+
+
Shares

बाबुरामको नयाँ लाइनः एकाध वर्ष हेरौं, पुराना काम लाग्दैनन्

थ्रेसहोल्ड नकटे पनि राष्ट्रिय पार्टी भन्ने दाबी

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २४ गते २:०१


२४ मंसिर, काठमाडौं । गोरखा २ मा चुनाव जितेपछि डा. बाबुराम भट्टराईलाई हामीले केही राजनीतिक परिस्थितिबारे कुरा गर्न खोज्दा उनले प्रचण्डको नाम नलिइकन गुनासो गरे- ‘मलाई साथीहरुले अन्याय गर्नुभएकै हो । तैपनि नारायणकाजी जीप्रति मेरो सम्मान नै छ । उहाँ चाहिने व्यक्तित्व नै हो । उहाँ हार्दाखेरि दुःखको अनुभूति भएको छ ।’

हाम्रो चासो अब संसदमा डा. बाबुराम भट्टराईको भूमिका कस्तो रहन्छ भन्ने थियो । कांग्रेससँग नयाँशक्तिको सहकार्य जारी रहन्छ कि डा. भट्टराई वाम गठबन्धनतिर लाग्छन् ? यिनै प्रश्नहरु हामीले डा. भट्टराईलाई सोध्यौं ।

जवाफमा डा. भट्टराईले यो चुनावमा जनताले ‘पुराना शक्ति’ लाई अन्तिमपटक अवसर दिएको बताए । तर, अब एकाध वर्षपछि जनताले वैकल्पिक शक्तिको खोजी गर्न थाल्ने उनले दाबी गरे । डा. भट्टराईसँग अनलाइनखबरले गरेको कुरकानीः

गोरखा २ बाट चुनाव त जित्नुभयो, तर जित निकाल्न कत्तिको गाह्रो भयो ?

यो अप्ठ्यारो बेला थियो । बडो आँधी हुरी चलेका बेलामा, निकै गाह्रो थियो । यसपालिको चुनाव, नकारात्मक अर्थ त नलागोस्, जुन प्रकारको राष्ट्रिय माहौल, बन्यो, यतिबेलाको परिस्थितिमा अलिकति कठिनाइ नै थियो ।

तैपनि जितेकोमा पक्कै खुशी लागेको होला नि ?

जितेर मलाई जिम्मेवारीवोध भएको छ । गोरखालाई मैले आफ्नो कार्यक्षेत्र बनाउँदै आएको थिएँ । जनताले फेरि मलाई जिम्मेवारी दिए । त्यसैले मलाई व्यक्तिगत रुपमा हर्ष र विस्मात भन्दा पनि जिम्मेवारीवोधको अनुभूति भएको छ ।

आफ्नै पूर्वसहकर्मीसँग प्रतिस्पर्धा गर्नुपर्दा कस्तो अनुभूति भयो ?

मलाई साथीहरु (प्रचण्ड, नारायणकाजी) हरुले अन्याय गर्नुभएकै हो भन्ने अनुभूति भएको थियो क्या । किनभने, म जुन ठाउँमा जन्मिएँ, हुर्किएँ, त्यो ठाउँसँग जोडिएर बसेको मान्छेलाई सम्बन्ध कटाउने ढंगले निकट साथीहरुले भूमिका खेल्नुभो । तैपनि प्रतिस्पर्धामा आइसकेपछि लाग्नुपर्छ भनेर म लागें ।

आफ्ना प्रतिस्पर्धी नारायणकाजी श्रेष्ठलाई तपाई के भन्नुहुन्छ ?

उहाँले मलाई बधाइ पनि दिइसक्नुभएको छ । नारायणकाजी जीप्रति मेरो सम्मान नै छ । उहाँ (संसदलाई) चाहिने व्यक्तित्व नै हो । मैले उहाँलाई सुझाव पनि दिएको थिएँ, तपाई अर्को ठाउँबाट उठ्नुहोस्, एकै ठाउँबाट उठ्दाखेरि एक जनाले हार्ने सम्भावना हुन्छ । लोकतन्त्रमा एकै ठाउँबाट दुईटैले जित्ने प्रावधान हुँदैन भनेर मैले सुझाव पनि दिएको थिएँ । तर, उहाँ किन यहाँ आउनुभयो, यसमा उहाँ हार्दाखेरि दुःखको अनुभूति भएको छ ।

चुनावको परिणाम आइरहेको छ । वाम गठबन्धनले बहुमत ल्याउने पक्का भएको छ । कांग्रेस र लोकतान्त्रिक गठबन्धनले हार व्यहोरेको छ । यो परिस्थितिलाई तपाई कसरी विश्लेषण गर्नुहुन्छ ?

हामी त पुराना शक्तिहरुको विकल्प दिनुपर्छ भनेरै हिँडेका नयाँ शक्ति पर्‍यौं । त्यसैले रणनीतिक र दीर्घकालीन ढंगले देशमा एउटा वाम-लोकतान्त्रिक शक्ति चाहिन्छ, जसले राष्ट्रिय विविधताको सम्वोधन गरोस् । भूराजनीतिक सन्तुलनलाई ख्याल गरोस् र अत्यन्त अविकसित अवस्थाको अर्थतन्त्रलाई अगाडि बढाउनका निम्ति नयाँ नीति अंगीकार गरोस् । यही भनेरै लागेको हुनाले यी पुराना शक्तिहरुबाट खासै काम होलाजस्तो त लाग्दैन ।

लोकतन्त्रलाई अझ समृद्ध बनाउँदै जाने कुरामा नेपाली कांग्रेससँग सहकार्य हुन्छ । र, कम्युनिष्ट भन्ने शक्तिहरुसँग पनि जनजिविका र राष्ट्रियताका विषयमा मुद्दा अनुसार सहकार्य हुन्छ

तपाई काम होलाजस्तो लाग्दैन भन्नुहुन्छ, तर जनताले त उनै दललाई रोजे नि ?

नेपाली जनता लामो संक्रमणकालबाट वाक्क, दिक्क र थकित भएका थिए । त्यसैले उनीहरुले स्थिरता हुन्छ कि भनेर एउटा गठबन्धनलाई मत दिएका हुन्जस्तो मलाई लाग्छ । उहाँहरुलाई हाम्रो शुभकामना छ । उहाँहरुले जनताका अपेक्षा पूरा गर्नुहोस् । तर, हाम्रो रणनीतिक सोचचाहिँ के छ भने देशलाई विकल्प दिने ढंगले तयारी गरेर जाने ।

चुनावका बेलामा तपाईहरुले गर्नुभएको कांग्रेससँगको सहकार्य अझै जारी रहन्छ कि अब तोडिन्छ ?

लोकतन्त्रको मुद्दामा १२ बुँदे समझदारीका सहयात्री हुनुको नाताले प्राप्त उपलब्धीलाई रक्षा गर्दै लोकतन्त्रलाई अझ समृद्ध बनाउँदै जाने कुरामा नेपाली कांग्रेससँग सहकार्य हुन्छ । र, कम्युनिष्ट भन्ने शक्तिहरुसँग पनि जनजिविका र राष्ट्रियताका विषयमा मुद्दा अनुसार सहकार्य हुन्छ । तर, हाम्रो नयाँ शक्ति पार्टीको एउटा स्वतन्त्र वाम-लोकतान्त्रिक धार अगाडि बढ्छ ।

जनताले पुराना शक्तिहरुलाई एकचोटि अन्तिम अवसर दिएका छन् । तर, उनीहरुमा जुन वैचारिक अस्पष्टता छ , यसले अन्ततः काम गर्दैन ।

चुनाव सकिँदा नसकिँदै समाजिक सञ्जालहरुमा तपाईका विषयमा के भनेको सुनिँदैछ भने बाबुराम भट्टराईले कांग्रेसको भोट पाएर जिते, अब उनी केपी ओलीसँग कुरा गरेर फेरि वाम गठबन्धनमा लपक्कै हुन बेर लाग्ने छैन…….

यो त बाबुराम भट्टराईको इतिहास नबुझ्ने मान्छेहरुले लगाउने आरोप, अनुमान र पूर्वाग्रहमात्रै हो । बाबुराम भट्टराई लोकतान्त्रिक गणतन्त्र स्थापना गरेरमात्रै विकासको आधार तयार हुन्छ भनेर ४० वर्षदेखि लाग्यो र देशलाई यो ठाउँसम्म पुर्‍यायो । अब गणतन्त्र स्थापना भइसकेपछि नेपालमा कांग्रेस र कम्युनिष्ट भनेर चिनिएका पुराना शीतयुद्धकालीन वैचारिक धारहरु छन्, यी वैचारिक धारहरुभन्दा माथि उठ्नुपर्छ ।

अबको धार भनेको समाजवादी धार अर्थात सामाजिक लोकतन्त्रवादी धारमा टेकेर नेपालको विविधतालाई सम्वोधन गर्दै अगाडि बढ्ने हो । अनिमात्रै देशको राष्ट्रियताको संरक्षण र राजनीतिक स्थिरतासहित देशलाई समृद्धिको दिशातिर लान सकिन्छ भनेर म आएको हुनाले उहाँहरुको त्यस्तो अनुमान र पूर्वाग्रह गलत सावित हुनेमा म ढुक्क छु ।

आगामी संसदमा वामपन्थी, कांग्रेस र मधेसवादी दलहरुको प्रतिनिधित्व हुने देखिन्छ, यसमा तपाईको भूमिका कहाँनेर रहन्छ ?

अहिलेको संसदमा कांग्रेस, कम्युनिष्ट र मधेसवादी दलहरु गरी तीनवटा पक्षहरु हुन्छन् । तर, वैचारिक ढंगले यी तीनवटै शक्तिहरु अस्पष्ट छन् । देशको आवश्यकता, विविधता र भूराजनीतिक जटिलतालाई सम्वोधन गर्दै अगाडि बढ्न उनीहरुको वैचारिक धरातल पर्याप्त हुँदैन । त्यसैले वैकल्पिक राजनीतिक धार सिर्जना गर्नुपर्छ भन्ने विषयमा नै हामी केन्दि्रत हुनेछौं । आगामी संसदबाट मेरो र नयाँ शक्ति पार्टीका साथीहरुको भूमिका देशमा वैकल्पिक राजनीतिक धार निर्माण गर्ने कुरामै केन्दि्रत हुनेछ ।

तपाई बैकल्पिक धार बनाउने भन्दै हुनुहुन्छ, तर एमाले, माओवादी, कांग्रेस र मधेसवादी बाहेकको अर्को चौथो शक्ति देशमा आउला ? त्यसको सम्भावना अझै देख्दैहुनुहुन्छ तपाई ?

अब एकाध वर्ष हामीले हेर्नुपर्छ । यो चुनावका माध्यमबाट एकाध वर्ष त जनताले यी पुराना शक्तिहरुलाई एकचोटि अन्तिम अवसर दिएका छन् । चुनावले त्यो देखायो । तर, उनीहरुमा जुन वैचारिक अस्पष्टता छ र एउटा संकीर्ण घेरोभित्र रहेर उनीहरुले आफूलाई अगाडि बढाइराखेका छन्, यसले अन्ततः काम गर्दैन ।

मुख्यरुपमा नेपालको जुन जातीय, क्षेत्रीय विविधता छ, हिमाल, पहाड तराई मधेसको यो विविधतालाई सम्वोधन गर्ने कुरा अनि भारत र चीनको भूराजनीतिक जटिलतालाई सन्तुलन कायम गर्ने कुरा चुनौतीपूर्ण छ ।

र, पुरानो राजनीति जसरी भ्रष्टाचार र दुराचारको दलदलमा फसेको छ, त्योभन्दा माथि उठेर सुशासन दिने कुरा उहाँहरुबाट सम्भव हुन्छजस्तो मलाई लाग्दैन । र, जनतामा विकास र समृद्धिको जुन चाहना छ, त्यसका निम्ति पनि आर्थिक विकासको एउटा नयाँ मोडेल नलिइकन हुँदैन । यो अवस्थामा अबको केही वर्षभित्र वैकल्पिक राजनीतिको खोजी हुन्छ र त्यतिबेलाका लागि हामीले आफूलाई तयार पारेर राख्नुपर्छ भन्ने हाम्रो सोच छ ।


तपाईले केही वर्षभित्र विकल्प दिनका लागि तयार रहने भन्नुभयो, तर नयाँशक्ति पार्टी यसपालि राष्ट्रिय पार्टी बन्न सक्ला त ? के आँकलन गर्नुभएको छ ?

अहिले राष्ट्रिय पार्टी बन्ने नै हाम्रो अपेक्षा छ । हामीलाई अझै पनि विश्वास छ, हामी राष्ट्रिय पार्टी बन्छौं । किनकि हामीले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा र प्रदेशसभामा पनि जितिसकेका छौं । र, थ्रेसहोल्ड कटाउनका लागि समानुपातिकमा न्यूनतम मत कटाउनुपर्ने जुन प्रावधान छ, त्यो प्राप्त हुन्छ कि भन्ने हामीलाई विश्वास छ । अब केहीदिन पर्खेर हेरौं ।

समानुपातिकमा ३ प्रतिशत मत आएन र नयाँ शक्ति राष्ट्रिय पार्टी बन्न सकेन भने नि ?

थ्रेसहोल्ड नकटे पनि पार्टी त रहिहाल्छ नि । राष्ट्रिय पार्टी भन्ने त प्राविधिक कुरा मात्रै हो । त्योबाहेक हाम्रो हैसियत त राष्ट्रिय पार्टीकै रुपमा रहन्छ । र, विचारको हिसाबले वैकल्पिक रुपमा हामीले जुन ‘पाँच स’ को अवधारणा अगाडि सारेका छौं, त्यसका निम्ति संसदबाट र सडकबाट हामी अघि बढ्छौं । र, देशमा फरक धार कायम गर्न हामी सफल र सक्षम हुन्छौं भन्ने मलाई लाग्छ ।

तपाईहरु भनेजस्तै वैकल्पिक धार बनाउने भनेर रविन्द्र मिश्रजीहरु पनि विवेकशील साझा पार्टी खोलेर लागिरहनुभएको छ । आगामी दिनमा उहाँहरुसँग नयाँशक्ति पार्टीको सम्बन्ध कस्तो रहला ?

उहाँहरुसँग पनि अब हामीले आवश्यकताअनुसार सहकार्य गर्न सक्छौं । उहाँहरुले एउटा सुशासनको मुद्दा उठाइराख्नुभएको छ, यसका लागि आर्थिक विकासको एउटा मोडेलको आवश्यकता पर्छ । यसका साथै जातीय क्षेत्रीय विविधतालाई सम्वोधन गर्नुपर्छ । संविधानलाई सर्वस्वीकार्य बनाउन भूमिका खेल्नुपर्छ र भूराजनीतिक जटिलताको सन्तुलित समाधान खोज्नुपर्छ भन्ने लगायतका विषयमा उहाँहरु (विवेकशील साझा) सँग त्यति स्पष्टता छैन ।

सुशासनको मुद्दा उठाएको हुनाले उहाँहरुले शहरिया मध्यम वर्गलाई आकषिर्त गर्नुभएको छ । तर, नेपालमा चाहिँ शहरिया मध्यम वर्गले मात्रै पुग्दैन । नेपालमा जुन वर्गीय, जातीय, क्षेत्रीय जुन विविधता छ, यसलाई नै नसमेटिकन वैकल्पिक धार बन्छ जस्तो मलाई लाग्दैन । तैपनि सुशासनको मुद्दामा चाहिँ उहाँहरु र हाम्रो सहकार्य हुन सक्छ ।

अनलाइनखबरमार्फत नेपाली नागरिकलाई केही भन्नु छ ?

मेरो आग्रह के छ भने यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्वाचनपछिको पहिलो निर्वाचन भएर जुन परिणाम आएको छ, यसलाई हामी सबैले स्वीकार गरेर अगाडि जानुपर्छ र यो संविधानलाई कार्यान्वयन गर्दै, अपूर्णतालाई पूर्णता दिँदै यसका जुन कमीकमजोरी छन्, त्यसलाई संशोधनमार्फत सच्याउँदै सर्वस्वीकार्य बनाएर देशमा शान्ति, स्थायित्व सुशासन र समद्धिको दिशामा अब अगाडि जानुपर्छ । यसका निम्ति नयाँशक्ति पार्टी सबैसँग सहकार्य गरेर अगाडि बढ्न तत्पर रहन्छ । यसका निम्ति म सबैसँग आग्रह गर्न पनि चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?