Comments Add Comment

समानुपातिक परिणामः पर्सामा फोरमको बर्चश्व, बारामा कांग्रेस फर्स्ट

२९ मंसिर, वीरगञ्ज । पर्सामा प्रत्यक्षतर्फ जस्तै समानुपातिकमा पनि फोरम नेपालले बाजी मारेको छ । बारामा भने कांग्रेसले सबैभन्दा धेरै मत हासिल गरेको छ ।

कुल २ लाख ८९ हजार ५५ मतदाताले मतदान गरेको पर्सा जिल्लाको प्रतिनिधि र प्रदेशसभा दुवैमा संघीय समाजबादी फोरम नेपाल पहिलो भएको हो ।

दोस्रो स्थानमा नेपाली कांग्रेस छ भने देशमै पहिलो स्थानमा रहेको एमाले पर्सामा तेस्रो भएको छ ।

पर्सामा प्रत्यक्षतर्फ ४ वटै प्रतिनिधिसभा र ८ प्रदेशसभामध्ये ६ प्रदेशसभा सदस्यमा फोरम नेपालले बाजी मारेको छ ।

पर्सामा प्रतिनिधिसभाको समानुपातिकमा फोरम नेपालले कुल ५३ हजार ८ सय २१ मत पाएको छ भने कांग्रेसले ५० हजार ५ सय ९२ मत ल्याएको छ । तेस्रो स्थानमा रहेको एमालेले जम्मा २२ हजार १ सय ५६ मत पाएको छ भने राजपा नेपालले १७ हजार ४ सय १४ मत हासिल गरेको छ । माओवादी केन्द्रले ११ हजार ८ सय १९ मत बटुलेको छ ।

नेपाल संघीय समाजवादी पार्टीले ११ हजार १ सय ६३ मत प्राप्त गरेको छ । राप्रपा प्रजातान्त्रिकको पक्षमा १ हजार ३ सय ७५ मत परेको छ भने विवेकशील साझा पार्टीले १ हजार ३ सय १ मत पाएको छ ।

प्रत्यक्षतर्फ पर्सामा ४९ वटा दलले मत पाएका छन् । खम्बुवान लोकतान्त्रिक पार्टी नेपालले सबैभन्दा कम १२ मत ल्याएको छ ।

यस्तै पर्सामा प्रदेशसभाको समानुपातिकमा पनि फोरम नेपालले नै लोकप्रिय मत हासिल गरेको छ । फोरम नेपालले कुल ५१ हजार २ सय २० मत पाएको छ । दोस्रो स्थामा रहन सफल कांग्रेसले ४५ हजार २ सय ७३ मत बटुल्यो भने एमालेले १९ हजार २ सय ९८ मत पाएको छ ।

राजपा चौथो भएको छ । यसले १५ हजार ५ सय २३ मत प्राप्त गरेको छ । नेपाल संघीय समाजवादी पार्टीले १२ हजार १ सय २० मत ल्यायो । माओवादीले १० हजार ५ सय ९२, राप्रपाले ४ हजार १ सय ५४, राप्रपा प्रजातान्त्रिकले २ हजार ९ मत ल्याए ।

प्रदेश सभामा २९ वटा दलले मत पाएका छन् । सबैभन्दा कम मत मंगोल नेशनल अर्गनाईजेशनले ल्याएको छ । यसले पाएको मत मात्रै २६ छ ।

बारामा समानुपातिकमा काँग्रेसको राज

बारा जिल्लामा नेपाली कांग्रेस प्रतिनिधि र प्रदेश सभामा समानुपतिकतर्फ सर्वाधिक मत ल्याउन सफल भएको छ । बारामा ४ प्रतिनिधि सभामा कांग्रेसले एक स्थानमा मात्रै जीत दर्ता गराउन सफल भएको थियो भने प्रदेश सभामा कांग्रेसले कुनै पनि सिट जित्न सकेको थिएन ।

बाराका ४ प्रतिनिधि सभा सदस्यमा फोरमले २ स्थान र राजपाले १ स्थानमा जीत दर्ता गराएको थियो भने प्रदेश सभाका ८ सदस्यमा एमाले २, माओवादी केन्द्र १, राजपा २ र फोरम नेपाल ३ स्थानमा विजयी भएका थिए ।

कुल ३ लाख ४९ हजार ९ सय ४९ मतदाताले मतदान गरेको बारामा कांग्रेसले प्रतिनिधिसभामा ४९ हजार ९ मत पाएको छ भने प्रदेश सभामा ४५ हजार ९ सय ३१ मत प्राप्त गर्न सफल भएको छ । दोस्रो स्थानमा रहेको एमालले प्रतिनिधि सभामा ४३ हजार ३ सय मत पाएको छ भने प्रदेश सभामा ३८ हजार ९ सय ६३ मत पाएको छ ।

तेस्रो स्थानमा रहेको फोरम नेपालले प्रतिनिधिसभातर्फ ४२ हजार ५ सय ९२ मत बटुल्यो । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार, फोरमले प्रदेशसभामा ३८ हजार ८ सय ९३ मत ल्याएको छ ।

चौथोमा रहेको राजपा नेपालले प्रतिनिधिसभामा ३० हजार ५ सय ३६ र प्रदेशसभामा २७ हजार ६ सय ५३ मत ल्यायो । माओवादी केन्द्रले प्रतिनिधिसभामा पाएको मत १५ हजार ९ सय ७ छ भने प्रदेशसभातर्फ उसले १६१८१ मत बटुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment