Comments Add Comment

सुपर ग्यास उद्योगमा भीषण आगलागीः दमकल जल्याे, २ अग्नि नियन्त्रकको मृत्यु

नजिकको बस्ती सारियो, आगो निभाउने प्रविधि छैन– प्रहरी

५ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ ।

आगलागीमा परी दुईजना अग्नि नियन्त्रकको मृत्यु भएको छ । जलेर गम्भीर घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ ।

ग्यास उद्योग नजिक रहेको बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

उद्योगमा ग्यास लिक भएर बुधबार बिहान सवा ६ बजेतिर आगलागी भएको हो । आगलागीमा परी दुई जना अग्नि नियन्त्रकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिए । उनीहरुको पहिचान खुलेको छैन ।

आगलागी हुँदाखेरि उद्योगभित्र कति मानिस थिए भन्ने एकिन भएको छैन ।

आगो नियन्त्रणका लागि गएको वीरगञ्ज महानगरपालिकाको एउटा दमकलसमेत जलेको छ । दमकल जल्दा त्यसका फायर म्यान सविन नेपाल घाइते भएका छन् ।

ग्यास सिलिण्डरहरु र ग्यास प्लान्ट पड्किरहेकाले अग्नि नियन्त्रकहरु नजिक जान सकेका छैनन् । नेपाली सेना, नेपाल प्रहरीहरु पनि करिब पाँच सय मिटर परै रोकिएका छन् । स्थानीयबासीलाई पनि नजिक जान दिइएको छैन ।

ग्यास लिक भएको खबर पाउनासाथ दमकल उद्योगमा पुगेको र पानी फाल्न मेशिन स्टार्ट गर्नासाथ आगो लागेको प्रहरी हबल्दार ब्रहृमनारायण जैसवालले बताए ।

आगलागी फैलने जोखिम बढेपछि ग्यास उद्योगभन्दा करिब ५ सय मिटर टाढा रहेको बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । वरपर रहेका अन्य उद्योगहरुमा पनि सतर्कता अपनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी सिंहले अनलाइनखबरसँग भने,  ‘हाम्रो स्रोतसाधान र क्षमताले नभ्याउने भएपछि भित्र पस्ने अवस्था छैन । आगो निभाउन सकिएको छैन । हामीले बाहिरको बस्ती सार्ने तर्फ ध्यान केन्द्रित गरेका छौं ।’

सो ग्यास उद्योग अब्दुलखेर अन्सारीको हो । उनी काठमाडौंमा रहेकाले वीरगञ्ज बोलाइएको प्रजिअ सिंहले जानकारी दिए ।

यसैवीच घटनास्थलमा खटिएका सुरक्षाकर्मीले ग्यासमा सल्किएकाे अागाे निभाउने एक प्रकारकाे केमिकल हुने भन्दै त्यस्तो प्रविधि नभएको प्रतिक्रया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment