Comments Add Comment

रुपन्देहीको अन्तिम परिणामः एमालेको पहिलो स्थान कायमै

ह्याट्रिकदेखि कमब्याक हुँदै नयाँ अनुहारको जीतसम्म

२४ मंसिर, बुटवल । रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । नतिजा अनुसार प्रतिनिधिसभा सदस्यमा एमालेले ३ वटा र कांग्रेसले २ वटा सिट सुरक्षित गरेको छ ।

प्रतिनिधिसभामा नेकपा एमालेले क्षेत्र न १, २ र ३ मा जित निकालेका ६ भने कांग्रेस क्षेत्र न ४ र ५ मा विजयी भएको छ ।

प्रदेशसभाका १० क्षेत्र मध्ये प्रदेशसभा सदस्यमा भने एमाले ५, कांग्रेस ३, माओवादी केन्द्र १ र संघीय समाजवादी फोरम १ स्थानमा विजयी भएका छन् ।

स्थानीय तहमा पहिलो बनेको एमाले प्रतिनिधिसभा र प्रदेशसभामा पनि पहिलो नै बनेको छ ।

कसले कहाँ जिते ?

रुपन्देही क्षेत्र न १ मा एमालेका स्थायी कमिटी सदस्य छविलाल बिश्वकर्मा बिजयी भएका छन् ।

उनी ३४ हजार १ सय ५१ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका अब्दुल रज्जाकले २६ हजार ७ सय ७१ मत मात्रै ल्याएका छन् ।

२०७० को चुनावमा विश्वकर्मा रज्जाकसँग पराजित भएका थिए ।

प्रतिनिधिसभातर्फ रुपन्देही २ मा एमालेका उपमहासचिव विष्णु पौडेल विजयी भएका । उनले कांग्रेसका युवराज गिरीलाई दोब्बरभन्दा फराकिलो मतान्तरमा हराए ।

पौडेलले आफ्नो जितको ह्याट्रीक पूरा समेत गरेका छन् । उनले ६४, ७० र ७४ को निर्बाचन लगातार जितेका हुन् ।

क्षेत्र न ३ मा राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष दीपक बोहोरालाई हराउदै एमाले उपमहासचिव घनश्याम भुसाल विजयी भए । यसअघिका निर्वाचनमा लगातार २ पटक हार बेहोरेका भुसालले तेश्रो पटकमा भने जित्न सफल भएका हुन् ।

निर्वाचन क्षेत्र नम्बर ४ मा राजपाका वरिष्ठ उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लालाई हार चखाउँदै कांग्रेसका युवा नेता प्रमोद यादव विजयी भए । प्रमोद यादव नयाँ अनुहारका नेता हुन् । उनी कांग्रेसका नवप्रवेशी नेता हुन् ।

क्षेत्र नं. ५ मा कांग्रेसका भरतकुमार शाह विजयी भए उनले माओवादी केन्द्रका डिलाराम आचार्यलाई हराए । शाहले यसअघि पनि २०७० को निर्वाचन सोही क्षेत्रबाटै जितेका थिए । उनले अहिलेको निर्वाचनमा १२ हजारको मतान्तरले बाम गठबन्धनलाइ हार चखाएका हुन् ।

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नम्बर १ को क मा एमालेका कृष्णप्रसाद न्यौपाने, ख मा माओवादी केन्द्रका दधिराम न्यौपाने, निर्वाचन क्षेत्र २ को कमा एमालेका लीला गिरी र खमा भोजप्रसाद श्रेष्ठ विजयी भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर ३ को क मा संघीय समाजवादी फोरमका सन्तोष पाण्डे र ख मा एमालेका तुल्सीप्रसाद चौधरी विजयी भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर ४ को क मा कांग्रेसका अष्टभुजा पाठक र खमा कांग्रेसकै वसिउद्धिन खा विजयी भए । निर्वाचन क्षेत्र नम्बर ५ को क मा एमालेका भूमिश्वर ढकाल र २ मा कांग्रेसका फकरुद्धिन खान विजयी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment