Comments Add Comment

एकै व्यक्तिको दुईतिर नाम, दुईवटै परिचयपत्र

२० मंसिर, इलाम । निर्वाचन आयोगले एकै व्यक्तिको मतदाता नामावली दुई स्थानमा पठाएको पाइएको छ । मतदान केन्द्रमा कर्मचारीहरु पुगेर परिचय-पत्र वितरण गर्ने क्रममा यस्तो भेटिएको हो ।

इलाम नगरपालिका-५ की लाक्पा दिक्की तामाङ्गले सधै मतदान गर्ने केन्द्र नजिकैको साविक बरबोटे गाविस केन्द्र हो । तर, यस पटक भने उनलाई मतदान गर्न समस्या परेको छ ।

साविक केन्द्रमा पनि उनको मतदाता नामावली कायमै छ । यसपाली इलाम नगरपालिका-७ बालमन्दिर केन्द्रमा पनि उनको मतदाता नामावली छ । मतदाता नामावली मात्र होइन, मतदाता परिचय पत्र नै दुवैतिर छ ।

बरबोटे केन्द्रमा मत हाल्ने गरी रहेको मतदाता नामावलीमा उनको मतदाता नं. १९९७६१०० रहेको छ भने बालमन्दिर केन्द्रमा मतदान गर्ने नामावलीमा १४२६३६४३ छ ।

मतकेन्द्रको दूरीसमेत नजिकै रहेकाले उनी कुन केन्द्रबाट मतदान गर्ने भन्नेमा समस्या छिन् । उनको निर्वाचन क्षेत्र भने जुनबाट मतदान गरेपनि इलाम क्षेत्र नं. २ हो ।

उनको मात्र होइन छिमेकी बालकुमारी राईको पनि अर्को केन्द्रमा पनि मतदाता नामावली र परिचय पत्र छ ।

उनलाई पनि त्यही समस्या छ, कहाँबाट मतदान गर्ने । राईको साविक बरबोटे केन्द्रमा रहेको मतदान गर्न पाउने मतदाता नामावलीमा १४६९९१४ र बालमन्दिर मतदान गर्ने मतदाता नामावलीमा १७९७३७६४ रहेको छ ।

आफूले केन्द्र सार्नको लागि निर्वाचन कार्यालयमा कहिल्यै निवेदन नदिएको र दुई तिर आफ्ना नाम र परिचय-पत्र रहेको कुरा पनि त्यहीका कर्मचारीले सुनाएपछि मात्र थाहा पाएको लाक्पा दिक्कीले बताइन् ।

यसरी एकै व्यक्तिको नाम मतदाता नामावलीमा दुई-दुई ठाउँमा रहनुले आयोगले तयार पारेको मतदाता नामावली कति सत्यको नजिक छ भन्ने प्रश्न उब्जाएको छ ।

नजिक नजिकको केन्द्रमा नाम दोहोरिंदा दोहोरो मतदान हुने सम्भावन पनि रहेको भन्दै आशंका व्यक्त गरिएको छ ।
यता निर्वाचन कार्यालय इलामका प्रमुख प्रेमकुमार काफ्ले भने सफ्टवेयरले एकै व्यक्तिको नाम दोहोरो नलिनु पर्ने भएपनि त्रुटी भएर दुईतिर नाम आएको बताए ।

फरक केन्द्रमा परिचय-पत्र

परिचय-पत्र वितरणको क्रममा मतदाताहरु आफ्नो परिचय-पत्र नपाएर हैरान भएका छन् ।

आफ्ना क्षेत्रको मतदान केन्द्रमा नागरिकता लिएर मतदाता परिचय पत्र लिन पुगेका मतदाताहरुले आफ्नो नाम र परिचय-पत्र नपाएपछि अर्को नजिकैको केन्द्रमा खोजी गर्दा त्यहाँ भने पाइएको छ ।

यसरी अर्कै केन्द्रमा परिचय-पत्र आएकाले मतदाताहरु आफ्नो केन्द्र छोडेर अर्कै अपायक केन्द्रमा मतदान गर्न जान बाध्य भएका छन् ।

आफ्नो क्षेत्रको मतदान केन्द्रमा परिचय पत्र लिन पुगेका कतिपय मतदाताहरु भने परिचय पत्र नपाएपछि रित्तै फर्केका थिए ।

अाफ्नो केन्द्रमा नपाएपछि अर्को केन्द्रमा खोजी गर्नेले मात्र आफ्नो परिचय पत्र पाएको इलाम नगरपालिका ४ का तिलाचन अधिकारी बताउँछन् । उनले भने-”मैले नै चार पाँच जनाको अर्को केन्द्रमा रहेको खोज्न सहयोग गरे ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment