२१ मंसिर, रामेछाप । रामेछाप जिल्लामा बिहीबार साँझ ५ बजेबाट मतगणना हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले सो कुराको जानकारी दिएको हो ।
रामेछापसहित ३२ जिल्लामा मंसिर १० गते पहिलो चरणमा चुनाव भएको थियो ।
मतगणनाको लागि आचारसंहिता निर्माण गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले बिहीबार बिहान सर्वदलीय सर्वपक्षीय बैठक आयोजना गरेको थियो । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले ५ बजेबाट मतगणना गरिने जानकारी गराउँदै मतगणनाका क्रममा अपनाउनुपर्ने आधारभूत आचारसंहिताको बारेमा जानकारी गराएका थिए ।
उनले मतगणनाको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिए ।
प्रतिनिधि सभाको एउटा निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा प्रतिनिधि सभा सदस्यको मतगणना २ स्थानमा गरिने उनले जानकारी दिए । यसैगरी प्रदेश सभा तर्फका २ वटा क्षेत्रको मतगणना १/१ स्थानमा हुने उनले जानकारी दिए ।
मतगणना गर्दा एकपटकमा एउटा निर्वाचनस्थलका सबै मतदान केन्द्रका मटपेटिकाको मत एकै ठाउँमा खन्याएर गन्ने सहमति भएको छ । हरेक मतदानस्थलको मत गनिसकेपछि त्यसको परिणाम सार्वजनिक गर्ने पनि सहमति भएको छ ।
मतगणनास्थलको सुरक्षाको लागि नेट जाली लगाइएको छ । मतगणना गर्ने कर्मचारीहरु नेटभित्र रहने छन् भने राजनीतिक दल र उम्मेदवारका प्रतिनिधि, पत्रकार तथा पर्यवेक्षकहरुले मतगणनास्थलको नेट बाहिरबाट मात्र पर्यवेक्षण गर्न पाउने छन् ।
सर्वदलीय सर्वपक्षीय बैठकका निर्वाचनको मतगणनाको आचारसंहितामा राजनीतिक दल, उम्मेदवार र उनीहरुका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।
निर्वाचन आयोगले तोकेको समयसीमा भित्र मतगणना गरिसकिने मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।
कुल १ लाख ५२ हजार ५ सय ५९ मतदाता रहेको रामेछाप जिल्लामा ८९ हजार ५ सय ८७ मत खसेको छ । जिल्लाका ९० मतदानस्थलका १ सय ९१ मतदान केन्द्रबाट मतदाताहरुले ती मत खसालेका हुन् । निर्वाचनमा वाम गठबन्धन र कांग्रेसकबीच प्रतिस्पर्धा छ ।
प्रतिक्रिया 4