Comments Add Comment

‘बेटी जन्मिनासाथ १० हजार, बेहुलीलाई मंगलसूत्र, गृहिणीलाई ग्यास चूल्हो’

२ नम्बर प्रदेशमा मधेस सरकार बनाउँछौं, मधेस राष्ट्रलाई मुक्त गर्छौं

१८ मंसिर, मटिहानी (महोत्तरी) । ०४८ सालदेखि हरेक आम निर्वाचनमा सर्लाहीबाट उम्मेदवार बनेका महन्थ ठाकुर यसपटक महोत्तरीबाट उम्मेदवार बनेपछि उनले जलेश्वरको शिव लजलाई डेरा बनाएका छन् ।

कांग्रेसमा हुञ्जेल सर्लाहीबाट लगातार तीनपटक चुनाव जितेका ठाकुर कांग्रेस छाडेर मधेसवादी बनेपछि दुवै संविधानसभा चुनावमा सर्लाहीबाट पराजित भए ।

‘मेरी मिट्टी ने मुझे यहाँपर बुलाई’ जलेश्वरदेखि महिटानीसम्मको घरदैलोमा उनले आफू महोत्तरीकै माटोमा जन्मिएको प्रमाणित गर्न पटक-पटक यो ‘डाइलग’ दोहोर्‍याए । आफूबिरुद्ध विपक्षीले ‘बहरिया’ र फरवार्ड जातवाला भन्ने आरोप लगाउन थालेपछि उनले महोत्तरीको माटो समाउनुपरेको हो ।

महन्थ ठाकुर महोत्तरीको एकडारा गाउँपालिकामा जन्मिए पनि उनको बसोबास र राजनीतिक कर्मथलो भने सर्लाही नै थियो । यसपटक महोत्तरी-३ अन्तर्गत पर्ने सबै स्थानीय तहमा राजपाले जितेपछि सर्लाहीमा हारको हृयाट्रिकबाट जोगाउन ठाकुरलाई उनको जन्मथलोमै सारिएको चर्चा यहाँ चलिरहेको छ ।

महन्थ ठाकुर मधेस आन्दोलनका एक अविचलित योद्धामात्र होइनन्, उनी मधेसवादीहरुका सर्वमान्य टावर व्यक्तित्व पनि हुन् ।

अनलाइनखबकर्मीको टिम ठाकुरलाई खोज्दै जलेश्वर पुग्दा उनी मटिहानी नगरपालिकाका विभिन्न टोलमा घरदैलो गर्दै थिए । वामपन्थी गठबन्धनका उम्मेदवार उनका प्रतिस्पर्धी बिजय चौधरीकै घर टोलमा महन्थले बढी नै मेहनत गरिरहेका थिए ।

१०/१५ मिनेटको फरकमा उनी गाडीबाट ओर्लिन्थे र आँगन, चोकमा जम्मा भएका स्थानीयको स्वागत ग्रहण गर्थे । स्थानीयलाई लाइन लगाएर ठाकुरसँग भेटाउने चाँजापाँचो मिलाइरहेका थिए मटिहानीका मेयर हरि मण्डल र समानुपातिक उम्मेदवार तथा राजपा महामन्त्री चन्दा चौधरीले ।

अरुका कुरा सुन्ने, टाउको हल्लाउने तर आफू खासै नबोल्ने ठाकुरको शैली हो । उनी मटिहानी टोलमा पनि स्वागत ग्रहण गरेर बिदा हुन खोज्दै थिए, तर त्यहाँ जम्मा भएका महिलाले उनको भाषण सुन्न चाहे । लजाउँदै उनले माइक मागेर हातमा लिए अनि धारा प्रवाह बोल्दै मधेसी भावना यसरी छुन खोजे-

हामी अहिले मधेस मुक्तिको निर्णायक घडीमा छौं । यो देशमा हामी मधेसीले केही पाएनौं । सेना, पुलिस, अदालत, कर्मचारी कहिँ पनि हामीलाई ठाउँ दिइएन । यो मधेस काठमाडौ भन्दा पहिले नै राष्ट्र बनिसकेको थियो । तर, आज हामीमाथि अरु नै (पहाडिया) आएर शासन गरिरहेका छन् ।

हामीले मधेस आन्दोलन गरेर मधेस प्रदेश माग्यौं । आज ८ जिल्लाको मधेस प्रदेश हामीलाई मिलेको छ । अरु १२ जिल्लालाई उनीहरुले पहाडमै राखेका छन् । हामीले संघर्ष गरेर २ नम्बर प्रदेशमा मधेस सरकार बनाउने अवस्था आएको छ । यसपटक हामी चुक्यौं भने मधेसीले कहिल्यै अधिकार पाउने छैनन् ।

यो प्रदेशमा हामी मधेसी बहुमतमा छौं, हामीले आफ्नै सरकार, आफ्नै सुरक्षाकर्मी, आफ्नै प्रशासन र आफ्नै अदालत बनाउने अवसर आएको छ । यदि तपाईहरुले मधेसवादी गठबन्धनलाई जिताउनुभयो भने मधेस सरकार बन्छ । हामी गुलामी र दासताबाट मुक्त हुन्छौं ।

संविधानसभामा हामी मधेसीले हार्दा संविधानमा हाम्रा अधिकार खोसिए । त्यसैले यसपटक कुनै भूल नगरी मधेसी गठबन्धनलाई जिताउनुस, मेरो यही आग्रह छ । मधेस र मधेसीले मुक्ति पाउने यो अवसर गुमाउनुहुदैन । कांग्रेस, एमाले वा माओवादीले जिते भने मधेसले मुक्ति पाउँदैन । मधेस एउटा राष्ट्र हो, पहाड अर्को राष्ट्र हो । यसपटक २ नम्बर प्रदेश पाएका छौं, मधेस राष्ट्रलाई मुक्त गर्ने र नेपाल बहुराष्ट्रिय राज्य हो भन्ने प्रमाणित गर्ने बेला आएको छ । कुनै गल्ती नगरौं ।

यति भनेर उठ्दै गर्दा उनले दुईटा नारा लगाए-

मधेस ओर मधेसीका जय । मधेसी राष्ट्रियता जिन्दावाद ।

बेटी बचाउन १० हजार, पढाउन मंगलसूत्र

७३ वर्षीय वयोवृद्ध  नेता ठाकुरको घरदैलोमा महिलाहरुको उल्लेख्य सहभागिता थियो । घरघरबाट महिला र किशोरीहरु उनलाई माला लगाउन आइरहेका थिए । मधेसको संस्कृति अनुसार उनीहरु ठाकुरलाई माला लगाएपछि खुट्टा छोएर प्रणाम गर्थे । किनकि ठाकुर उसै पनि ब्राम्हण हुन्, त्यसमा पनि मधेसका मसिहा ।

मटिहानी चौराहामा पुगेपछि सायद उनले महिला, बालिका, किशोरी वा गृहिणी जे भने पनि मधेसी महिलालाई सम्बोधन गर्नुपर्ने सोच बनाए । अधिकांश भाषणमा मधेस मुद्दा र अधिकारको कुरा गर्ने ठाकुरले मटिहानीको घरदैलोमा भने महिला मुक्ति र समृद्धिको कुरा पनि जोड्न भ्याए ।

उनले महिलाहरुलाई यसरी आश्वस्त पार्न खोजे-

आज यहाँ मैले आमा दिदी बहिनीहरुलाई केही भन्नुपर्नेछ । हाम्रो मधेसका महिला धेरै पछाडि परे । सानै उमेरमा विहे गरेपछि समस्या हुने नै भयो । आमा रोगी भएपछि बच्चा पनि रोगी हुने भए । त्यसैले अब हाम्रो मधेस सरकार बनेपछि हरेक घरमा बालिका जन्मिनासाथ उनको नाममा खाता खोलेर १० हजार रुपैयाँ राखिदिनेछौं । त्यो खाता आमाको संंरक्षणमा हुन्छ । जिस घरमे बेटी पैदा होगी उनका नामपर खाता खुलेगा और माँ के संरक्षणमे १० हजार रुपैयाँ तरुन्त दाखिला किया जाएगा ।

हरेक छोरीले कम्तिमा १२ कक्षा पास गरुन् भनेर हामीले १२ कक्षा पास गरेकी हरेक मधेसी युवतीलाई बिहेमा आधा तोला सुनको मंगलसूत्र दिनेछौं । मंगलसूत्र लिन नचाहेमा आधा तोला सुन लिन पाउनेछन् । त्यो पनि लिन नचाहेमा त्यो समयमा चलेको सुनको मूल्य बराबरको रकम पाउनेछन् ।

आमा दिदी बहिनीका लागि हामीले तेस्रो अफर पनि ल्याएका छौं । अब मधेस सरकार बनेपछि यहाँका हरेक घरमा ग्यास चूल्हो बाँड्नेछौं । यसबाट सबैलाई राहत हुनेछ ।

जातीय ध्रुवीकरणको त्रास

एक दिनमा दुई दर्जन बढी टोलभेला र घरदैलो गर्ने क्रममा ठाकुरले जातीय मुद्दालाई सचेत ढंगले खण्डन गर्न खोजे । आफूलाई बहरिया अर्थात बाहिरिया भनेकोमा उनले खण्डन गर्दै महोत्तरीकै माटोमा जन्मिएको भनेकै थिए, त्यसमा पनि सिंगो मधेस नै आफ्नो घर भएकाले कहाँबाट उठ्ने भन्ने कुराले अर्थ नराख्ने उनी बताइरहेका थिए ।

ठाकुरलाई चुनावमा अप्ठेरो पारेको अर्को पक्ष रहेछ- जातीय फ्याक्टर । मधेसमा सबैभन्दा धेरै चुनावमा उठ्ने भनेको जातीय नारा नै हो । महोत्तरी ३ मा पनि फरवार्ड जात र ब्याकवार्ड जातको ध्रुवीकरण भित्रभित्रै शुरु भइसकेको छ ।

यो मुद्दालाई व्यवस्थापन गर्न नसक्दा चुनावको परिणाममै तलमाथि पर्ने भएकाले ठाकुरले हरेक ठाउँमा मधेसी सबैको एउटै जात हो भन्दै ब्याकवार्ड र फरवार्डमा विभाजित नहुन आग्रह गरिरहेको पाइयो ।

मधेसीलाई थारु, मुस्लिम, ब्याकवार्ड, फरवार्डका नाममा लडाउन खोजिएको भन्दै मुक्तिका लागि एकजुट हुनुपर्ने ठाकुरले बताइरहेको भेटियो ।

महोत्तरी ३ मा ठाकुरलाई कांग्रेसले समर्थन गर्दै उम्मेदवारी फिर्ता गराएको छ । तर, कांग्रेसको मत जातका आधारमा तीनतिर विभाजित हुने डर छ ।

राजपा नेतासमेत रहेका मटिहानीका पूर्वगाविस अध्यक्ष तथा पत्रकार महासंघका पूर्वअध्यक्ष रामकुमार मण्डलले पनि जातीय ध्रुवीकरण शुरु हुन लागेको स्वीकार गरे ।

दाजुलाई चेक गर्न बहिनीको प्रयोग

कांग्रेसको एउटा समूह एमालेका उम्मेदवार विजय चौधरीको पक्षमा खुलेरै लागिसकेको छ । मटिहानीको मेयर पदमा उम्मेदवार भएका कांग्रेस नेता जयप्रकाश चौधरी एमालेका उम्मेदवार बिजय चौधरीको पक्षमा खुलेका छन् ।

त्यो मतलाई चेक गर्न ठाकुरले एमाले उम्मेदवार विजयकी बहिनी राजपा महामन्त्री चन्दा चौधरीलाई परिचालन गरेका छन्, जो समानुपातिक उम्मेदवार पनि हुन् । त्यसैले उनको पोष्टरमा चन्दा चौधरी लेखेर कोष्ठमा कलवार पनि राखिएको छ । यसको मुख्य कारण जात नै हो ।

चन्दा चौधरीले पनि जातीय नारा लगाएर मत तलमाथि पार्न थालिएको स्वीकार गरिन् । उनले भनिन्- मेरो दाजु वामपन्थी गठबन्धनको उम्मेदवार भए पनि म राजनीतिक मान्छे हुँ, मेरा लागि जात र नाता भन्दा मधेसवाद ठूलो हो । तर, यहाँ जातको राजनीति गर्न खोजिँदैछ, हामी भन्दैछौं यो देशमा मधेसी र पहाडी दुईमात्र जाति छन्, त्यसैले मधेसीलाई जातमा विभाजित गर्नु हुँदैन ।’

राजपा नेता महन्थ ठाकुर ब्राम्हण हुन् । प्रदेशसभा उम्मेदवार अभिराम शर्मा पनि ब्राम्हण हुन् । यही कुरालाई विपक्षीले चुनावी मसला बनाएका छन् ।

त्यसो त ठाकुरविरुद्ध स्वतन्त्र उठेका पूर्वसांसद चन्द्रेश्वर झा पनि ब्राम्हण नै हुन् । वामपन्थी गठबन्धनका उम्मेदवार बिजय चौधरी ब्याकवार्ड समुदायका एकमात्र उम्मेदवार भएकाले पनि यसको फाइदा लिन वामपन्थी गठबन्धनले निकै मेहनत गरिरहेको देखिन्छ ।

जब सन्ध्या हुन्छ… अनि भिडियो चल्छ !

दिनभरिको घरदैलोपछि जलेश्वर, पिपरा, मटिहानीलगायतका ठाउँमा साँझ विशेष भिडियो प्रदर्शन हुन थाल्छ । चोक वा खलियानमा स्थानीयलाई भेला गरेर स्क्रिनमा मधेस आन्दोलनका बेलाका दृश्यहरु देखाइन्छ, जसमा आन्दोलनमा शहीद भएका, घाइते र अपांगहरुका विभत्स तस्वीरहरु हुन्छन् ।

‘आज सेना, पुलिस, प्रशासनमा पहाडेहरु भएकाले यसरी मधेसी मारिनु परेको छ, अब मधेस मुक्तिको बेला आएको छ, मधेस सरकार बन्यो भने यहाँ सेना, पुलिस, प्रशासन सबैतिर मधेसी अनुहार हुनेछन् । हामीमाथि दमन हुने छैन’ यसरी मत मागिन्छ ।

यो शैलीलाई वाम गठबन्धनले निर्वाचन आचारसंहिता विपरीत भन्दै पटक-पटक उजुरी गरिसकेको छ । तैपनि भिडियो प्रदर्शन रोकिएको छैन गाउँ गाउँमा ।

मधेसको परिदृश्य

महन्थ ठाकुरको निर्वाचन क्षेत्रको भ्रमणपछि देखिएको दृश्य के हो भने-एकातिर मधेसवादीले मधेसी समुदायको मन छुन हरेक हतकण्डा अपनाएका छन् भने अर्कोतिर विपक्षी गठबन्धनले जातीय मत विभाजन गराउन कुनै हर्कत बाँकी राखेका छैनन् ।

यी दुई भावनात्मक पक्षमध्ये कुन निर्णायक होलान् ? मौन अवधिसम्मका जातका बैठक र भोजहरुपछि मात्रै भन्न सकिन्छ ।

तर, मधेस आन्दोलनको राप र ताप जलेश्वर आसपासमा अझै सेलाएको छैन । र, त्यसको फाइदा महन्थ ठाकुरले भरपूर उपयोग गरेका छन् ।

तथापि मधेसमा कहिलेकाहिँ राजनीतिभन्दा जात निर्णायक बनिदिन्छ । जातीय भोट बैंकमा रातारात हुने हेराफेरीले एकै दिनका लागि मधेसवादलाई परास्त गरिदियो भने ? यसको जवाफका लागि मंसिर २१ कुर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment