Comments Add Comment

किन मिल्दैनन् बाबुराम भट्टराई र रविन्द्र मिश्र ?

वैकल्पिक धार दाबी गर्ने दलकै वीचमा बेमेल

६ पुस, काठमाडौं । परम्परागत पार्टीहरुको विकल्प दिने भन्दै डा. बाबुराम भट्टराई र रविन्द्र मिश्रले स्थापना गरेका दुईवटा नयाँ दलहरुवीच एकीकरण सम्भव होला ? यो प्रश्न सामाजिक सञ्जालमा उठ्न थालेसँगै दुबै दलका शीर्षनेताले एकताको हल्ला सही नभएको प्रतिक्रिया दिएका छन् ।

देशमा यतिबेला वामपन्थी र दक्षिणपन्थीहरुको गठबन्धन बनिरहेको छ । यही बेलामा नयाँ वैकल्पिक धार बनाउने भन्दै नयाँ दल खोलेका डा. भट्टराई र रविन्द्र मिश्र भने बेग्लाबेग्लै चुनाव लडेर राष्ट्रिय पार्टी बन्नबाट बञ्चित भएका छन् । यस्तो अवस्थामा वैकल्पिक राजनीतिको एउटै उद्देश्य बोकेका डा. भट्टराई र मिश्रले पार्टी एकता गर्नुपर्ने सुझावहरु पनि सामाजिक सञ्जालमा आउन थालेका छन् ।

तर, पार्टी एकताको हल्ला चल्नासाथ मिश्र र डा. भट्टराई दुबैजना टक्टकिएका छन् । आखिर किन मिल्दैनन् रविन्द्र मिश्र र बाबुराम भट्टराई ? उनीहरुले नेतृत्व गरेको नयाँशक्ति र विवेकशील साझा पार्टीमा त्यस्तो आनका तान फरक के छ, जसले उनीहरुलाई पार्टी एकताको नजिकसम्म जान दिँदैन ?

यसबारे विश्लेषण गर्नुअघि पार्टी एकताबारे मिश्र र डा. भट्टराई के भन्छन् भन्नेबारेमा चर्चा गरौंः

एकीकरणमा दुबै नेताको अरुची

नयाँशक्ति पार्टी र विवेकशील साझा पार्टीको एकताको चर्चाबारे रविन्द्र मिश्रले यस्तो ट्विट गरे- ‘केही अनलाइन पत्रिकाहरुमा नयाँशक्तिका नेता बाबुराम भट्टराईसँग दुई पार्टीको एकताबारे मेरो कुराकानी भएको भनी आएको समाचारमा कुनै सत्यता छैन ।’

रविन्द्र मिश्र र डा. भट्टराईवीच दोहोरो सम्वादसमेत भइरहेको छैन । मिश्रले आफ्नो टि्वटमा यो पनि खुलासा गरेका छन् कि उनले बाबुराम भट्टराईसँग सम्वाद गर्नु त परैजाओस् उनलाई चुनाव जितेकोमा बधाइसम्म दिएका छैनन् ।

मिश्रले टि्वटरबाटै डा. भट्टराईलाई बधाइ दिँदै भनेका छन्- ‘बरु बाबुरामजीलाई चुनावी विजयपछि मैले बधाइ दिन पाएको थिइनँ । यसै टि्वटमार्फत उहाँलाई बधाइ तथा शुभकामना पनि दिन चाहन्छु ।’

उता, सामाजिक सञ्जालमा केही अविश्वसनीय खबरहरु शेयर हुन थालेपछि रविन्द्र मिश्रलेजस्तै डा. बाबुराम भट्टराईले पनि खण्डन गरेका छन् । डा. भट्टराईले रविन्द्र मिश्रसँगको पार्टी एकताबारे नकारात्मक जवाफ दिएका छन् ।

बाबुरामका स्वकीय सचिव विश्वदीप पाण्डेले आफ्नो फेसबुकमा केही समाचारहरुको लिंक शेयर गरेका छन्, जसमा वैकल्पिक राजनीति केटाकेटी खेल होइन भन्दै अहिले पार्टी एकताको हल्लाका पछि नलाग्न डा. भट्टराईको सन्देश उधृत गरिएको छ ।

चुनावमा दुबैलाई झड्का

नयाँशक्ति पार्टी र विवेकशील साझा पार्टी दुबैले यसपालिको चुनावमा ३ प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्ने लक्ष राखेका थिए । तर, दुबै पार्टीहरु राष्ट्रिय दल बन्न सकेनन् ।

मिश्र र भट्टराईलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणामले लक्ष्य अनुसारको नतिजा दिएन । यद्यपि डा. भट्टराई नेतृत्वको नयाँ शक्तिको तुलनामा मिश्र नेतृत्वको साझा विवेकशील पार्टीले बढी भोट पायो ।

नयाँ शक्तिका अध्यक्ष भट्टराईले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सिट जित्न सफल भए । साझा विवेकशीलले काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसलाई टक्कर दियो । तर, थोरै भोटले पराजित भयो ।

एकता गर्नैपर्छ, गर्नैहुँदैन !

नयाँ शक्ति र साझा विवेकशीलबीच एकताको चर्चा चुनाव अघिदेखि नै चलेको थियो । यो एकताको बाहिरी चर्चा चुनावको परिणाम घोषणा भइसक्दासम्म पनि जारी नै छ । पुराना पार्टी र नेताहरुबाट वाक्क भएकाहरु तथा खासगरी नयाँपुस्ता यी दुई पार्टीको एकता भएको हेर्न चाहन्छन् भन्ने कुरा सामाजिक सञ्जालका प्रतिक्रियाबाट पनि बुझ्न सकिन्छ ।

जस्तो- रविन्द्र मिश्रले पार्टी एकताको हल्ला सत्य हैन भनेर गरेको टि्वटमा मेन्सन गर्नेहरुमध्ये अधिकांशले बाबुराम र रविन्द्र मिश्रवीच पार्टी एकता हुनुपर्ने बताएका छन् । केहीले चाहिँएकता गर्नै नहुने सुझाव दिएका छन् ।

पुनम पोखरेलले एकतामै बल हुने भन्दै पार्टी एकीकरण गरी डा. भट्टराईसँग एकढिक्का भएर अघि बढ्न रविन्द्र मिश्रलाई टि्वटरमार्फत सुझाव दिएकी छन् । पुराना शक्तिसँग जनता आजित भैसकेको भन्दै उनले लेखेकी छन्- ‘पार्टी एकीकरण गरेर बाबुराम सरलाई नि लिएर एक ढिक्का भएर अघि बढ्नुस् पुराना शक्तिसँग जनता आजित भैसके ।’

त्यसैगरी प्रदुम्न उपाध्याय पनि रविन्द्र मिश्र र डा. बाबुराम भट्टराई दुबैलाई पार्टी एकताको सुझाव दिँदै भन्छन्- ‘तपाईहरु मिलेको राम्रो ।’

रमेश दवाडीको तर्क छ- ‘पार्टी एकता गरेर अघि नबढे दुबै सकिन्छन् । कांग्रेस, एमाले र माओवादीको हालिमुहाली भैरहन्छ । १ र २ सिट जितेर के हुन्छ ? आवाज सानो हुन्छ, कसले सुन्छ ? बुद्धि भए एकता गर, होइन भने लछारपाटो केही हुन्न ।’

उता अनिल शर्माको भने नयाँ पार्टीमा पुरानाको प्रवेश हुन नहुने मत छ । उनले लेखेका छन्, ‘विवेकशीलमा आज जति आशा छ त्यो सबै नयाँ जोश जाँगर र सोचका युवाहरुले गर्दा हो । यदि पुराना नेता र पुराना पार्टीका युवा नेता प्रवेश भए सबै चैट हुन बेर नलाग्ला ।’

राई सन्तोष मेवाहाङको ट्वीटर ह्याण्डलबाट भने अहिले एकताको कुरा गर्नु असान्दर्भिक हुने भन्दै संगठन बिस्तारमा ध्यान दिन मिश्रलाई सुझाव दिइएको छ ।

बाबुराम र रविन्द्र मिश्र दुबैले  पुराना शक्तिको विकल्पमा नयाँ वैकल्पिक धार बनाउने भनेका छन्, दुबै दलका नेताहरुको भनाइ सुन्दा उनीहरुको गन्तव्य एउटैजस्तो देखिन्छ

अशोक न्यौपानेले पनि बाबुरामसँग पार्टी एकता नगर्न रविन्द्र मिश्रलाई सुझाव दिएका छन् । न्यौपानेले लेखेका छन्- ‘नेपालमा जातीय आधारमा राज्य भनेको द्वन्द्वको बीउ र समृद्धिको बाधक हो, जातीय राज्यको पक्षमा बाबुराम भट्टराई रहिरहेसम्म विवेकशील साझा मात्र हैन, कसैले पनि बाबुराम भट्टराईसँग एकता त परको कुरा, सहकार्य गर्नु पनि देशका लागि घातक हुन जान्छ ।’

बाबुराम भट्टराई र रविन्द्र मिश्र दुबैले मुलुकमा पुराना शक्तिहरुको विकल्पमा नयाँ वैकल्पिक धार बनाउने भनेका छन् । नयाँ राजनीतिक विकल्प दिने दुबै दलका नेताहरुको भनाइ सुन्दा उनीहरुको गन्तव्य एउटैजस्तो देखिन्छ । तर, उनीहरुले अझैसम्म एकताको प्रयास त के, सहकार्यको  जमर्को  समेत गरेको देखिँदैन ।

विवेकशीलबारे बाबुराम के भन्छन् ?

सुशासनको मुद्दामा  विवेकशील साझा र नयाँशक्ति पार्टीवीच सहकार्य हुन सक्ने डा. बाबुराम भट्टराईको भनाइ छ

चुनाव सकिनासाथ अनलाइनखबरलाई दिएको अन्तरवार्तामा डा. बाबुराम भट्टराईले विवेकशील साझा पार्टीको यसरी आलोचना गरे-‘उहाँहरुले एउटा सुशासनको मुद्दा उठाइराख्नुभएको छ, यसका लागि आर्थिक विकासको एउटा मोडेलको आवश्यकता पर्छ । यसका साथै जातीय क्षेत्रीय विविधतालाई सम्वोधन गर्नुपर्छ । संविधानलाई सर्वस्वीकार्य बनाउन भूमिका खेल्नुपर्छ र भूराजनीतिक जटिलताको सन्तुलित समाधान खोज्नुपर्छ भन्ने लगायतका विषयमा उहाँहरुसँग त्यति स्पष्टता छैन ।’

विवेकशील साझा पार्टीबारे डा. भट्टराईको थप प्रतिक्रिया छ- ‘सुशासनको मुद्दा उठाएको हुनाले उहाँहरुले शहरिया मध्यम वर्गलाई आकर्षित गर्नुभएको छ । तर, नेपालमा चाहिँ शहरिया मध्यम वर्गले मात्रै पुग्दैन । नेपालमा जुन वर्गीय, जातीय, क्षेत्रीय जुन विविधता छ, यसलाई नै नसमेटिकन वैकल्पिक धार बन्छ जस्तो मलाई लाग्दैन ।’

तैपनि सुशासनको मुद्दामा  विवेकशील साझा र नयाँशक्ति पार्टीवीच सहकार्य हुन सक्ने भट्टराईको भनाइ छ । उनी भन्छन्- ‘उहाँहरुसँग पनि अब हामीले आवश्यकताअनुसार सहकार्य गर्न सक्छौं ।’ (बाबुरामको अन्तरवार्ता)

बाबुरामबारे विवेकशीलका नेता के भन्छन् ?

हामीले विवेकशील साझा पार्टीका केही नेतालाई सोधेका थियौं- ‘बाबुरामको नयाँशक्तिसँग तपाईहरुको एकीकरण सम्वभ छ कि छैन ?’

जवाफमा नेताहरुले भने कि विवेकशील साझा पार्टी बाबुराम भट्टराईले जसरी अर्को पार्टीमा टाँसिएर चुनाव लड्न जाँदैन ।

साझा पार्टीका रविन्द्र मिश्र र विवेकशील नेपालीका उज्जवल थापा ।

बाबुराम भट्टराई माओवादी पृष्ठभूमिबाट आएका हुनाले उनीभित्र अझै पनि माओवादीको ह्याङओभर बाँकी छ र यसलाई आफ्नो पार्टीका कार्यकर्ताले रुचाउँदैनन् भन्ने विवेकशील साझा पार्टीका नेताको बुझाइ देखिन्छ ।

तैपनि बाबुराम भट्टराईसँग रविन्द्र मिश्रले खुलेर छलफल गर्दा के हुन्छ ? यस्तो प्रश्नको जवाफमा विवेकशीलका नेता भन्छन्-‘ हामीलाई बाबुरामजीसँग त्यसरी छलफल गर्न डर लाग्छ । किनभने उहाँका कार्यकर्ताले एकता हुनै लाग्यो भन्दै तस्वीर खिचेर फेसबुकमा हाल्दिइहाल्छन् ।’

के छ फरक ?

नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराईले आफूले माओवाद र कम्युनिष्ट सिद्धान्त छाडिसकेको बताएका छन् । उनले आफ्नो दलको धार वाम-लोकतान्त्रिक हुने बताएका छन् । र, ‘पाँच स’ को सिद्धान्त अघि सार्दै सुशासनको पक्षमा वकालत गरेका छन् ।

विवेकशील साझा पार्टीले पनि ‘सेन्टर लेफ्ट’ को लाइन अघि सारेको छ, जुन बाबुरामले भनेको ‘वाम लोकतान्त्रिक’ धारसँग खासै फरक देखिँदैन

उता विवेकशील साझा पार्टीले पनि ‘सेन्टर लेफ्ट’ को लाइन अघि सारेको छ, जुन बाबुरामले भनेको ‘वाम लोकतान्त्रिक’ धारसँग खासै फरक देखिँदैन । यसका अतिरिक्त दुबै दलहरुले सुशासनको मुद्दा उठाएका छन् । र, समृद्धि आफ्नै पालामा हेरेर मर्ने उस्तै उस्तै नारा उठाएका छन् ।

तर, धेरै विषयमा समानता हुँदाहुँदै पनि रविन्द्र मिश्र र बाबुराम भट्टराईमा केही ‘इगो प्रोब्लम’ जस्तो देखिन्छ, जसले उनीहरुलाई नजिक हुन दिँदैन ।

यद्यपि यस्तो मनोवैज्ञानिक संकीर्णताका साथै कार्यनीतिगत र नीतिगत प्रश्नमा पनि सामान्य भिन्नता देखिँदै आएको छ । जस्तो कि- रविन्द्र मिश्रको पार्टीले शहरका मुद्दा बढी उठाएको छ र उनको पार्टी बढी काठमाडौं केन्द्रित छ । बाबुराम भट्टराईको पार्टीले काठमाडौंमा खासै ध्यान दिएको पाइँदैन र सो पार्टीको जनाधार गोरखा लगायत मोफसलमा बढी केन्द्रित देखिन्छ ।

मिश्रको पार्टीले युरोप अमेरिकामा बस्ने नेपालीहरु र तिनका परिवारजनको भावना जित्ने कोशिस गरेको पाइन्छ भने भट्टराईको पार्टीले निम्न, मध्यम र अरबको भूमिमा काम गर्ने वर्गको समस्यालार्इ समात्न खोजेको जस्तो देखिन्छ । यस अर्थमा व्यवहारतः दुबै दलको टार्गेट ग्रुप केही भिन्नजस्तो देखिन्छ ।

आगामी दिनमा रविन्द्र मिश्रको पार्टीले कांग्रेस र एमालेसँग दुरी बनाइराख्ने अनुमान लगाउन जति सजिलो छ, बाबुराम भट्टराईले चाहिँ वाम गठबन्धनसँग मिलेर सरकारमा पो भाग लिने हुन् कि भन्ने आशंका गर्ने त्यति नै ठाउँ दिएको छ विगतको कार्यनीतिक उतार-चढावले

रविन्द्र मिश्रको दलले पहिचान, मधेस लगायत वर्गीय जातीय प्रश्नलाई त्यति महत्व दिँदैन । तर, बाबुराम भट्टराईको दलले मधेसी, थारु लगायतको पहिचानका बारेमा जोड दिएको देखिन्छ । संविधान संशोधनको प्रश्नमा जोड दिएको देखिन्छ । यी दुई भिन्ततालाई ठीक या बेठीक भन्ने समुदाय पनि देशमा विचारधारात्मक रुपमै दुई ध्रुवमा विभाजित छ, जसले मिश्र र डा. भट्टराईका दुई दललाई नजिक आउन दिँदैन ।

गत चुनावमा मिश्रको पार्टी एक्लै चुनाव लड्यो, कांग्रेस र एमालेसँग कुनै सहकार्य गरेन । तर, डा. भट्टराईले कहिले वाम गठबन्धन त कहिले कांग्रेससँग सहकार्य गर्ने नीति लिए । यस अर्थमा मिश्र कांग्रेस र एमालेसँग सम्झौताहीन नीतिमा देखिन्छन् भने डा. भट्टराई सम्झौतापरस्त देखिएका छन् ।

आगामी दिनमा रविन्द्र मिश्रको पार्टीले कांग्रेस र एमालेसँग दुरी बनाइराख्ने अनुमान लगाउन जति सजिलो छ, बाबुराम भट्टराईले चाहिँ वाम गठबन्धनसँग मिलेर सरकारमा पो भाग लिने हुन् कि भन्ने आशंका गर्ने त्यति नै ठाउँ दिएको छ विगतको कार्यनीतिक उतार-चढावले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment