+
+

ताप्लेजुङमा जनप्रतिनिधि र कर्मचारीले सरकारी गाडी ढुट्याए !

डेटिङदेखि जन्तीसम्म सरकारी गाडीमा सरर

 रविन भट्टराई रविन भट्टराई
२०७४ मंसिर १९ गते १७:१८
विना सवारी पास विहीबार दिउँसो तेह्रथुम पुगेको सचिवको टोली । तस्वीर: सचिव विजय गोठालेको फेसबुकबाट ।

१९ मंसिर, ताप्लेजुङ । मंसिर १४ गते बिहीबार कार्यालय समयमा नै ताप्लेजुङका चारवटा वडाका सचिवसहित कृषिका कर्मचारी सरकारी बाइकमा चढेर जिल्ला बाहिर निस्किए ।

याङ्वरक गाउँपालिकाका वडा सचिव रविन्द्र कार्की, आठराई त्रिवेणी गाउँपालिकाका वडा सचिव विजय गोठाले, मिक्वाखोला गाउँपालिकाका इन्द्र भण्डारी र जिल्ला कृषि विकास कार्यालयका मिलन कार्की सेतो नम्बर प्लेटका सरकारी बाइकमा ताप्लेजुङबाट दोभान, साँघु र सङ्खुवासभाको गुफापोखरी हुँदै तेह्रथुमको म्याङलुङ्ग बजारदेखि तराई झरे ।

ती जिल्लाका विभिन्न स्थानमा मोटरसाइकलसहित सेल्फी हान्दै तराई झरेका उनीहरुको फेसबुक फोटोमा धेरैले लाइक र कमेण्ट गरे पनि ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मोहन जिसीले भने कुनै पत्तो पाएनन् ।

उनीहरु सार्वजनिक विदाको समय शुक्रबार, शनिबार र आइतबार तीनै दिन सोही सरकारी मोटरसाइकलमा घुम्दै तराई झरेका हुन् । तर, उनीहरुले जिल्ला बाहिर जान र बिदाको समयमा कुदाउन जिल्ला प्रशासन कार्यालयबाट भने सवारी पास लिएका छैनन् ।

यो त एउटा उदाहरण मात्रै हो । अहिले ताप्लेजुङमा सरकारी कर्मचारी तथा उच्च सरकारी अधिकारीहरुका लागि सरकारी स्रोत साधन दुरुपयोग गर्ने अखडा बन्दै गएको छ । पछिल्लो समय अधिकांश सरकारी सवारी साधन शनिवार र सार्वजनिक विदामा पनि अरु दिनजस्तै निर्विवाद रुपमा दौडिरहेका भेटिन्छन् ।

सेतो नम्बर प्लेटका चार पाङ्ग्रे भन्दा पनि मोटरसाइकलको दुरुपयोग बढी भेटिएको ट्राफिक प्रहरीले बताएको छ । एउटै गाउँपालिका र नगरपालिकामा ७ वटा भन्दा बढी मोटरसाइकल रहेको र ती अधिकांश मोटरसाइकल स्थानीय तहका सचिवहरुले कार्यालय भन्दा पनि आफ्नो निजी प्रयोजनाका लागि प्रयोग गरिरहेको ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख कृष्णकुमार पण्डितले बताए ।

‘कार्यालय खुल्ने समयमा मात्रै नभई शनिवार र अधिकांश सार्वजनिक विदाका समयमा पनि सरकारी मोटरसाइकल लिएर कर्मचारीहरु खुलेआम हिँडेका भेटिन्छन्, अधिकांशसँग लाइसेन्स पनि हुँदैन, मोटरसाईकल समातेर राख्दा प्रशासनबाट पास लिएर आउँछन्,’ निमित्त ट्राफिक प्रमुख कृष्ण कुमार पण्डितले भने ।

चुनावका कारण यो विषयमा ध्यान दिन नपाएको र अब कडाइ गरिने प्रमुख जिल्ला अधिकारी मोहन जिसीले अनलाइनखबरलाई बताए ।

डेटिङदेखि जन्तीसम्म सरकारी गाडीमा सरर…

केही दिनअघि ट्राफिक प्रहरीले नियमित चेकजाँचका क्रममा एक सरकारी कर्मचारीलाई केटी साथी लिएर शनिबार सरकारी बाइकसँगै भेट्यो । उनीहरु विदाको समयमा डेटिङमा हिँडेका थिए । ती कर्मचारीले आफू सरकारी कर्मचारी भएको अहमता देखाउँदै ट्राफिकलाई बाइक छाड्न धम्की दिए । तर, आफूले गैरकानुनी रुपमा सरकारी सवारीको दुरुपयोग गर्न नमिल्ने बताउँदै रोकेपछि भोलिपल्ट जिल्ला प्रशासनको पास बनाएर बाईक लगेको निमित्त ट्राफिक प्रमुख कृष्णकुमार पण्डितले सुनाए ।

उनले आफूलाई अप्ठ्यारोमा पार्ने भन्दै ती कर्मचारीको नाम भने खुलाएनन् ।

‘केटी लिएर सुकेटार, दोभान र काबेली बजारमा मेची राजमार्ग हुँदै डेटिङ जाने त सामान्य हो,’ प्रमुख पण्डितले भने, ‘बिहे, बरखी, न्वारन र पूजादेखि लिएर पिकनिकसम्म पनि सरकारी मोटरसाइकल लिएर जाने गरेको भेटिएको छ ।’

अधिकांश सरकारी बाईक लिएर हिँड्नेमा साविकका गाविस सचिव, अहिलेका वडा सचिव र हालका गाउँपालिका र नगरपालिकाका कर्मचारी बढी भेटिएको पण्डित बताउँछन् ।

अधिकांश मोटरसाइकल चलाउनेहरुको लाइसेन्स पनि छैन, कार्यालय समयमा सेतो नम्बर प्लेट भएकालाई चेक जाँचमा पनि खासै ध्यान नदिने हुँदा दुरुपयोग अझै बढेको भेटिएको ट्राफिक प्रहरीले बताएको छ ।

‘हामीले शनिवार र सार्वजनिक विदाको समयमा प्रशासनबाट पास नलिई कुदाएको भेटिए सवारी साधन समाएर राख्ने गरेका छौं । कतिको लाइसेन्स नहुँदा सरकारी कर्मचारीलाई पनि एक हजारसम्म जरिवाना कटाएका छौं, कहिलेकाहीँ एक दर्जनसम्म पनि समातेका छौं, भोलिपल्ट कार्यालयको पत्र आएपछि पुनः त्यस्तो गल्ती नदोहोर्‍याउने सर्तमा छाड्ने गरेका छौं,’ निमित्त ट्राफिक प्रहरी पण्डितले भने ।

‘सरकारी गाडी समातेको केही समयमा प्रशासन कार्यालयबाट पास छ, बोक्न विर्सिएछ छाडिदिनु भनेर पनि फोन आउँछ,’ एक ट्राफिक प्रहरीले अनलाइनखअबरसँग भने- ‘कहिले उनीहरुकै कार्यालयबाट पनि सरकारी गाडी छाड्नैपर्‍यो भनेर दबाब आउँछ ।

यसअघि कार्यालय प्रमुख गणेश अधिकारी भएको समयमा निर्वाचन कार्यालयको गाडी पनि सार्वजनिक र नियमित विदाको साथै कार्यालय समय बाहिर बढी दौडिने गरेकोमा अहिले कार्यालय प्रमुख परिवर्तन सँगै दुरुपयोग घटेको ट्राफिक प्रहरीको भनाइ छ ।

सरकारी सम्पतिको दुरुपयोग भएकोमा स्थानीय पनि आक्रोशित छन् । स्थानीय सञ्चारकर्मी सन्तोस पुर्कुटी सरकारी गाडी विदामा खुलेआम कुद्दा पनि कारबाही नुहुनु दु:खद भएको बताउँछन् ।

क-कसले गरिरहेका छन् दुरुपयोग ?

आइतबार सार्वजनिक विदामा विनापास चासोक तङनाम मनाउन पुगेका फुङ्लिङका मेयर छत्रपति प्याकुरेल सवार गाडी ।

केही हप्ताअघि ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित तोक्मे डाँडामा लागेको शनिबारे हटियामा जिल्ला शिक्षा कार्यालय छेउको होटल सञ्चालकले किनेको तरकारी जिल्ला शिक्षा कार्यालयको बा १ झ ९३०४ नम्बरको गाडीमा हालिरहेको भन्ने सूचना एक स्थानीयले अनलाइनखबरलाई दिए ।

सो स्थानमा पुग्दा जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलासहित तरकारी किन्ने र तरकारीसहित सो गाडी दौडियो । सो गाडीले शिक्षाका कर्मचारी, कार्यालयको छिमेकीदेखि लिएर कर्मचारीको आसेपासे बोकेर विदाको समयमा पनि प्रशस्तै दौडिएको भेटाउने गरेको ट्राफिक प्रमुखले बताए । जिल्ला शिक्षा अधिकारी पूजा, मलामी, बरखी र भनेको स्थानमा मध्यरातिसम्म पनि सो गाडी लिएर दौडिरहेका हुन्छन् ।

जिल्ला मालपोत कार्यालयको मे १ ब १८० नम्बरको मोटरसाइकल कार्यालयका कर्मचारी प्रदीप गौतमले शनिबार तरकारी बोक्नेदेखि परिवारका सदस्यलाई घुमाउँदै गरेको, कर्मचारी र हाकिमका छोराले दौडाएको समेत ट्राफिक प्रहरीले फेला पार्ने गरेको छ ।

अझै फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल चढ्ने बा २ झ १२६१ नम्बरको सवारीले त आराम नै गर्न पाउँदैन । बिहानैदेखिको मेयरको विभिन्न स्थानको उद्घाटनदेखि मध्यराति विभिन्न स्थानमा हुने खानपान र विदाको समयमा पनि दौडिएको भेटिन्छ । गाडी रोकेमा हे ट्राफिक भाइ मेयरको गाडी हो, चिनेनौ ? भन्ने दबाव आउँछ ।

मेयरले समेत शनिवार वा सार्वजनिक दिवामा सवारी चलाउनुपरे जिल्ला प्रशासनबाट पास लिनुपर्ने व्यवस्था रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी भगिमान मादेनले बताए ।

गत शुक्रबारदेखि भएको सार्वजनिक विदा शनिवारको नियमित विदा र आइतबारको सार्वजनिक विदामा पनि मेयर प्याकुरेल विनापास चासोक तङनाम र गाउँमा भएका विभिन्न कार्यक्रममा सोही गाडी लिएर दौडिइरहेका थिए ।

त्यहीबेला प्रमुख जिल्ला अधिकारी मोहन जिसी भने आइतबार मेयरको गाडीको पछिपछि सशस्त्र प्रहरीको गाडीमा आए ।

‘मेयरले त गाडी ध्वस्तै पारे नि’ चासोक तङ्नाममा भेटिएका स्थानीय अशोक पालुङ्वा भन्दै थिए ।

फुङ्लिङ नगरपालिकाका कर्मचारी निर्मल शेर्पाले चलाउने कार्यालयको मे १ ब ४३४ नम्बरको सरकारी मोटरसाइकल पनि शनिवार र विदाको दिन प्रशस्तै दौडिएको भेटिएको छ । उनी कार्यालयको काम भन्दै फुत्कन्छन् ।

सोही नगरपालिकाका लोकेन्द्र बुढाथोकीले कुदाउने मे १ ब २५८ नम्बरको मोटरसाइकल त निर्वाचनमा पार्टीको प्रचार कार्यक्रममा सुकेटारमा नै भेटिएको ट्राफिक प्रहरीले बताएको छ ।

कृषि कार्यालय, फक्ताङ्लुङ गाउँपालिका, मैवाखोला गाउँपालिका, याङ्वरक गाउँपालिका, सिरीजंङ्घा गाउँपालिका, सिदिङ्वा गाउँपालिका, मेरीङ्देन गाउँपालिका, मिक्वाखोला गाउँपालिका, मालपोत, नापी, फुङ्लिङ नगरपालिका, पशु र महिला तथा बालबालिका कार्यालयका कर्मचारीले साना सवारी साधनको बढी दुरुपयोग गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका अधिकारी बताउँछन् ।

दुई जनाको पास, दर्जन गाडी बेपत्ता !

बिदाको समयमा सरकारी सवारी साधन अत्यावश्यक रुपमा प्रयोग गर्नु परे जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने प्रावधान रहेको छ । तर त्यस्तो समयमा कमैले मात्र सवारी पास लिने गरेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका सूचना अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी भगिमान मादेनले अनलाइनखबरलाई बताए ।

‘विदामा एक दिनका लागि र जिल्लाभित्रै त म आफैं स्वीकृति दिने गर्छु, धेरै दिन र जिल्ला बाहिर विदाको दिन जानुपरे प्रमुख जिल्ला अधिकारीले सवारी पास दिने गरिएको छ,’ मादेन भन्छन्, ‘तर १/२ जनाले मात्रै सवारी पास लिने गरेका छन् ।’

सवारी साधनको दुरुपयोग बढेको भन्ने गुनासो मौखिकरुपमा आउने गरेको सूचना अधिकृत मादेनले बताए ।

गत विहबार यता तीन दिन सार्वजनिक बिदा परेकोमा जिल्ला प्रशासनका ईन्द्र श्रेष्ठ र ओलाङ्चुङ्गोला लोकमार्गका प्रमुख कुबेर नेपालीले मात्रै सवारी पास लिएर जिल्ला बाहिर गएको रेकर्ड छ । तीन दिन विदामा सदरमुकाम फुङ्लिङमा नै धेरै सरकारी मोटरसाइकल र हलुका सवारी साधन दौडिएको भेटिएको ट्राफिक प्रहरीले बताएको छ ।

पास लिएका बाहेकका जिल्ला कृषि विकास कार्यालयका प्रमुख चढ्ने सवारीसहित एक दर्जन बढी गाडीहरु विना पास जिल्ला बाहिर गएका छन् । सरकारी गाडी विदाको समयमा पनि निर्वाधरुपमा दौडिँदा ट्राफिक प्रहरी र प्रशासनले कारवाही नगरेको स्थानियको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?