Comments Add Comment

गजलकार शेरसिंहको कथा

तस्वीरः जक्सन डटकम

भदौको रापिलो घाममा तालु तताउँदै हिँड्दा साँझपख मात्रै म जोमसोम पुगें । जोमसोमसम्म आइपुग्दा जुलुम लामाको सोधखोजले जुलुम गर्‍यो । खासगरी, ५० नाघेका वृद्धवृद्धाले उसका बारेमा साँच्चिकै सुनेका रहेछन् । देखेका भने कसैले पनि रहेनछन् । जुलुम लामाको बुझाइ यस्तो रहेछः

जुलुम लामालाई संसारको सबै कालो विद्या आउँछ रे ! कहिले कपाल सर्लक्कै मुण्डन गर्छ रे ! कहिले पालेर लट्टालट्टा पार्छ रे ! कहिले पुलिस-आर्मीको जस्तो छोटो पार्छ रे ! खैरो रङको भद्दा मोटो न मोटो ओभरकोट लगाउँछ रे ! तर सबै मान्छेले त्यसलाई खैरो दैख्दैनन् रे !

कसैले हरियो, कसैले नीलो, रातो, पहेंलो, अथवा भनौं मनमा जे रङ आयो, त्यही रङ देख्छन् रे ! गर्मी याममा हिमालतिर जान्छ रे ! हिमालमा जानुको खास कारण गर्मी छल्न होइन रे ! ओभरकोट फुकाल्न नपरोस् भनेर जाडो खोज्दै उकालो लाग्ने हो रे !

रे लगाएर कुरा गर्दा तपाईंलाई झ्याउ लाग्यो होला । अब म रे नलगाई कुरा गर्छु । गाउँलेको भनाइ हो भन्दैमा रेमा कुरा गर्नु जायज पनि त होइन । मैले रे नलगाए पनि तपाईंलाई रे मै बुझ्न छुट छ । हुन त, संसारमा जति पनि रे नलगाएका कुरा छन्, खासमा ती पनि रे लगाएकै कुरा हुन् । यो रे महात्म्य छोडौं । आउनुहोस्, जुलुम लामाको बारेमा थप कुरा जानौं ।

जुलुम लामाको ओभरकोटको भित्री खल्तीमा खैनीको एउटा खाली बट्टा छ । बिजुली खैनीको बाटुलो बट्टा । त्यो बट्टाभित्र कैद गरेर उसले आफ्नो सम्पूर्ण कालो विद्या राखेको छ ।

खासमा, कालो विद्यालाई त्यत्तिकै राखेको छैन । बिरालोको एक कुरेत लामो बोसे आन्द्राको दुइटै मुख काँचो धागोले बाँधेको छ । बीच भागमा नेपाली कागतले बेरेर जन्तर पारेर लुकाएर राखेको छ ।

खैनीको बट्टा भुइँमा खस्नु हुँदैन । नत्र उसको कालो विद्या तत्कालै भष्म भएर जान्छ । खास, त्यही कारण उसले कहिल्यै ओभरकोट फुकाल्दैन, राति सुत्दा पनि लगाएरै सुत्छ । गर्मीको बेलामा जाडो खोज्दै हिमालतिर उक्लिने कारण त्यही थियो ।

घाँसापछि आउने टुकुचे गाउँमा बास बसेको थिएँ, एक दिन । नामै टुकुचे, टुचुक्क बसेर टुच्च नहानी मनै मानेन । जिब्रोमा रक्सी नपरेको पनि धेरै पो भएको थियो । भोलिपल्ट मार्फामा बस्ने गरी टुकुचेमै रात काट्ने निधो गरेको थिएँ । दिउँसोको दुई बजेको थियो । बिहीबार थियो, मलाई मन पर्ने बार ।

साँझ लोकल भट्टीमा एउटा मरन्च्याँसे गजलकार भेट भएको थियो ।

नाम: शेरसिंह बोहरा
वतन: पुतलीबजार, स्याङ्जा
उमेर: ३६ वर्ष
पेसा: माविको नेपाली शिक्षक

स्थानीय योगेन्द्र माविमा नेपाली पढाउने उसको जीवनको यू-टर्न मास्टरी पेसाले नै ल्याइदिएको रहेछ । घरका सबै जना निजामतीमा नाम निकालेर मालदार अड्डामा ढड्डा पल्टाउने र बन्द गर्ने जागिर खाँदै गर्दा शेरसिंह भने मास्टरीमा मस्त रहेछ ।

हुन त, जिन्दगीप्रतिको उसको गुनासो पनि यही नै रहेछ । दुई-दुई पटकसम्म अन्तर्वार्तामा फालिएपछि निजामतीको मति त्यागेको रहेछ, उसले । त्यसयता गजलकारको छवि निर्माणमा कसरत गर्दै आएको रहेछ ।

‘मित्र यता आ’को कति भो त ?’

‘भयो १० वर्ष । अब त फर्किनै मन मान्दैन ।’

‘बिहेबारी भो ?’

‘भयो । यतैकी थकाल्नीसँग भयो । पाँच वर्ष अगाडि यूके गएकी, उतै छे । म र छोरी थिएम् । पोहोरबाट छोरी पनि गई उतै ।’

‘भनेसी रित्तो जिन्दगी, सुख्खा ओछ्यान पो रहेछ । होइन ?’

‘भर्न जाने किन रित्तो हुन्छ र जिन्दगी ?’ गिलासको आधाजति झोललाई घ्याम्पे मार्दै उसले भन्यो, ‘ओछ्यान भनेको पनि त्यस्तै रहेछ मित्र । जति खोज्यो उति चाहिने, नखोजे बिर्संदै गइने ।’

गजलकार भावुक भयो । साहुनीको छोराले गिलासमा थप एक फुल झोल खन्याइदियो ।

रसिक गजलकारको दुःखका अध्याय वाचन नहुँदै प्रसंग मोड्नुपर्ने भो । एक त गजलकार, त्यसमाथि उसका पूराना दुःख सुन्नुपर्‍यो भने त बर्बादै हुन्छ । ‘माड्साबले जुलुम लामाको कुरा सुन्नु भा’छ ?’ कुराको हेतु बंग्याउने हेतुले मैले सोधें ।

अपत्यारिलो रुपमा गजलकार मास्टरले जुलुम लामाको भयानक लोकोक्ति सुनायो । लामाको कालो विद्याबारे उसले भनेको कुरा संक्षेपमा यस्तो थियोः

जुलुम लामाले आफ्नो कालो विद्या प्रयोग गरेर कथालोकको रचना गरेको छ । संसारका सबै मनुष्यलाई एक न एक दिन उसले कथालोक पुर्‍याउँछ, कथाको पात्र बनाएर ।
यो संसारका कुनै पनि आख्यानकारले जब कुनै आख्यानको कल्पना गर्छ, त्यही बेला आफ्नो कालो जादू लगाएर जुलुम लामा कथाकारको दिमागमा छिर्छ अनि कथाकारको कल्पनामा पुगेर आख्यानको लागि चाहिने पात्रहरुको छनोट गरिदिन्छ ।

उता, ती छनोट गरिएका पात्रहरु संसारको कुनै न कुनै कुनामा बसेका खाँटी मान्छे हुन्छन् । सक्कली मान्छे । कथाको पात्रमा छनोट हुनेबित्तिकै त्यो साँच्चैको मान्छेले आफ्नो सब कुरा बिर्सन्छ । फम्र्याट गरिएको कम्युटरको हार्ड डिस्कजस्तो ।

यहाँसम्म कि आफ्नो नाम, थर, वतन, चिनजानसमेत बिर्सिन्छ । त्यो पात्र बनाइएको मान्छेले त्यही-त्यही काम गर्छ, जुन-जुन काम उसको आख्यानकारले कल्पना गरेर लेख्छ । आम मान्छेहरु यस्ता पात्रलाईर् पागल भन्छन् ।

‘कुनै कुनै कथाकार अल्छि वा सिकारु पर्‍यो भने पात्र-मानवलाई सास्ती पो हुन्छ । अल्छि कथाकारले एउटै उपन्यास लेख्न ५/७ वर्ष लगाइदिन्छन् । विचरा मान्छे ५/७ वर्षसम्म कथालोकमा गुमनाम भएर बाँच्न विवश हुन्छ । सिकारु कथाकारले कल्पनाअनुसार ‘गर्दै नगर्दै’ गर्न विवश हुन्छन् । कम्प्युटरको डू-अनडूजस्तो ।’

गजलकार शेरसिंहले बडो डरलाग्दो व्याख्या गर्‍यो । अघिसम्म झ्याँक्नै आँटेको रक्सीको मातले झ्वाट्टै छोड्लाजस्तो भयो मलाई ।

‘कति पात्र-मानवलाई कथाकारले कथामै मार्दिन्छन् । त्यसरी मारिएकाहरु आफ्नो लोक फर्किनै पाउँदैनन् होला है ?’ मैैले जिज्ञासा जताएँ ।

‘विचराहरु साँच्चैको लोकमा आफू को थिएँ भन्नेसमेत थाहा नपाई मर्ने । यसरी मर्नेहरु साँच्चैको मर्छन् । वास्तविक संसारमा उसको लास मात्रै हुन्छ ।’

गजलकारले यसरी ठोकुवा गर्‍यो, मानौं ऊ जुलुम लामाको कथालोकको आधिकारिक न्यारेटर हो । ‘अनि, कथामा नमरेका मान्छेहरु जब साँच्चैको लोकमा फर्काइन्छन्, त्यसपछि भने उनीहरु कथालोकका सबै कुरा बिर्सन्छन् । संयोगले आफू नै पात्र भएको आख्यान पढ्न पुगे भने उनीहरुलाई त्यो आफ्नै कथा हो कि जस्तो लाग्छ रे !’ गजलकारले झन् तर्सायो ।

कतै म पनि जुलुम लामाको शिकार त भइरहेको छैन ? कतै अलेक्जेन्डर वालेटको चिठ्ठी त्यसकै सेरोफेरो त होइन ? मैले पूराना कुरा सम्झन खोजें । मेरो बाल्यकाल, बा-आमा, दिवंगत श्रीमती, मामाघरमा बसेर पढ्दै गरेकी आराध्या, जसले हिजो मात्रै मलाई फोन गरेकी थिई । सबैजना दुरुस्त सम्झना भए । मेरो दिमाग फम्र्याट भएकै थिएन । म सही लोकमा थिएँ । कथालोकमा थिइनँ । ढुक्क भयो मन ।

यस्तो मायावी तान्त्रिकलाई खोज्न म मायावी ठाउँ मुस्ताङमा थिएँ । चिठ्ठी भन्थ्यो, उसको ओभरकोटको खल्तीमा सधैं बैजनी रङको जंगली फूल हुन्छ । ठ्याक्कै त्यस्तो जंगली फूल, जुन मैले रारा ताल जाँदा पहाडमा देखेको थिएँ । तर त्यो फूल कस्तो थियो हँ ? नाम के हो, त्यो फूलको ?

(कला, साहित्य र दर्शनका विविध आयामा इतर-विचारसहित छापा-लेखनमा अलग परिचय बनाएका गनेस पौडेल र्‍यान्डम रिडर्स सोसाइटी, पोखराका परिकल्पनाकार हुन् । पैतलामार्फत् उनले उपन्यास लेखनमा राम्रो डेब्यु गरेका छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment