Comments Add Comment

मधेसमा कत्ल की रातः दारुमांस, ढौवाकौडी र जातभात

चुनावको मौन अवधिमा के के हुन्छ मधेसका बस्तिमा ?

१९ मंसिर, कल्याणपुर सिरहा । मधेसमा चुनावअघिको मौन अवधिलाई ‘कत्ल की रात’ भन्ने गरिन्छ । कत्ल अर्थात हत्या । चुनाव प्रचार प्रसारका क्रममा उम्मेदवार जतिसुकै बलियो देखिए पनि कत्ल की रातले नतिजा उलटफेर बनाउन सक्छ ।

कत्लकी रातमा के सम्म हुन्छ ?

एक सातासम्म मधेसको चुनावी रिपोर्टिङका क्रममा यस्ता धेरै कहानी सुनिए । साँच्चिकै कत्लकी रातले मधेसमा उम्मेदवारहरुको बेचैनी बढाइदिएको छ । किनकि मौन अवधिका अन्तिम दुई सातले सम्भावित नतिजा बदल्ने गर्छन् ।

दारु मांस, ढौवा कौडी

चुनाव प्रचारको अन्तिम क्षणमा धनुषाको मुसरनिया पुगेका राजपा नेता राजेन्द्र महतोले कत्लकी रातबाट जागा बस्न आफ्ना कार्यकर्तालाई निर्देशन दिए । दारु मांस, ढौवा कौडी लिएर आउनेहरुलाई जसरी पनि रोक्नू ।

त्यसपछि उनले जनतालाई भने- हामी मधेसीहरु किन पछि पर्‍यौं भने आफ्नै कारण पछि परेका हौं । चुनावको एक दिनअघि जसले दारु, मासु र ढौवा कौडी दिन्छ उसैलाई भोट दिएर जिताउँछौं । भोट किनेर जितेको मान्छेले तपाईको कुरा किन सुन्छ ?

मौन अवधिमा मधेसमा भित्री बस्तीहरुमा मासु भात, रक्सी र पैसाको चलखेल शुरु भइसकेको छ । कत्ल की रातसम्म हरेक दिन भोजभतेर चल्नु् सामान्य रहेको महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरि मण्डल बताउँछन् । एउटा पक्षले भोज भतेर थालेपछि अर्कोले नगरी सुखै छैन ।

हामी सिरहाको कल्याणपुर पुग्दा स्कूल पछाडि खाली जमिनमा ठूलो भोजभतेरको तयारी भइरहेको थियो । ८० किलो मासु अर्डर गरिसकेको भन्दै एकजना व्यवसायी बजारमा मासु खोज्दै हिँडिरहेका थिए । दिउँसो खाना पकाएर तयार पारिएपछि कसैले गाडीमा राखेर अन्तै लगेर खुवाउछन् भने कसैले त्यहीँ गाउँले जम्मा गरेर भोज लगाउँछन् ।

कम्तिमा मतदानको बिहानसम्म हरेक टोलमा मासु रक्सीसहितको भोज अनिवार्य नै हुने गरेको छ । दलहरुले अलग-अलग मेस सञ्चालन गर्दा स्थानीय व्यवसायीहरुले मनग्गे आम्दानी गर्न पाउँछन् ।

चुनावको अघिल्लो रात कतिपय बस्तिमा रातारात उम्मेदवारले महिलालाई सारी बाँड्छन् । कतिपय अगुवा पुरुषलाई मोबाइल पनि बाँड्छन् । विहानै नयाँ सारी लगाएर मतदान केन्द्रमा गए भने बुझ्नुपर्छ कि कत्लकी रातमा सारी बाँडिएछ ।

ढौवा, कौडीः स्थानीय चुनावले मान्छे बिगार्‍यो

सिराहाको कर्जन्हामा भेटिएका राजपा नेता राजकिशोर यादव तनावमा थिए । क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका यादव मुसहर बस्तिमा जाँदा रित्तो हात किन आएको भनेर मतदाताले उनको कुरै सुन्न चाहेनछन् ।

भर्खरै सम्पन्न स्थानीय चुनावले मतदाताको बानी बिगारेको रहेछ । वडा सदस्यसम्मका उम्मेदवारले चुनावभरि हरेक दिन भोजभतेर र भोटका दिन नगद दिएका रहेछन् । त्यसैले उनीहरु अहिले बिनापैसा र बिना भोज कुनै उम्मेदवारका कुरा सुन्नेवाला देखिएनन् ।

‘पैसाको त कुरै नगरौं, भोत भतेर र हातमा क्यास नभई कोही भोट दिनेवाला छैन, स्थानीय चुनावमा एउटै वडाका दर्जनौं उम्मेदवारको पालैपालो खाएर पल्किएका मतदाताको बानी नै बिगि्रसकेको छ’ सिराहा १ बाट उम्मेदवार बनेका कांग्रेस नेता प्रदीप गिरीले हामीसँगको भेटमा चुनावी दुःख पोखे ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि अधिकतम २५ लाख रुपैयाँ खर्चको सीमा तोकेको छ । तर २५ लाख त त्यस्तै पर्दा मौन अवधिमा एकै दिनमा खर्च गर्नुपर्ने अवस्था रहेको गिरीले बताए । गिरीका अनुसार पैसाबिना आफ्नै कार्यकर्ता त हिँड्न छाडेछन्, मतदाताको के कुरा ?

‘म चुनाव उठेको छु, अर्को उम्मेदवारले २० लाख खर्च गर्छ भने मैले २५ लाख खर्च गर्नु परेन ?’ गान्धीवादी गिरीले खुलेआम हामीसँग विवशता पोखे । उनले यसो भनिरहँदा एकजना सहयोगीले सखुवा नान्कारपट्टीका एक मुखियाले भेट्न खोजेको सुनाए । सम्भवतः मुखियाले भोटको मोलतोल गर्न खोजे ।

जनकपुरको मिल्स एरियास्थित बिमलेन्द्र निधिको निवासमा हामी कुरा गर्न पुग्यौं । हामीसँग कुरा हुँदाहुँदै उनका सहयोगीले कसैको फोन दिए । निधिले मैथिलीमा कुरा गर्दै सोधे- तपाईको साथमा कति भोट छन् ? उताबाट डेढ सय भोट छन् भन्ने जवाफ आयो । त्यसछि निधिले भने- ठीक छ तपाईलाई म हेर्छु, विश्वासले तपाईसँग कुरा गर्छ ।

मधेसमा -२ नम्बर प्रदेश) स्थानीय तहको चुनावले मतदाताको मुख मीठो बनाइदिएको छ । दुई महिनाअघिमात्र सम्पन्न स्थानीय चुनावमा भोजभतेर र नगदको खोलो बगेको थियो । त्यसबेला पल्किएका मतदाताको अपेक्षा धेरै भएकाले पनि खर्च धान्न नसकिने गरि बढेको प्रदीप गिरीका प्रतिस्पर्धी एमाले नेता गंगाप्रसाद यादवले गुनासो गरे ।

कत्लीका रात-निर्णायक  जात

मधेसवादी गठबन्धनका शीर्ष नेता महन्थ ठाकुरलाई पछ्याउँदै हामी महोत्तरीका बिभिन्न गाउँटोलमा पुग्दा त्यहाँ जातीय धु्रवीकरण हामी ‘बहरिया’ र पहरिया (पहाडिया)ले बुझ्ने गरी शुरु भइसकेको थियो । महन्थ ठाकुरको आह्वानमा मधेस आन्दोलनमा कफन बाँधेर हिँडेका युवा आफ्नो जातवाला तर अर्कै पार्टीको उम्मेदवारको प्रचारमा हिँड्न थालिसकेका थिए ।

चुनाव प्रचारको अन्तिम दिन महन्थले मटिहानीका कम्तिमा एक दर्जन सानातिना टोलभेलाहरुलाई सम्बोधन गरे । उनी हरेक भाषणमा भनिरहेका थिए-हामी मधेसीहरु जब चुनाव आउँछ, अनि आफ्नो जात खोज्न थाल्छौं । तपाईहरुलाई सरकारले गोली चलाउँदा बचाउन तपाईको जातवाला आयो ? जब चुनाव आउँछ, अनि जात प्यारो हुन्छ ?

मधेसमा चुनावको अन्तिम बेला पैसा र भोजभतेर भन्दा डरलाग्दो चलखेल जातकै हुने गर्दो रहेछ । तराई मधेसमा अहिले पनि पहाडको भन्दा धेरै जातीय भावना देखिने गरेको छ । चुनावका बेला बलियो संगठन भएको प्रभावशाली नेतालाई सामान्य उम्मेदवारले जातीय मतका कारण पराजित गरेका धेरै उदाहरण छन् ।

आफ्नो जातको उम्मेदवारलाई भोट नदिएर अर्कोलाई भोट दिए पाप लाग्ने त्रासदेखि चुनावपछिका सम्भावित आक्रमणको डर पनि फैलाइन्छ । ०७० को चुनावमा महोत्तरीका एक उम्मेदवारले आफूलाई मत नदिई अर्को जातका उम्मेदवारलाई मत दिएको भनेर चुनाव हारेपछि मतदातामाथि मारपिटमै उत्रिएको समाचार आएको थियो ।

ब्याकवार्ड र फरवार्डको कुराले चुनावको बेला निकै अर्थ राख्छ । मौन अवधि शुरु नहुँदै मधेसका धेरै ठाउँमा उम्मेदवारले आफ्नो अनुकुलतामा जातको कुरा उठाउन थालिसकेका थिए । अब ‘कत्लकी रात’ को अन्तिम प्रहरमा जातका अगुवाहरु भेला भएर उर्दी जारी गर्नेछन्,जसले चुनावी परिणामलाई हेराफेरी गरिदिनेछ ।

र अन्तमा,जे देखियो

मधेसका पाँच जिल्लाका भित्री बस्ती र भारतीय सीमासम्म पुगेर हामीले ‘र्‍यान्डम’ मत सर्वेक्षण गर्‍यौं । हामीसँग कुरा गर्ने ५० प्रतिशत मतदाताले कि त जातको बैठकपछि मत दिने कुरा सुनाए, कि त जसले ढौवा -पैसा) दिन्छ, उसैलाई भोट दिने बताए ।

कतिपय बस्तिमा भने भोटको ठेक्का लिने ‘बिचौलिया’ हुँदारहेछन् । गाउँका हुनेखाने जमिन्दार, चल्तापूर्जा व्यक्ति वा मुखियाले उम्मेदवारसँग आफ्नो टोलको जम्मा मतदाता संख्या देखाएर डिल गर्छन् । त्यो टोलबाट भनेजति मत नआए पैसा फिर्ता गर्नेसम्मको बाचा कबुल हुन्छ ।

जसले बढी पैसा दिन्छ, उसैको पक्षमा भोट खन्याउने ठेक्का उसले पाउँछ । यस्ता ठेकेदारहरु हामीले भेटेका धेरै उम्मेदवारहरु समक्ष प्रत्यक्ष वा अप्रत्यक्ष माध्यमबाट पुगिसकेका थिए । यस्ता ठेकेदारहरु सकेसम्म प्रभावशाली नेता, निर्णायक जातवाला वा बलियो संगठन भएको पार्टीका उम्मेदवारहरुलाई मत बेच्दा आफूलाई सुरक्षित ठान्दा रहेछन् ।

मधेसमा चुनावको अन्तिम रात मुद्दा होइन, मुद्रा बलियो हुन्छ । गरीव, दलित र तटस्थ मतदाताको बस्तीमा अन्तिम रात जसले आफ्नो प्रभाव देखायो,उही हुनेछ बिजेता ।

स्थलगत भ्रमणपछि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment