Comments Add Comment

प्रसुतीमा डा. सरस्वती पाध्येका पाँच दशक

हरेक बच्चा जन्मँदा उनलाई लाग्छ, दुःख पाउन आयो

काठमाडौं । उनले अहिलेसम्म हजारौंलाई सुत्केरी गराइसकेकी छन् । र, त्यति नै शिशुलाई अंगालोमा बेरिसकेकी छन् । यस दौरान कैयौंका नाति, पनातिसमेत भइसके ।

सुत्केरीका सन्तानलाई आमाले भन्दा पहिलै आफूले हातमा लिन पाउँदा उनलाई कस्तो महशुस होला ? ‘कस्तो हुनु नि ? दुःख पाउन आयो भन्ने लाग्छ,’ वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. सरस्वती पाध्ये भन्छिन् ।

सन्तान जन्मिँदा अभिभावकमा हर्षोल्लास छाउँछ । छोरा जन्मिए त झन् उत्सवकै माहोल बन्छ । न्वारानदेखि पास्नीसम्मका पार्टी हुन्छन् । तर, डा. पाध्येको अनुभवी आँखाले हरेक नवजात शिशुको मुहारमा दुःख देखिरहेको हुन्छ ।

कसैकी छोरी जन्मिए यी स्त्रीरोग विशेषज्ञलाई ‘आमालेजस्तै दुःख पाउन आइन्’ भन्ने लाग्छ । छोरा जन्मिचाहीं मुलुकले विदेश पठाउने एउटा कामदार जन्मायो भन्ने लाग्छ ।

‘छोरा जन्मायो, हुर्कायो अनि खाडी मुलुकदेखि अमेरिका, बेलायतसम्म पठायो । जब भर्खर जन्मिएको छोरालाई हातमा लिन्छु, त्यसबेला मलाई वैदेशिक रोजगारीमा जाने एउटा उम्मेदवार पैदा गरियो भन्ने महशुस हुन्छ,’ उनी भनिछन् ।

‘व्यक्तिगत प्रश्न नसोधौं’

हामी उनको व्यक्तिगत जीवनको नालीबेली जान्न चाहन्थ्यौं । तर, उनले शुरुमै भनिन्, ‘व्यक्तिगत प्रश्न नसोध्नुहोला ।’

हाम्रो मनले मानेन । हिम्मत गरेर उनको जन्म मिति र स्थानबारे सोध्यौं ।

‘सन् १९३७, काठमाडौं,’ उनले यति मात्र भनिन् ।

‘काठमाडौंको कुन ठाउँमा हजूर,’ हामीले सोध्यौं ।

८० वर्षे उमेर र घुँडाको समस्याबीच उनी यति सक्रिय हुनुको रहस्य हो, थोरै खाने, धेरै काम गर्ने र आठ घण्टा सुत्ने ।

अबचाहीं डा. पाध्येको पारो तातिहाल्यो । ‘काठमाडौं भनेपछि भइहाल्यो नि,’ प्रश्न भुईंमा खस्न नपाउँदै डा. पाध्ये आवेशमा आइन् । हामीलाई ठूलै स्वरमा हकारिन् ।

‘मैले व्यक्तिगत प्रश्न नसोध्नु भनेको हैन ?’ उनले झर्किंदै भनिन् ।

उनको भावनाको कदर गर्दै हामी व्यक्तिगत जीवनमा प्रवेश गरेनौं । उनको जीवनका बारेमा यति मात्र सोध्यौं, ‘अबको यात्रा कहाँ ?’

‘जस्ट वेटिङ फर दी बस । जुन दिन माथिबाट बसको टिकट आउँछ, त्यस दिन खुरुक्क जाने हो,’ उनको जवाफ थियो ।

८० वर्षे ओज

बुढ्यौलो शरीर, सेताम्य कपाल । डा. पाध्ये यही मंसिरमा ७८ पुगेर ७९ वर्ष लागिन् । झण्डै ८० को हाराहारी ।

उनका श्रीमान बितेको पनि लामो समय भइसक्यो । छोरीहरु पनि विवाह गरेर विदेश गइसके । घरमा उनी एक्ली । छोरीहरु उनलाई बारम्बार आफूकहाँ आउन आग्रह गर्छन् । तर, उनी भने आफ्नो जीउज्यानले भ्याएसम्म नेपालमै बसेर बिरामीको सेवा गर्न चाहन्छिन् ।

यो उमेरमा पनि उनको जोशलाई मान्नैपर्छ । सक्रियताको अर्को नाम डा. पाध्ये भन्दा फरक पर्दैन ।

‘म त सबैले काम गरुन् भन्ने चाहन्छु । काम नगरी बस्यो भने दिमागमा अनेक कुरा खेल्न थाल्छ । त्यसैले, म आफैं पनि काम गर्छु र अरुले पनि काम नगरी बस्नु हुँदैन भन्ने मान्यता राख्छु,’ १६ वर्षदेखि केएमसी अस्पतालमा वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ तथा एसोसिएट प्रोफेसरका रुपमा कार्यरत डा. पाध्येले हाम्रो जिज्ञासा शान्त हुन नपाउँदै भनिहालिन् ।

२०२२ सालमा प्रसुती गृहबाट चिकित्सा सेवा थालेकी डा. पाध्येले जीवनको अमूल्य ५२ वर्ष विरामी र उनीहरुको उपचारमा समर्पित गरिसकेकी छन् ।

यसक्रममा वीर अस्पताल, नेपालगञ्ज, वीरगञ्ज, मातृ शिशु कल्याण परिषद्, प्रसुती गृहलगायत थुप्रै सरकारी अस्पतालमा सुपरिटेन्डेन्ट, निर्देशक भएर काम गरिसकेकी छन् ।

त्यति मात्र होइन, आफूले प्रसुती गराएका कैयौं महिलाका नाति/पनाति पनि देखिसकेकी छन् । प्रसुती गृहबाट अवकाश भएकै १६ वर्ष हुन लाग्यो ।

सक्रिय जीवनको सूत्र

सिनामंगलस्थित केएमसीमा डा. पाध्येलाई भेट्दा उनी भर्खरै घुँडाको फिजियोथेरापी सकेर क्याबिनतर्फ लम्किँदै थिइन् । उनलाई घुँडाको समस्या भएकोे धेरै भइसक्यो ।

‘बूढेसकालमा हड्डी खिइएपछि घुँडाको समस्या निम्तिनु त सामान्य हो,’ डा. पाध्येले भनिन् ।

ढल्कँदो उमेर र घुँडाको समस्याकै बीचमा पनि उनी यति सक्रिय हुनुको रहस्य के हो ?

‘थोरै खानुस्, धेरै काम गर्नुस् र आठ घण्टा सुत्नुस्, मजस्तै काम गर्न सक्नुहुन्छ,’ डा. पाध्यले भनिन् ।

उनी बिहान पाँच बजे उठ्छिन् । नियमित पूजापाठ गरी आठ बजे अस्पताल पुग्छिन् । अपरान्ह तीन बजे घर फर्किन्छिन् र करिब एक घण्टा सुत्छिन् । त्यसपछि साँझ पाँच बजेदेखि साढे ६ बजेसम्म डिल्लीबजारस्थित निजी क्लिनिकमा दैनिक ४/५ जना हेर्छिन् । र, राति ठीक नौ बजे सुतिसक्छिन् ।

शाकाहारी भोजन गर्ने डा. पाध्येलाई साँझबिहानको खानामा दाल, भात, तरकारी औधी मन पर्छ । दिउँसो उनी रोटी, तरकारी खान्छिन् । उनको बुझाइ छ, जति धेरै खायो, उति बोसो जम्मा हुन्छ । त्यसैले, उनी बाँच्नका लागि खान्छिन् र सकेसम्म कम खान्छिन्, धेरै काम गर्छिन् ।

पोषणमा समेत काम गरिसकेकी डा. पाध्येको बुझाइमा दाल, भातमा जति पोषण छ, त्यो अरु खानेकुरामा छैन ।

आउटडेटेड होइन, अपडेटेड

बूढेसकाल लागेरै होला, डा. पाध्ये धेरैका दृष्टिमा ‘आउट डेटेट डाक्टर’ हुन् । कतिपय मानिस त ‘त्यस्तो डेट एक्सापायर डाक्टरसँग पनि जचाउन जाने हो ?’ भन्नसमेत बाँकी राख्दैनन् ।

मानिसका त्यस्ता प्रतिक्रियालाई आफूले सामान्य रुपमा लिएको उनी बताउँछिन् ।

‘यो जीवनको प्रक्रिया हो, जसलाई कसैले चाँडो बुझ्छन्, कसैले ढिलो,’ उनी भन्छिन् ।

कतिपय विरामी अन्त उपचार सम्भव नभएपछि मात्र उनीकहाँ जँचाउन आउँछन् ।

‘जब कसैको भर्खर जन्मिएको छोरालाई हातमा लिन्छु, त्यसबेला मलाई वैदेशिक रोजगारीमा जाने एउटा उम्मेदवार पैदा गरियो भन्ने महशुस हुन्छ’

‘म विरामीहरुलाई जे भएको हो त्यही बताउँछु । तर, यहाँ कतिपय विरामी यस्ता पनि हुन्छ, जो पहिले अरु डाक्टरकहाँ जान्छन् र त्यहाँ उपचार सम्भव नभएपछि मात्र मकहाँ आउने गर्छन्,’ उनी भन्छिन् ।

जीवनको यस कालखण्डमा पनि यति सक्रिय भएर लाग्नु आफैंमा अनुकरणीय छ । उनी पोस्ट ग्रयाजुएटका विद्यार्थीलाई पनि पढाउँछिन् । साताको एक पटक शल्यक्रिया पनि गर्छिन् ।

विभिन्न अध्ययन अनुसन्धानमा सक्रिय छिन् । विरामीको उपचार पनि गर्छिन् । अहिलेको जमानामा आफूलाई सक्रिय राख्न सबै कुराको ज्ञान हुनु आवश्यक रहेको उनको कथन छ ।

‘विद्यार्थीलाई पढाउनकै लागि पनि आफूलाई अपडेट नगरी त हुँदै भएन । यति हो, युवाले दौडेजस्तो त हामी दौडन सक्दैनौं,’ उनी भन्छिन् ।

इन्टरनेटमा उपलब्ध लेख, रचना, विद्यार्थीले गरेका अध्ययन र अनुसन्धानका आधारमा उनी अपडेट हुने गर्छिन् ।

कहिलेकाहीं कस्तो अवस्था पनि आउँछ भने विरामी ‘यसले केही बुझेकै छैन’ भन्ने सम्झन्छन् र ‘दुख्यो दुख्यो’ भन्छन् । त्यतिबेला उनी चुप लागेर बस्छिन् । धेरै कराएपछि चाहीं उनी विरामीलाई ‘दुःखेको त ठीकै हो नि, नदुखे त लगेर पोलिहाल्छन् नि’ भन्छिन् ।

अनि, बल्ल बिरामी हाँस्न थाल्छन् । ‘दुख्या छ र त तिमी छौ । नत्र त पोले भइहाल्यो नि भनिदिन्छु’, उनले भनिन् ।

आयुर्वेदमा भर्ना नलिंदा…

सानैदेखि पढाइमा अब्बल डा. पाध्येको स्कुले जीवन कम रोचक छैन । कक्षा ५ मा पुगेर मात्र जीवनमै पहिलो पटक स्कुलमा पाइला टेकेकी डा. उनी सधैं प्रथम भइन् । डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रमबाट प्रथम श्रेणीमा १० कक्षा उत्तिर्ण गरेकी उनलाई त्यतिबेलासम्म ‘के पढ्दा के हुन्छ’ केही मेसो थिएन ।

कक्षा १० उत्तिर्ण गरेपछि आयुर्वेद भर्ना हुन आयुर्वेद कलेज पुगेकी थिइन् । तर, त्यहाँका शिक्षकले उनलाई आयुर्वेदमा भर्ना नै लिएनन् । बरु ‘राम्रो नम्बर आएको’ भन्दै चिकित्साशास्त्र पढ्न सुझाए ।

‘चिकित्सक बन्नु रहेछ अनि कहाँ आयुर्वेदमा भर्ना गर्थे त,’ उनले विगत सम्झिइन् ।

सोही क्रममा विद्यालयमा आफूलाई अंग्रेजी पढाउने शिक्षक डा. गोपालप्रसाद आचार्यको सल्लाहअनुसार उनी त्रिचन्द्र कलेजमा आईएस्सी भर्ना भइन् । उनलाई त्यतिबेलासम्म ‘साइन्स’ भनेकै थाहा थिएन ।

त्रिचन्द्र कलेजका ‘गांगुली सर’ले उनलाई ‘कैसे पढोगी साइन्स ?’ भनेर सोध्दा उनले ‘पढुँगी’ भनिन् । तर, उनलाई साइन्सका अल्फा-बिटा नै थाहा थिएन ।

संयोगबस्, त्रिचन्द्र भर्ना भएलगत्तै उनको भेट डा. सानुमाया दलीसित हुनपुग्यो । त्यसबेला डा. दलीकी दिदी दोस्रो वर्षमा अध्ययनरत थिइन् । उनकै मद्दतले दली, पाध्येलगायत छात्रा दुई वर्षमै आईएस्सी उत्तिर्ण गर्न सफल भए । तर, त्यो दुई वर्ष पनि उनका लागि ‘फलामको चिउरा’ चपाएभन्दा कम थिएन ।

आईएस्सीलगत्तै उनीलगायत २० जना छात्राले कोलोम्बो प्लानअन्तर्गत् शिक्षा मन्त्रालयको छात्रवृत्तिमा भारतको दरभंगा मेडिकल कलेजमा पढ्ने अवसर प्राप्त गरे ।

‘भारतमा पढ्ने अवसर त पाइयो तर त्यतिबेला हुनेखाने तथा सोर्सफोर्स भएकाहरु कोलकाता, नयाँदिल्ली, बम्बई जाँदा रहेछन् । नहुने भारेभुरेलाई चाहीं भारतको दरभंगा, पटना, जमसेदपुरलगायत पिछडिएका ठाउँमा पठाइँदो रहेछ,’ उनले भनिन् ।

भारतमा ६ वर्षको अध्ययन पूरा गरी काठमाडौं फर्केर उनी प्रसुती गृह, नेपालगञ्ज अस्पताल र वीर अस्पताललगायत स्वास्थ्य संस्थामा पाँच वर्ष काम गरिन् ।

सन् २०२८ सालमा शिक्षा मन्त्रालयकै छात्रवृत्तिमा बेलायती विश्वविद्यालयबाट प्रसुती तथा स्त्री रोग विषयमा मेम्बर अफ रोयल कलेज अफ अब्स्ट्रेसियन एन्ड गाइनोकोलोजी (एमआरसीओजी) उत्तिर्ण गरिन् ।

उपकरण होइन, अनुभव

बेलायतमा छँदा त्यहाँका चिकित्सकले उनलाई गाइनोमा प्रयोग हुने हाते संकेतले सम्झाउँदै ‘गो विथ दिस एन्ड दिस एन्ड यु डन्ट निड एनिथिङ’ भनेका थिए । त्यसको अर्थ हो, ‘दिमागी ज्ञान र गाइनोमा प्रयोग गरिने उपचार विधि तथा सीप लिएर जाऊ, यति भएपछि अरु केही चाहिँदैन ।’

हुन पनि, डा. पाध्येले पढेर फर्किंदा ०४५ सालतिर नेपालमा अल्ट्रासाउन्ड भन्ने थिएन ।

‘हामी डाक्टर र नर्सहरुले त्यही ज्ञानका आधारमा विरामीको रोग पत्ता लगाउँथ्यौं र विरामीको सहजै उपचार गथ्र्यौं,’ उनी भन्छिन् ।

अचेलका चिकित्सकहरुमा मिहिनेत नगर्ने प्रवृत्ति हाबी भएको उनी बताउँछिन् । ‘उनीहरु आफूमा भएको ज्ञान र सीप छाडेर उपकरणमै भर पर्न थालेका छन्,’ उनी भन्छिन्, ‘चाहिने जाँच पनि गरेको छ, नचाहिने पनि गरेको छ । कसै-कसैले त विरामी आउनासाथ मकै छोडाएझैं बिरामीलाई छोडाएर बाङबुङ बनाउँछन् । सानो समस्यामा पनि टाउकोदेखि खुट्टासम्मको जाँच गराउँछन् ।’

बेलायती चिकित्सकहरुले बाँदरलाई झैं एकोहोरो रटाउँथे । एक पटक ड्युटी हुँदा ८६ घण्टासम्म पनि ‘ननस्टप’ खटाइदिन्थे । ६ महिना निरन्तर दलाएपछि बल्ल एउटा केस हातमा दिन्थे । त्यो पनि आफ्नै निगरानीमा । त्यसरी १० वटा केस हेरेपछि विद्यार्थीलाई बल्ल एउटा केस दिन्थे ।

‘अहिले त चिकित्सकले नै चिट चोर्‍यो भन्ने सुनिन्छ,’ उनी भन्छिन् ।

बिरामी नै किताब

डा.पाध्येसित अन्तर्वार्ता लिनु एक दिनअघिको प्रसंग हो । मधुमेहपीडित एक महिला सुत्केरी बेथा लागेर केमसी पुगेकी थिइन् । त्यहाँ उपस्थित धेरै चिकित्सकले उनको शल्यक्रिया गर्नुपर्ने बताइरहेका थिए ।

डा. पाध्ये भने ती महिलाले सामान्य प्रसुतीबाटै बच्चा जन्माउनसक्नेमा अडिग थिइन् । नभन्दै, केही समयमै डा. पाध्येको मद्दतले ती महिलाले सामान्य तरीकाबाटै बच्चा जन्माइन् । त्यसमा उनका विद्यार्थी तथा अन्य चिकित्सकले पनि सहायता गरे ।

‘अहिलेका मानिस तातै खाऊँ, जल्दै मरुँजस्तो गर्छन् । ठीक भयो भने भयो, पछि जे सुकैहोस् भन्ने सोच्छन् । हामीले विरामीको उपचार गर्दा पछिसम्मको विचार गरेर काम गर्नुपर्छ,’ उनले भनिन् ।

यही कारण डा. पाध्येका दृष्टिमा बिरामी आफैंमा एउटा किताब हो ।

‘बिरामीलाई नजाँची र नजिकबाट नहेरी उसको बारेमा भन्न सकिँदैन । बिरामी हाम्रो किताब हो,’ उनी भन्छिन् ।

उनको विचारमा कुनै पनि चिकित्सकले विरामीलाई ध्यान दिएर सुन्नुपर्छ । उसको समस्यालाई नजिकबाट हेर्ने हो भने मात्र पनि रोगको समाधान आफैं निस्किन्छ ।

यस प्रसंगमा उनले सन् १९३० मा लेखिएको ‘सिफिलिस’ नामको ग्रन्थको उदाहरण दिइन् । ‘मिहिनेत नगरी र हरेक बिरामीलाई नजिकबाट नहेरी लेखिएको भए त्यो किताब सफल हुँदैनथ्यो, ठीक त्यसैगरी बिरामीलाई नजिकबाट हेरेर उनको समस्या बुझेकै कारण त्यस दिन बिनाशल्यक्रिया सामान्य प्रसुतीद्वारा नै ती महिलालाई सुत्केरी गराउन म सफल भएँ,’ उनले भनिन् ।

आफूलाई सगौरव बेलायती तालिमप्राप्त भन्न रुचाउने डा. पाध्येले थपिन्, ‘बेलायतीहरुले युज दिस एन्ड दिस भनेको त्यसै हो त ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment