध मात्रै बोकेका ।

‘माटोको सुगन्ध नभएका गीतमाथि अब नियन्त्रण नगरी हुँदैन,’ उनले भने ।

दोहोरीमा समाजको एउटा परिवेश झल्केको हुनुपर्छ । तर, अहिले कतिपय दोहोरी गीत यस्ता पनि छन्, टीभीमा प्रसारण हुँदा हेर्न नसकेर टीभी नै बन्द गर्नुपर्ने ।

‘भिडियो र स्टेजमा अभद्र शैलीमा प्रस्तुत हुने कलाकारका कारण आम लोककर्मीको क्षमतामाथि नै प्रश्न गर्नेहरु बढेका छन्,’ उनले भने ।

घरपरिवारको सहयोग

स्कुल पढ्ने क्रममा उनले धेरै पटक ‘बंक’ गरेका थिए । गाउँमा लाग्ने मेला उनका लागि स्कुलभन्दा महत्वपूर्ण लाग्थे । दिनभर बरालिएर साँझ उनी अरु साथीहरुसँगै घर पुग्थे । उनी स्कुल नपुगेको उजुरी घरमा पुगिसकेको हुन्थ्यो ।

पहिलो झमटमा आमाबाट गाली खान्थे । आमालाई फकाउन उनी झोलाबाट गीत गाएर पाएको पुरस्कार देखाउँथे । आमा खुशी हुन्थिन् । उनको गलाको चर्चा गाउँदेखि स्कुलसम्म शुरु भइसकेको थियो ।

स्कुल नआएको केटोले पारि गाउँमा गएर राम्रो गीत गाएको शिक्षकको कानसम्म पुग्थ्यो । शिक्षकहरु धाप मार्दै भन्थे, ‘ल भविष्यमा ठूलो गायक बन्नुपर्छ ।’ शिक्षकहरुबाट गायनको प्रशंसा पाएपछि घरका मान्छेले झन् उनलाई राम्रो सहयोग गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment