Comments Add Comment

निर्वाचनलाई लक्षित गरी मोरङमा सुरक्षा व्यवस्था कडा

१८ मंसिर, बिराटनगर । प्रहरीले निर्वाचनलाई लक्षित गरेर मोरङको सुरक्षा कडा पारेको छ । मोरङका प्रहरी प्रमुख अरुण बिसीका अनुसार नाका क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था पनि कडाई गरिएको छ ।

उनले नेपालतर्फ तालिम प्राप्त कुकुरसहित नेपाली सेना, नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको बताए ।

‘कतिपय स्थानमा सुरक्षाको थ्रेट हुने सम्भावना देखिएपछि शंकास्पद ठाउँको पहिचान गर्दै ‘सरप्राइज’ चेकिङको प्रवन्धन समेत मिलाइएको छ’, प्रहरी उपरीक्षक विसीले भने ।

नेपालबाट भारत र भारतबाट नेपालतर्फ आवतजावत गर्ने मानिस एवं सवारी साधनहरुमाथि विशेष निगरानी बढाएर चेकजाँच र खानतलासी गर्ने कार्यलाई तीब्र पारिएको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबी, नेपाल र सशस्त्र प्रहरीको संयुक्त गस्ती समेत बढाइएको छ । सीमा क्षेत्रमा एक सातादेखि नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त ‘पेट्रोलिङ’ चलिरहेको छ ।

कर्मचारी कार्यस्थलतर्फ

मोरङ आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि कूल ६ हजार ६४ जना कर्मचारी परिचालन गरिएको छ ।

७ सय ५८ निर्वाचन मतदान केन्द्र रहेको मोरङका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत एक हजार ५ सय १६ जना, मतदान सहायक ३ हजार ३२ र कार्यालय सहयोगी १ हजार ५ सय १६ गरी कूल ६ हजार ६४ जना निर्वाचन गराउने काममा खटिएका छन् ।

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलका अनुसार निर्वाचन गराउन खटिने कर्मचारी सोमबार साँझसम्म तोकिएको मतदान स्थल र मतदान केन्द्रसम्म पुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment