Comments Add Comment

प्रदेश नं. १ मा प्रादेशिक राजधानीका लागि रस्साकस्सी

धनकुटालार्इ प्रदेशकाे राजधानी बनाउनु पर्ने माग गर्दै गरिएकाे प्रदर्शन

२ पुस, बिराटनगर । प्रदेशको राजधानी आफ्नो क्षेत्रमा हुनु पर्ने माग राख्दै एक नम्बर प्रदेश अन्तर्गतका जिल्लाहरुमा प्रदर्शन हुन थालेको छ ।

पूर्वी पहाडी जिल्ला धनकुटा, सुनसरी र मोरङवासीले प्रदेशको राजधानी आफ्नो क्षेत्रमा हुनु पर्ने माग राख्दै आन्दोलन सुरु गरेका हुन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापा भने यस विषयमा मौन देखिएको छ ।

धनकुटामा प्रदर्शन

प्रदेशको राजधानीका लागि उपयुक्त रहेको भन्दै धनकुटेलीहरु सडक आन्दोलनमा उत्रिसकेका छन् ।

धनकुटावासीले क्षेत्रीय सदरमुकाम पनि भएकाले धनकुटा नै राजधानी हुनु पर्नेे तर्क राख्दै आएका छन् । भौतिक संरचनाले पूर्ण रहेकाले धनकुटाको विकल्प अरु स्थान हुन नसकने उनीहरुको दाबी छ ।

तर, अन्य जिल्लावासी पनि आ–आफ्नो ठाउँ प्रदेशको राजधानीका लागि उपयुक्त रहेको तर्क गर्दै आएका छन् ।

मोरङ र सुनसरीवासी पनि आफ्नो ठाउँमा प्रदेशको राजधानी नभएको खण्डमा आन्दोलन चर्काउने तयारीमा छन् ।

मोरङका सांसद्ले प्रधानमन्त्री बुझाए ज्ञापन–पत्र

मोरङको बिराटनगरका जनता प्रदेश राजधानीका लागि उपयुक्त संरचना र सुविधा भएको भन्दै राजधानी बिराटनगरमा राख्नु पर्ने माग राख्दै आएका छन् ।

प्रदेश नं. १ को राजधानी बिराटनगरमा हुनु पर्ने मागसहित शनिबार मात्रै नवनिर्वाचित सांसद्हरुले मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र समेत बुझाएका छन् ।

मोरङकै गोठगाउँस्थित पूर्वाञ्चल विश्व विद्यालयको भवनमा अस्थाई प्रदेशको राजधानी राख्न सकिने भन्दै सुन्दरहरैँचावासीले माग गरिरहेका छन् ।

प्रदेशको राजधानी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष लबिङ गर्न भन्दै बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुली राजधानी काठमाडाैंमा छन् । उनले बिराटनगरलाई राजधानी बनाउने पर्ने माग राख्दै आएका छन् ।

इटहरीलाई राजधानी बनाउन संघर्ष समिति

सुनसरीको इटहरीमा पनि प्रदेशको राजधानी राख्नु पर्ने भन्दै त्यहाँका उद्योगी, वुद्धिजीवीले माग अघि सारेका छन् ।

भौगोलिक रुपमा पनि सबै क्षेत्रको सुविधाका लागि इटहरी केन्द्र पर्ने भएकाले प्रादेशिक राजधानीका लागि इटहरी उपयुक्त रहेको दाबी उनीहरुको छ ।

प्रदेश नम्बर १ का मुख्य मन्त्रीका दाबेदार रहेका एमालेका सचिव भीम आर्चायको गृह जिल्ला समेत हो, सुनसरी ।

इटहरीलाई प्रदेशको राजधानी बनाउन उद्योग वाणिज्य संघ इटहरीको पहलमा समिति नै गठन भएको छ । इटहरी प्रदेशको राजधानी नभएको खण्डमा आन्दोलन चर्काउने समितिले चेतावनी दिएको छ ।

धरानलाई पनि प्रदेशको राजधानी बनाउनु पर्ने त्यहाँका नेता कार्यकर्ताको छ ।

पहिलो प्रदेशसभा स्थल अनिश्चित

सरकारले अहिलेसम्म प्रदेशको पहिलो सभा कहाँ गर्ने भन्ने विषयमा टुंगो लगाएको छैन ।  निर्वाचनको सम्पूर्ण परिणाम आएको २० दिन भित्रमा प्रदेशको पहिलो बैठक राख्नु पर्ने व्यवस्था छ ।

सरकारले हालै मात्र शहरी विकास मन्त्रालयका कर्मचारी सम्मेलित एक कार्यदल निर्माण गरेको थियो । जसलाई प्रदेशको पहिलो सभा गर्ने स्थान र प्रादेशिक राजधानीका लागि उपयुक्त संरचनाको खोजी गरी सरकारलाई प्रतिवेदन बुझाउन भनिएको थियो ।

कार्यदलले धनकुटा, इटहरी, बिराटनगर र गोठगाउँमा पुगी त्यस स्थानमा भएको भौतिक संरचनाको अवस्थाको बारेमा समेत अध्ययन गरेको छ ।

कार्यदलले भौतिक संरचनाको हिसाबमा मोरङको बिराटनगरलाई प्रादेशिक राजधानीका लागि उपयुक्त हुने भन्दै सरकारलाई प्रतिवेदन बुझाइसकेको छ ।

प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभाको दुई तिहाई बहुमतले निर्णय गरे अनुसार हुने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment