Comments Add Comment

बारामा बाम गठबन्धन कमजोर, मधेशवादी दलकै दबदबा

२४ मंसिर, बारा । बाराका ८ प्रदेशसभा मध्ये (क) क्षेत्रका सबै स्थानको टुंगो लागेको छ । मतपरिणाम अनुसार बाम गठबन्धन ३ वटा स्थानमा र संघीय समाजवादी फोरम १ स्थानमा विजयी भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ को क मा बाम गठबन्धनका त्रिलोकी चौधरीले जित हासिल गरेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका पेमासिद्धि लामालाई करिब १९ सय मतअन्तरले पराजित गरेका हुन् ।

यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ को (क) मा संघीय समाजवादी फोरमका शारदाशंकर जयसवालले कांग्रेसका रामप्रवेश यादवलाई फराकिलो मतले पराजित गर्दै विजयी हासिल गरेका छन् ।

जयसवालले १६ हजार ६ सय ७१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका यादवले ८ हजार १ मत प्राप्त गरी पराजय बेहोरेका छन् ।

जयसवाल यसअघिको स्थानीय तहको निर्वाचनमा महागढीमाई नगरपालिकाबाट मेयर पदको उम्मेदवार थिए । त्यसबेला संघीय समाजवादी फोरम र राजपाले अलगअलग उम्मेदवार उठाएकाले हार व्यहोरेका थिए ।

यस्तै, ३ को (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य ज्वालाकुमारी शाह कांग्रेसका रामानन्द यादवलाई फराकिलो मतान्तरले हराउँदै विजयी भएकी छिन् ।

उनी २०६४ सालमा सामानुपातिक तर्फबाट सभासद् थिइन् । २०७० को संविधानसभामा प्रत्यक्ष उम्मेदवार हुँदा कांग्रेसबाट पराजित बेहोरेकी थिइन् । शाहले ११ हजार ७ सय ७१ मत प्राप्त गरेकी छिन् । उनकी निकटतम कांग्रेसका यादवले १० हजार १ सय ४७ मत प्राप्त गरेका छन् ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर ४ को (क) मा वाम गठबन्धनका एमाले उम्मेदवार सुन्दर विश्वकर्माले ३ हजार ४ सय ४७ मतअन्तरले कांग्रेसका आमकृष्ण कार्कीलाई हराउँदै विजयी भएका छन् । विश्वकर्मा एमालेका जिल्ला अध्यक्ष हुन् । उनले ११ हजार ७ सय ७० मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कार्कीले ८ हजार ३ सय २३ मत ल्याएर चित्त बुझाएका छन् ।

क्षेत्र नम्बर २ संघीय समाजवादीको किल्ला, बाम गठबन्धन कमजोर

संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादव प्रतिनिधि सभा सदस्यका लागि ठुलो मतान्तरले विजयी भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ बाट उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेचन्द यादवलाई १२ हजार ३ सय ९५ मतको फरकले पराजित गर्दै विजयी भएका हुन् । उनले २८ हजार १ सय ८५ मत ल्याए भने राधेचन्दले १५ हजार ७ सय ९० मत ल्याए ।

उनी संविधानसभाका सामानुपातिक सभासद् समेत बनिसकेका व्यक्ति हुन् । जिल्लामा इमान्दार नेताको छवि बनाएका रामसहायले दुई कार्यकाल जिल्ला पार्टी सभापति र दुई पटक निर्वाचित सांसद् भइसकेका कांग्रेस नेता राधेचन्दलाई पछाडी पारेका छन् ।

यसैगरी, बारा क्षेत्र नम्बर ४ बाट राजपाका एकवाल मिया निर्वाचित भएका छन् । उनले बाम गठबन्धनका उम्मेदवार देवनारायण थारुलाई १ हजार ६ सय ६८ मतअन्तरले पछाडी पारेका हुन् ।

सुरुवात देखिनै अग्र स्थान लिएको बामगठबन्धनका देवनारायण थारुलाइ पछि पार्दै उनले २२ हजार २ सय ७५ मत प्राप्त गरेर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी रहेका बामगठबन्धनका देवनारायण थारुले २० हजार ६ सय ७ मत प्राप्त गरे भने कांग्रेसका लालबाबु सिहले १४ हजार ५ सय १६ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा मधेशबादी दलकै दबदबा

बारामा क भागका चार वटा प्रदेशसभाका स्थान मध्ये तीन वटामा बाम गठबन्धनले जित हासिल गरिसकेपनि प्रतिनिधिसभाका उम्मेदवार बीच भने मधेशवादी दलसँग कडा प्रतिस्पर्धा देखिएको छ ।

बारा क्षेत्र नम्बर १, बाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार अच्युत मैनालीले सुरुवाती अग्रता लिएपनि कांग्रेसका पूर्वमन्त्री समेत रहेका उमाकान्त चौधरीको अग्रता देखिन थालेको छ भने राजपाले पछ्याइरहेको छ ।

यता, क्षेत्र नम्बर ३ मा पनि बाम गठबन्धनका अध्यानन्ध पाण्डेले सुरुवाती अग्रता लिएपनि पछिल्लो समय फोरमले अग्रता लिइरहेको छ । सुरुवाती चरणमा मतान्तर थोरै भएपनि पछिल्लो पटक फोरम नेपालले अप्रत्यासीत रुपमा दुरी घटाउँदै लगी समाचार तयार पार्दासम्म कफोरमले करिब तीन हजार बढी मतअन्तरले अग्रता लिइरहेको छ ।

अब बाँकी गणना गरिने मत र क्षेत्रका आधारमा बाम गठबन्धनको पराजय निश्चित् जस्तै भइसकेको छ । सुरुमा बाम र फोरमलाई कांग्रेसका फरमुल्लाह मन्सुरले पछयाइरहेपनि मतान्तर फराकिलो बन्दै गएपछि कांग्रेसका फरर्मुल्लाह मन्सुर प्रतिस्पर्धाबाट बाहिरिइसकेका छन् ।

यता, क्षेत्र नम्बर ४ मा पनि बाम गठबन्धनका उम्मेदवार देव नारायण थारुलाई पछाडी पार्दै राजपाका एकवाल मिया निर्वाचित भइसकेका छन् भने क्षेत्र नम्बर २ मा पनि फोरमा रामसहाय यादवले काँग्रेसका राधेचन्द्र यादवलाई पराजित गर्दै भारी मतले जित हाँसिल गरिसकेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रदेश सभा ‘ख’ को मतगणना भइरहेको छ । ‘ख’ का चार स्थानमा पनि राजपा र फोरमले अग्रस्थान लिइरहेका छन् भने काँग्रेस र बाम गठबन्धनसंगको मतअन्तर बढ्दै गइरहेको छ । प्रतिस्पर्धामा रहेका बाँकी २ प्रतिनिधि सभाको अन्तिम मतपरिणाम सोमबार साँझ सम्म टुंगो लाग्न सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment