Comments Add Comment

साउदी जेलमा रहेका थारेश्वरलाई बचाउन जुटे युएईका नेपाली

१० डिसेम्बर, युएई । ब्लडमनी तिर्न नसकी साउदी जेलमा रहेका नवलपरासीका थानेश्वर भुसालको उद्धारका लागि युएईमा रहेका नेपालीहरु जुटेका छन् । नवलपरासी सेवा समाज यूएईको अग्रसरतामा डिसेम्बर ८ शक्रबार ‘भुसाल बचाउ अभियान’ सुरु गरिएको हो ।

नवलपरासी सेवा समाज यूएईका अध्यक्ष भीम हमालको संयोजकत्वमा यूएईमा संयुक्त रकम संकलन समिति गठन गरिएको हो । हमालको संयोजकत्वमा गठित समितिको उप संयोजकमा नवलपरासीकै महासचिव राज भण्डारी रहेका छन् ।

अभियानका सदस्यहरुमा गोविन्द ढकाल, गणेश ढकाल, हरि चापागाई रहेका छन् ।

यसै गरी एनआरएनए यूएई, नेपाल आदिवासी जनजाति महासंघ यूएई, प्रवासी नेपाली मञ्च यूएई, जनसम्पर्क समिति यूएईबाट एकएक जना प्रतिनिधि थप गर्ने निर्णय भएको नवलपरासी सेवा समाजका महासचिव भण्डारीले बताएका छन् ।

भण्डारीले यूएईका व्यावसायी, जिल्लागत सामाजिक संस्था तथा सहयोगी दाताहरु यस समितिको सल्लाहकारमा रहने निर्णय भएको बताएका छन् । उक्त समितिको लेखा उपसमितिमा नेत्र ज्ञवालीको संयोजकत्वमा, परशुराम पौडेल र राजेन्द्र गैरे रहेका छन् ।

यही डिसेम्बर २२ सम्ममा रकम संकलन अभियान चलाउने र सोही दिन समितिको बैठक संकलित रकम नेपाल पठाउने निर्णय समेत गरिएको छ ।

यस अभियानमा सहयोग गरी भुसाललाई नेपाल फिर्ता पठाउन युएईमा रहेका सबै नेपालीहरुलाई खुल्ला आह्वान गरिएको छ ।

यो अभियानलाई सफल बनाउन युएईमा क्रियाशील सबै नेपाली सामाजिक संस्थाहरु, व्यावसायीहरु, सामाजिक अभियन्ता तथा सर्वसाधारण नेपालीहरुलाई यथाशक्य सहयोग गर्न आग्रह गरिएको छ ।

यसअघि नै नवलपरासी समाज युएईले ५० हजार रुपैयाँ सहयोग गरिसकेको छ ।

मध्यबिन्द नगरपालिकाका भुसाललाई जेलमुक्त गर्ने अभियानमा साउदी अरबस्थित नवलपरासी प्रवासी मञ्चले रकम संकलन गरेको र हाल सम्म २३ हजार ५ सय साउदी रियल जम्मा भएको त्यसमध्ये ११ हजार रियल नेपाल पिएनसीसीको खातामा पठाई सकिएको र बाँकी रकम केही दिनमा पठाउने तयारी रहेको भण्डारीले जानकारी दिएका छन् ।

जापानस्थित नवलपरासी समाज, कोरिया र कतारबाट पनि उक्त अभियान तीव्र रुपले सञ्चालन भइरहेको समाजका सल्लाहकार नेत्रनारायण थनेतले बताए ।

भुसालको जीवन रक्षाका लागि गैर आवासीय संघ अन्तर्राष्ट्रिय समन्वय समितिले १२ लाख ५० हजार दिने निर्णय गरिसकेको छ । भुसालको जीवन रक्षाका लागि रकम विश्वका केही देशहरुमा सहयोग संकलन भैरहेको छ ।

भुसाल बजाउ अभियानलाई सहयोग गर्न चाहनेहरुले ग्लोबल आईएमी बैंक, अनामनगर शाखा, काठमाडौं खाता न ३९०१०१००००४०९ मा सिधा रकम जम्मा गर्न सकिने ब्यवस्था गरिएको छ ।

२०६७ असोजमा साउदी गएका भुसाल आफूले चलाएको गाडीको ठक्करबाट दुई जनाको ज्यान गएका कारण विगत चार वर्षदेखि साउदीको जेलमा छन् ।

करिब ४३ लाख रुपैयाँ जम्मा गर्न सके उनको रिहाइ हुने स्थानीय अदालतको निर्णयका आधारमा साही रकम जुटाउन नवलपरासी समाज र अन्य संघसंस्था क्रियाशील भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment