Comments Add Comment

तनहुँको सुरक्षा चुनौतीमा छिमेकी जिल्लाका दलीय कार्यकर्ता

१९ मंसिर, तनहुँ । बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा चुनौतीमा छिमेकी जिल्लाका दलीय कार्यकर्तालाई पनि राखिएको छ ।

प्रदेश नम्बर ४ अन्र्तगत पर्ने तनहुँका अन्य छिमेकी जिल्लाहरु मनाङ, लमजुङ र गोरखामा मंसिर १० गते नै निर्वाचन भइसकेका कारण ती जिल्लाबाट आउने दलीय कार्यकर्ताले निर्वाचनमा शान्ति सुव्यवस्थामा असर पार्न सक्ने देखिएको छ । त्यसलाई समेत मध्यनजर गरी निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको तनहुँको प्रहरी प्रमुख उमेशराज जोशीले जानकारी दिए ।

तनहुँको उत्तरी र पूर्वी क्षेत्रमा त्यस्ता कार्यकर्ता आउन सक्नेतर्फ प्रहरी सचेत रहेको उनले बताए । दलीय ध्रुवीकरण र त्यसले जन्माउने मुठभेडलाई समेत बिषेश ध्यान दिइएको प्रमुख जोशीको भनाई छ ।

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न १ हजार ८४ म्यादी, ८ सय जनपथ प्रहरी परिचालन गरिएको छ । केन्दि्रय र क्षेत्रीय नीतिअनुसार सुरक्षा नीति तयार गरिएको उनले जानकारी दिए ।

जिल्लामा १३६ मतदानस्थल र २६५ वटा केन्द्रहरु छन् । मतपत्र ल्याउने ढुवानी कार्ययोजनासमेत तयार गरिसकिएको छ । तनहुँका कतिपय निर्वाचन हुने स्थान अति नै विकट छन् ।

ती भेगहरुमा बिजुली वत्तिसमेत नभएका कारणले निर्वाचनअघि र पछिको ढुवानीको कार्ययोजना अनुसार अघि बढेको प्रहरी प्रमुख जोशीले बताए ।

‘२५ देखि ३० वटा मतदानस्थलमा विद्युत छैन । सो क्षेत्रमा समेत जेनेरेटरको वैकल्पिक व्यवस्थाको जोहो गरेका छौं । केही ठाँउ बाहेक धेरै ठाँउमा मोटरवाटो पुगेको छ । निर्वाचन विरोधी गतिविधी वाचमा छन् उनीहरुलाई हामी नियन्त्रणमा लिन्छौं ।’ प्रहरी प्रमुख जोशीले भने ।

निर्वाचन विरोधी गतिविधी तत्वहरु नियन्त्रणभन्दा बाहिर नरहेको प्रमुख जिल्ला अधिकारी रितेश शाक्यले बताए ।

मतदानस्थललाई सम्वेदनशील अति सम्वेदनशील र सामान्य गरी छुट्टाइएको छ । सोही अनुसार सुरक्षाकर्मीको परिचालन ९ जनादेखि बढीमा २२ जनासम्म जनपथ प्रहरी परिचालन गरिएको छ ।

आवश्यकता अनुसार म्यादी प्रहरी परिचालन गरिएको छ । स्थानीय तहको निर्वाचनमा प्रयोग गरिएका मतदानस्थलहरु नै अधिकांश यसपटक पनि प्रयोग गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख बाबुराम घिमिरेले जानकारी दिए ।

तनहुँको निर्वाचन क्षेत्र न. १ मा १ मा १ लाख ५ हजार ५०१ मतदाता छन् ।

क्षेत्र न. २ मा १ लाख ५ हजार ७५५ जना मतदाता छन् । तनहुँमा यसपटक १६ हजार ७ सय ८५ मतदाता थप भई २ लाख ११ हजार २ सय ५६ मतदाता पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment