Comments Add Comment

बाँकेका ८० उम्मेदवारको जमानत जफत

२६ मंसिर, नेपालगञ्ज । प्रतिनिधिसभा र प्रदेशसभामा बाँकेबाट उम्मेदवार बनेका १०३ जनामध्ये ८० जना उम्मेदवारले जमानत जोगाउन सकेनन् ।

बाम गठबन्धन र लोकतान्त्रिक गरी दुई धु्रवमा बाँडिएको निर्वाचनमा बाँकेका कुनै पनि निर्वाचन क्षेत्रमा तीन जनाभन्दा बढीले जमानत बचाउन सकेका छैनन् ।

जमानत जोगाउन नसकेका केही उम्मेदवारको चुनावी प्रचार प्रसार भने आक्रमक थियो । गाडीको लस्कर, पत्रपत्रिकामा विज्ञापनदेखि सडकभरी पर्चा, पम्प्लेट, तोरणहरु टाँगिएका थिए ।

बाँकेमा ३ प्रतिनिधिसभा र ६ प्रदेशसभाका गरी ९ सिटबाट १०३ जना प्रतिस्पर्धामा उत्रिएका थिए । क्षेत्र नं. १ को प्रतिनिधिसभामा १० जना उम्मेदवारमध्ये विजयी बाहेक एकजनाको मात्रै जमानत जोगिएको छ ।

वाम गठबन्धनका महेश्वर गहतराज ‘अथक’ ले ३१ हजार एक सय ७३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका माधवराम खत्रीले २८ हजार २ सय १७ मत ल्याए । बाँकी ८ जनाको जमानत जफत भयो । यो क्षेत्रमा सबैभन्दा कम देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका ऋषिराम थारुले १४६ ल्याए ।

यसैगरी क्षेत्र नं. १ को प्रदेश सभा ‘क’ मा विजयी उम्मेदवार बाहेक दुई जनाले जमानत बचाएका छन् । वाम गठबन्धककी कृष्णा केसी नमूनाले १३ हजार ४ सय ३६ विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका शरदचन्द्र बर्माले १० हजार २ सय ४० मत ल्याएका थिए । यो प्रदेशमा संघीय समाजवादी फोरम नेपालका कसगर खाँले चार हजार ५ सय ५३ मत ल्याएर जमानत बचाएका छन् । १० जनाको उम्मेदवारी रहेको यस क्षेत्रमा विवेकशील साझा पार्टीका दयाराम थारुले सबैभन्दा कम ६१ मत मात्रै पाए ।

प्रदेश सभा ‘ख’ मा विजयी उम्मेदवार र निकटतम प्रतिद्वन्द्वीले मात्रै जमानत बचाएका छन् । यहाँबाट वामगठबन्धनकी आरती पौडेलले १९ हजार तीन सय ८९ मत ल्याएर जित्दा कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार २ सय ५ मत ल्याएर जमानत बचाएका छन् । १० जनाले प्रतिस्पर्धा गरेको यो प्रदेशमा राष्ट्रिय शिवसेना पार्टीका प्रेमप्रसाद शर्माले सबैभन्दा कम २५ मत ल्याए ।

क्षेत्र नं. २ को प्रतिनिधि सभामा १७ जनाले प्रतिस्पर्धा गरेकोमा विजयी उम्मेदवारबाहेक दुई जनाले मात्रै जमानत जोगाएका छन् । संघीय समाजवादी फोरमका मो. इस्तियाक राईले २१ हजार ५ सय ७५ मत ल्याएर चुनाव जित्दा एमालेका पशुपतिदयाल मिश्र १५ हजार नौ सय ५१ मत ल्याएर दोस्रो भए ।

राप्रपा र कांग्रेसको लोकतान्त्रिक गठबन्धनका ओमप्रकाश आजादले ११ हजार ६ सय २२ मत ल्याए । बाँकी १४ जनाको जमानत जफत भएको छ ।

स्वतन्त्र उम्मेदवार अब्दुल हाकिम हलवाईले सबैभन्दा कम २५ मत पाएका छन् ।

प्रदेश सभा ‘क’ मा १३ जनाले प्रतिस्पर्धा गरेकोमा विजयीबाहेक दुई जनाले मात्रै जमानत जोगाएका छन् ।

संघीय समाजवादी फोरमका विजयबहादुर यादव ११ हजार ५ सय ७४ विजयी हुँदा कांग्रेसका निरञ्जनसिंह सिजापति सात हजार सात सय ५१ र वाम गठबन्धनका कामता खटिकले चार हजार ८ सय ९८ मत ल्याएर जमानत जोगाएका छन् । यो प्रदेशमा नेपाल मजदुर किसान पार्टीका लोकमान पुनमगरले सबैभन्दा कम ५१ मत ल्याएका छन् ।

प्रदेश सभा ‘ख’ मा १५ जना प्रतिस्पर्धी रहेकोमा विजयीबाहेक दुई जनाको मात्रै जमानत बचेको छ । लोकतान्त्रिक गठबन्धनका सुरेन्द्र हमालले नौ हजार २ सय ११ मत ल्याएर विजयी हुँदा संघीय समाजवादी फोरमका दुर्गेस गुप्ता आठ हजार ४ सय ३२ र वामगठबन्धनका विजयकुमार गुप्ताले पाँच हजार तीन सय २७ मत ल्याएर जमानत जोगाएका छन् । राष्ट्रिय शिवसेना पार्टीका रविकान्त गुप्ताले सबैभन्दा कम २७ मत पाएका छन् ।

क्षेत्र नं. ३ को प्रतिनिधि सभामा ८ जनाको उम्मेदवारी रहेकोमा विजयी उम्मेदवार बाहेक एकजनाले मात्रै जमानत जोगाए । वामगठ बन्धनका नन्दलाल रोकायले ३१ हजार ६ सय १ मत ल्याएर चुनाव जित्दा कांग्रेसका बादशाह कुर्मीले २६ हजार ६ सय १७ मत ल्याएका थिए । बाँकी उम्मेदवारले दश प्रतिशत मत ल्याउन सकेनन् । यहाँ सबैभन्दा कम नेपाल मजदुर किसान पार्टीका नगेन्द्रबहादुर बुढाथोकीले १२५ मत ल्याए ।

प्रदेश सभा ‘क’ मा विजयी उम्मेदवारलाई छोडेर एकजनाले मात्रै जमानत जोगाएका छन् । ९ जनाले प्रतिस्पर्धा गरेकोमा सात जनाले दश प्रतिशत मत ल्याउन सकेनन् । वामगठबन्धनका आइपी खरेलले १६ हजार ६ सय ७५ मत ल्याएर जित्दा कांग्रेसका चन्तराम थारुले १४ हजार नौ सय ८१ मत ल्याएका थिए ।

यहाँ नयाँ शक्तिका गोगनबहादुर बम र नेपाल मजदुर किसान पार्टीका भक्तबहादुर बुढाले सबैभन्दा कम १ सय २९ मत ल्याएका छन् ।

प्रदेश सभा ‘ख’ मा दुईजनाको मात्रै जमानत बचेको छ । वामगठबन्धनका बाबुराम गौतमले ११ हजार ८ सय ७७ मत ल्याएर चुनाव जित्दा लोकतान्त्रिक गठबन्धनका लक्ष्मीनारायण शाह सात हजार पाँच सय ९२ र स्वतन्त्र उम्मेदवार विजयकुमार पाठकले चार हजार २ सय ४० मत ल्याएर जमानत जोगाएका छन् । ११ जना उम्मेदवार रहेको यो प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) का नन्कउ खाँ पठानले सबैभन्दा कम ४३ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment