२७ मंसिर, काठमाडौं । सिन्धुपाल्चोकको माङ्खा–७ का तुलबहादुर तामाङले धनकुमारी (परिर्वतीत नाम) लाई ७ महिनाअघि फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए । आफू यूएस आर्मीको जागिरे भएको परिचय दिए ।
संखुवासभाको माकल गाउँपालिका–५ की मनकुमारी तामाङको कुरामा लोभिँदै गइन् । फेसबुकमा साथी भएको छोटो समयमा उनीहरुबीच विवाह भयो । यूएस आर्मीसँग विवाह गर्न पाउँदा धनकुमारी पनि दंग थिइन् ।
तामाङले विवाहपछि सालाेहरुलार्इ पनि आफूसँगै जागिर लगाइदिने आश्वसन दिए । उनीहरुले पनि आर्मीमा जागिर खाने सपना देख्न थाले । तर, तुलबहादुर त्यहाँसम्म जानका लागि २१ लाख रुपैयाँ खर्च लाग्ने सुनाए ।
परिवारका सदस्य तयार भए । पीडित परिवारका एक सदस्य भन्छन्, ‘यूएस आर्मीमा जागिर खान पाइन्छ भनेपछि जोडजाम गरेर पैसा पठाइयो ।’ पैसा पठाएपछि प्रोसेसका लागि भन्दै तामाङले काठमाडौंसम्म बोलाए ।
तर, उनीहरुको खुशी त्यति वेला टुट्यो, जतिवेला आफ्नो २१ लाख रुपैयाँ लिएर भिनाजु वेपत्ता भएको उनीहरुले सुइँको पाए । तुलबहादुर श्रीमतीलाई समेत अत्तोपत्तो नदिइ उनी भागे ।
पैसा बुझेर भिनाजु भागेपछि उनीहरुले ७ दिनअघि महानगरीय अपराध महाशाखामा उजुरी दिए र ठगी गर्ने तामाङ प्रहरीको फन्दामा परे ।
अमेरिकी सेनाको जागिरे भनिएका तुलबहादुरलाई सिन्धुपाल्चोकमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
अमेरिकी सेना होइन, नटवरलाल रहेछन् तुलबहादुर
प्रहरीको फन्दामा परेपछि थाहा भयो, तामाङ पुरानै ठग रहेछन् । उनी यसअघि पनि फेसबुकमार्फत महिलालाई ठगी गरेको आरोपमा पक्राउ परेका थिए ।
०७३ साल साउनमा उनलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । तर, केही समय थुनामा बसी धरौटी तिरेर तामाङ छुटेका थिए ।
‘महिलालाई ठगी गर्दा भिन्नभिन्न आश्वसन दिने गरेको पाइएको छ’, महानगरीय अपराध महाशाखाका प्रमुख दिपेश लोहनीले भने, ‘कसैलाई अमेरिका त कसैलाई क्यान्डा पठाइदिन्छु भनेर ठगी गर्ने गरेको खुलेको छ ।’
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अुनसार यसअघि तामाङले लेवनानमा रोजगारीमा रहेकी सिन्धुपाल्चोककी एक युवतीलाई फेसबुकमार्फत साथी बनाएका थिए । ती युवती नेपाल आएको समयमा डिपेन्डेन्ट भिसामा अमेरिका पठाइदिने भन्दै आश्वसन दिए र, ९ लाख रुपैयाँ लिएर बेपत्ता भए ।
तीनै युवतीको माध्यमबाट तामाङले आफूले क्यान्डा समेत मान्छे पठाउन सक्ने भन्दै दुई जनाबाट १३ लाख रुपैयाँ लिए । तर, रकम लिएपछि उनी एकाएक सम्पर्कबिहीन भएका थिए । उनको कर्तुत यतिमा मात्र सिमित छैन, उनले एक जना महिलासँग फेसबुकमार्फत नै चिनजान गरे र, आमा क्यानडामा डाक्टर भएको बताए ।
महिला वैदेशिक रोजगारीको क्रममा साइप्रसमा थिइन् । राम्रै कमाइ थियो । तर, तामाङले क्यानडासँगै जाऔं भन्दै नेपाल बोलाए । क्यानडा जान पाउने लोभमा साइप्रसको जागिर छाडेर उनी पनि नेपाल आउन राजी भइन् ।
नेपाल आएर प्रोसेसको लागि भन्दै ९ लाख रुपैयाँ तामाङलाई दिइन् । तर, रकम बुझेपछि तुलबहादुर फरार भए । प्रहरीका अनुसार एक पटक पक्राउ परेर पनि धरौटीमा छुटेका तामाङले फेरि पुरानै धन्दा सुरु गरेका थिए । अहिले प्रहरीले उनलाई थप अनुसन्धान र कारबाहीका लागि भन्दै महानगरीय प्रहरी परिषरमा पठाएको छ ।
याे पनि पढ्नुस्
फेसबुकबाट चिनजान गरी २१ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ
प्रतिक्रिया 4