Comments Add Comment

प्रधानमन्त्री र पार्टी अध्यक्ष को हुन्छ ? ओली र प्रचण्डले दिए यस्तो जवाफ

हामी दुवै अध्यक्ष भइसक्यौं-ओली, हामी दुवै प्रधानमन्त्री भइसक्याैं-प्रचण्ड

२ पुस, काठमाडौं । पार्टी एकता पहिले कि सरकार गठन ? प्रधानमन्त्री केपी ओली बनेपछि एकीकृत पार्टीको अध्यक्षचाहिँ को ?

प्रधानमन्त्री र पार्टी अध्यक्ष आलोपालो गर्ने हो कि ? यस्ता धेरै प्रश्नहरुको जवाफ ओली र प्रचण्डले एकै मञ्चबाट दिने प्रयास गरेका छन् ।

उनीहरु दुवैले अध्यक्ष र प्रधानमन्त्री आफ्ना लागि महत्व एवं लोभको विषय नभएको प्रष्ट्याउने प्रयास गरेका छन् ।

आइतबार राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रचण्ड र ओलीलाई शुरुकै प्रश्न थियो- अब प्रधानमन्त्री को हुन्छ र पार्टी अध्यक्ष को हुन्छ ? पार्टी एकता पद बाँडफाँडकै कारण धकेलिने हो कि होइन ?

यसको जवाफ ओली र प्रचण्डले एकै शैलीमा दिए । शुरुमा पत्रकारको प्रश्नको जवाफ कसले दिने भन्ने बारेमा ओली र प्रचण्डबीच कानेखुसी भयो । त्यसपछि ओलीले भने- ‘पार्टी अध्यक्ष को हुने भनेर यो एकता भएको होइन । अध्यक्ष नै हुनका लागि त म एउटा पार्टीको अध्यक्ष छँदैछु, प्रचण्डजी अर्को पार्टीको अध्यक्ष हुनुहु्न्छ, हाम्रो अध्यक्ष पद त सुरक्षित नै छ नि ।’

पार्टी अध्यक्ष को बन्ने भन्ने कुराले एकता नरोकिने ओलीले प्रष्ट पार्न खोजे । उनले पार्टी एकताको प्रक्रिया शुरु भइसकेको बताए ।

[sam_list] केपी ओलीपछि बोलेका प्रचण्डले प्रधानमन्त्री को हुने भन्ने विवाद नरहेको प्रष्ट्याउन खोजे । प्रचण्डले भने- अरु कुरा केपीजीले भनिसक्नुभयो, उहाँले छुटाउनुको भएको एउटै कुरा म भन्छु- हामी दुवैजना प्रधानमन्त्री भइसकेका र सहजै प्रधानमन्त्री पद छाडेका व्यक्ति हौं ।

अध्यक्ष र प्रधानमन्त्री पदमा आफूहरुबीच विवाद नरहेको प्रष्ट पार्न ओली र प्रचण्डले पत्रकार सम्मेलनमा पटक-पटक प्रयास गरे ।
पहिलो लहरमा ओलीको छेउमा झलनाथ खनाल, बामदेव गौतम र ईश्वर पोखरेल बसेका थिए । त्यस्तै प्रचण्डको छेउमा नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा बादल थिए । पहिलो लहरमा हुनुपर्ने माधव नेपाल भने पत्रकार सम्मेलनमै थिएनन् ।

पार्टी एकताको प्रक्रियाका बारेमा भने दुबै नेताले सबिस्तार खुलाएनन् । पत्रकारले पार्टी एकता कसरी हुन्छ ? अहिले आएका फरक-फरक धारणा के हुन् ? भनेर नेताहरुलाई खेर्न खोजेका थिए । तर, दुवै नेताले ती प्रश्नको जवाफ दिन चाहेनन् । बरु पार्टी एकता संयोजन समिति नै पार्टी एकीकरणको शुरुवात हो भनेर पन्छिए ।

दुबै नेताहरुले आफूहरुका कारण पार्टी एकतामा बाधा नपर्ने सन्देश भने प्रष्ट रुपमा दिए । पत्रकार सम्मेलनमा अधिकांश प्रश्नको जवाफ ओलीले दिएका थिए भने प्रचण्डले छोटो समय मात्रै लिए । पत्रकार सम्मेलनको सञ्चालन एमाले उपाध्यक्ष भीम रावलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment