News Summary
Generated by OK AI. Editorially reviewed.- यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक हुथीले साउदी राजधानी रियादलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको छ ।
- अमेरिकी विदेश मन्त्रालयले साउदी अरब र हुथीबीच द्वन्द्व थप तीव्र हुन सक्ने भन्दै मध्यपूर्वबाहिरका अमेरिकीलाई यात्रा पुनर्विचार गर्न आग्रह गरेको छ ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्याम्प डेभिडको बसाइ छोट्याएर शनिबार अप्रत्याशित रूपमा ह्वाइट हाउस फर्किएका छन् ।
४ असोज, रियाद (रासस/एएफपी)। यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी रियादलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण भएको छ । आक्रमणपछि साउदी अरब र इरान–समर्थित हुथी विद्रोहीबीच द्वन्द्व थप तीव्र हुन सक्ने अमेरिकाले शनिबार चेतावनी दिएको छ ।
अमेरिकी विदेश मन्त्रालयले सैन्य द्वन्द्व बढ्न सक्ने भन्दै मध्यपूर्वबाहिर रहेका अमेरिकी नागरिकलाई यस क्षेत्रमा भ्रमण वा यात्राबारे गम्भीरतापूर्वक पुनर्विचार गर्न आग्रह गरेको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेरिल्याण्डस्थित क्याम्प डेभिडमा बिताइरहेको सप्ताहन्तको बसाइ छोट्याएर शनिबार अप्रत्याशित रूपमा ह्वाइट हाउस फर्किएका छन्। ह्वाइट हाउसले उनको फिर्तीको कारण भने सार्वजनिक गरेको छैन ।
शनिबार बिहान रियादमा दुई पटक ठूलो विस्फोटको आवाज सुनिएको थियो । एएफपीका पत्रकारले विमानस्थलनजिकै साउदी तेल कम्पनी अरामकोको लोगो भएको इन्धन ट्याङ्कीमा आगलागी भएको देखेका थिए ।
साउदी नेतृत्वको गठबन्धनले हुथीहरूले रियादतर्फ प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्रलाई सफलतापूर्वक रोकिएको र नष्ट गरिएको जनाएको छ । गठबन्धनका अनुसार हुथीहरूले पश्चिमी साउदी अरबका विभिन्न सहरमा नागरिक तथा नागरिक पूर्वाधारलाई लक्षित गर्ने प्रयास गरेका थिए । यसमा लाल सागरस्थित साउदी तेल निर्यातको महत्वपूर्ण केन्द्र यान्बु बन्दरगाह पनि समावेश थियो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले साउदी आक्रमणको जवाफमा ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोन प्रयोग गरी दुईवटा सैन्य कारबाही गरिएको बताएका छन्। उनका अनुसार एउटा आक्रमण रियादका संवेदनशील स्थल र अर्को यान्बुस्थित अरामकोका संरचनालाई लक्षित गरिएको थियो ।
रियादका बासिन्दालाई बिहान ३ बज्नुअघि पठाइएको सुरक्षा सूचनामा सम्भावित हवाई खतराका कारण घरभित्रै बस्न आग्रह गरिएको थियो । त्यसपछि स्थानीय बासिन्दाले राजधानीका विभिन्न भागमा विस्फोटका आवाज सुनेको बताएका छन् ।
यो घटनाअघि साउदी अरबले हुथीहरूले इस्लामको पवित्र सहर मक्कालाई लक्षित गरेको आरोप लगाएको थियो । हुथीहरूले भने उक्त आरोप अस्वीकार गर्दै त्यसलाई झुटो दाबी बताएका छन् ।
सन् २०१४ मा हुथीहरूले राजधानी साना लगायतका क्षेत्र कब्जा गरेपछि यमनमा गृहयुद्ध सुरु भएको थियो । त्यसको एक वर्षपछि साउदी नेतृत्वको गठबन्धनले सैन्य हस्तक्षेप गरेको थियो । सन् २०२२ मा भएको युद्धविराम कमजोर रूपमा कायम रहे पनि जुलाईमा पुनः द्वन्द्व चर्किएको जनाइएको छ ।
यसैबीच, अमेरिकी विदेश मन्त्रालयका अनुसार वासिङ्टनले साउदी अरबलाई सम्भावित खतराबाट जोगाउन सहयोग गर्ने उद्देश्यले २४ अर्ब ३० करोड डलर मूल्यका ४८ वटा एफ–३५ लडाकु विमान बिक्री गर्न स्वीकृति दिएको छ ।
प्रतिक्रिया 4