+
+
Shares
समाचार टिप्पणी :

पार्टी अध्यक्ष त्यागेर बाबुरामले कोरे पुस्तान्तरणको गोरेटो

जेनजी आन्दोलनताका नयाँ पुस्तासँगै देखिएका भट्टराई स्वयंको पनि घर जल्यो । तर उनले आफ्नो व्यक्तिगत क्षति भुल्दै निरन्तर नयाँ पुस्ताको पक्षमा अडिए । आज पार्टी अध्यक्ष छाड्ने प्रस्ताव राखे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते २२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले ८ असोजमा पदत्याग गर्ने प्रस्ताव पेस गरेका छन्।
  • भट्टराईले फागुनमा विशेष महाधिवेशन गरी पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने जिम्मेवारी दुर्गा सोबलाई दिएका छन्।
  • उनले नेतृत्व त्याग गरेर पुस्तान्तरणको लागि बाटो खुलाए र नयाँ पुस्तालाई नेतृत्व लिन हौसला मिल्ने बताए।

८ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पद त्याग गरेका छन् । बुधबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा उनले पदत्याग गर्ने प्रस्ताव पेस गरेका हुन् ।

पार्टी नेतृत्व छाड्दै भट्टराईले फागुनमा विशेष महाधिवेशन गर्दै नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गराउने जिम्मेवारी दुर्गा सोबलाई दिएका छन् । सोब कुनै राजनीतिक दलको दलित समुदायबाट अध्यक्ष बन्ने सम्भवतः पहिलो नेतृ बन्ने भएकी छन् ।

गोरखाको एउटा गाउँको सामुदायिक विद्यालयमा पढेर प्रवेशिका परीक्षामा बोर्ड फर्स्ट भएर चर्चा कमाउन सुरु गरेका डा. बाबुराम भट्टराईले सबैजसो दशकमा चर्चामा रहँदै आएका छन् ।

राजनीति होस् वा राजकीय जिम्मेवारी, शैक्षिक होस् वा सामाजिक क्षेत्र, उनले सधैं नयाँ मान्यता बसाउन अगुवाइ गर्दै आए ।

उनले नेपाली समाजको आधुनिक इतिहासमा भूगोल एकीकरणको चरण, संविधान निर्माणको चरणपछि अब सभ्यता निर्माण अर्थात् समृद्धिको चरणमा प्रवेश गरिरहेको र देश कोल्टे फेर्ने अवस्थामा आइपुगेको विश्लेषण गरे ।

भट्टराईले भने- अब पुराना उद्देश्यका लागि बनेका पार्टीहरू नयाँ आवश्यकता अनुरुप बदलिनुपर्छ । अन्यथा पुराना पार्टी सकिन्छ भनेर उनले डेढ दशकअघि गरेको घोषणा अहिले सही हुने दिशातिर अगाडि बढेको देखिन्छ ।

आजभन्दा डेढ दशक अगाडि नै उनले तत्कालीन माओवादी पार्टीमै रहँदा नेपालमा नयाँ शक्ति अर्थात् वैकल्पिक शक्ति आवश्यक हुन्छ भनेर वकालत गरेका थिए । पछि उनले पार्टी छोडे र नयाँ शक्ति पार्टी बनाए ।

वैकल्पिक राजनीतिको नेतृत्व र वकालत गरिरहँदा उनी नयाँ कदमभन्दा बढी पूर्व जिम्मेवारीका कारण बढी चर्चा हुने पात्र बने । पूर्व माओवादी, पूर्व प्रधानमन्त्री, पूर्व सभासद, पूर्व अध्यक्ष (संवैधानिक समिति)।

‘पूर्व’ जिम्मेवारीको पहिचान बढी हावी भइरहँदा पनि उनले भविष्यको संकेत भने प्रचुर मात्रामा गरिरहे । प्रयत्न सफल होस् वा विफल, उनले नैतिकताको झन्डा भने सधैं उठाइरहे ।

राजनीतिमा नैतिकता भनेको सही र गलत छुट्याउन सक्ने क्षमता हो। नेताको नैतिकता तब परीक्षण हुन्छ जब उसले आफ्नो व्यक्तिगत हितभन्दा माथि उठेर समाजको हितमा काम गर्छ। ‘जेन-जी’ विद्रोहले स्थापित नेताहरूको नैतिकतामाथि नै प्रश्न उठाएको छ ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षबाट उनको पदत्याग शीर्ष नेतृत्वको कुर्सी मोहको अगाडि एउटा महत्वपूर्ण कदम हो ।

नेपाली राजनीतिमा एउटा पुरानो र निरन्तर बहसमा रहने प्रश्न हो– नेतृत्वको हस्तान्तरण र पुस्तान्तरण। यो बहसले स्वभाविक गति नलिएपछि चौथो पुस्ताले अगाडिका तीन पुस्ता- पहिलो पुस्ताको पदलोलुपता, दोस्रो पुस्ताको नालायकी र तेस्रो पुस्ताको अयोग्यताविरुद्ध एकसाथ विद्रोह गर्‍यो ।

यो विद्रोहलाई केवल भौतिक क्षति र आक्रोशको रूपमा बुझ्नु ठूलो गल्ती हुनेछ। आन्दोलनकारी वर्गले दशकौंदेखि स्थापित राजनीतिक संरचना, नेतृत्व र त्यसले सिर्जना गरेको निराशाप्रति नयाँ पुस्ताको वैचारिक विद्रोहको रुपमा व्याख्या गर्न खोजेको छ ।

जेन-जी आन्दोलन नेपाली राजनीतिक इतिहासमा एउटा ठूलो जन-चेतनाको विस्फोट थियो। तर, नेताहरू अझै आफ्नो अयोग्यता र अपराध बोधभन्दा सत्ता मोहलाई नै प्राथमिकता दिने मनस्थितिमा छन् ।

समसामयिक नेपाली राजनीतिभित्र विद्यमान गहिरो दार्शनिक अन्तरविरोध, नैतिक संकट र ठप्प पुस्तान्तरणको अवस्थामा जेन-जी विद्रोहले देखाएको बाटोमा भट्टराई हिंड्न तयार भएका छन् । विशेषतः पछिल्लो विद्रोहको सेरोफेरो, जहाँ सडकमा रगत बग्यो र बेहिसाब भौतिक क्षति भयो, यो पृष्ठभूमिमा उनले पद त्याग गरे ।

उनले विशेष महाधिवेशनबाट उनले पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्घोष गरेका छन् । यति धेरै क्षति हुनेगरी भएको जेनजी आन्दोलनको क्षतिपछि पनि प्रमुख दलहरू र शीर्ष नेतामा पछाडि फर्कने नै तयारीमा देखिन्छन् ।

केपी ओली बैठक नबोलाइकन केही युवा जम्मा पारेर ‘आई लभ यु ओली बा’ वाला नारा लगाउन लाएर बसिरहेका छन् । आफ्नै नेतृत्वमा भएको यतिठूलो जनधनको क्षतिको नैतिक जिम्मेवारी लिने उनको कुनै तयारी छैन । समाजसँग बनाएको दूरीका कारण यति ठूलो दुर्घटना थाहा पाउने क्षमता गुमाएका उनी दोषजति घुसपैठ र वैदशिक षड्यन्त्र भन्दै पन्छिइरहेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टी भंग गरेर सबै अधिकार केन्द्रित गरेर झन शक्तिशाली बनेर बसेका छन् । उनी अझै नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने पक्षमा छैनन् । प्रदर्शनकारीबाट पिटाइ खाएका ८० वर्षीय वृद्ध शेरबहादुर देउवा कांग्रेस नेतृत्व नछाड्ने अडानमा छन् ।

यथास्थितिवादले थिचिएको नेपाली राजनीतिक संरचनामा सत्ताको शीर्षमा बस्ने प्रमुख नेताहरू अझै सिंहासनमा टाँसिने संकेत गरिरहेका छन् । उनीहरूले जनआक्रोशलाई वैदेशिक षड्यन्त्रको लेपन लगाएर बिर्सिन खोजिरहेका छन्। उनीहरू अझै लोकप्रियताको भ्रममा पार्टी सत्तामा टिक्न खोजिरहेका छन् । आत्ममुग्धताले अहंकारी बनिरहेका छन् ।

आन्दोलनमा व्यक्त भावना र जनअपेक्षा अनुसार नयाँ र भरपर्दो राजनीतिक शक्ति निर्माण गर्न उनीहरूले कति पनि तत्परता देखाइरहेका छैनन् ।

उनको घर जले, तर उनी फेरि पनि आन्दोलनका पक्षमा उभिए। उनले आफ्नो व्यक्तिगत राजनीतिक करिअर नै संकटको केन्द्रमा राखेर हस्तान्तरणको गोरेटको कोरेका छन् । नैतिक जितका लागि नयाँ पहल लिएका छन् ।

सामान्यतः साँचो अर्थमा लोकतन्त्रमा सत्ता हस्तान्तरण वा पुस्तान्तरण नभएसम्म कुनै पनि विद्रोह अधुरो हुन्छ।

तर, हामी यति बेला सत्ताको मुठी कसेर बसेका वृद्धहरूको युगमा छौं। जहाँ वृद्ध नेतृत्व ‘अनुभव’को नाममा एकाधिकारवादमा रूपान्तरण हुँदैछ। देउवा, प्रचण्ड, ओलीहरूको सत्ता-संस्कारमा नेतृत्व त्यागको भाषा नै छैन। यस्तोमा बाबुरामको कदम नैतिक सन्देश हो ।

राजनीति केवल शक्ति आर्जनको खेल मात्र होइन, शक्ति त्यागको अभ्यास पनि हो।

यो पनि सत्य हो कि बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको बाटोमा हिंडेपछि कुनै निर्णायक शक्ति हासिल गर्न सकेनन्। पुराना पार्टीहरूसँग गठबन्धन गर्दा उनले वैकल्पिक धारको नेतृत्वको रूपमा विश्वसनीयता गुमाए।

हामी यति बेला सत्ताको मुठी कसेर बसेका वृद्धहरूको युगमा छौं। जहाँ वृद्ध नेतृत्व ‘अनुभव’को नाममा एकाधिकारवादमा रूपान्तरण हुँदैछ। देउवा, प्रचण्ड, ओलीहरूको सत्ता-संस्कारमा नेतृत्व त्यागको भाषा नै छैन। यस्तोमा बाबुरामको कदम नैतिक सन्देश हो ।

उनले जुन वैकल्पिक राजनीतिको वकालत गर्दै आएका थिए, त्यो विचार आफैंमा बदलिएको समाजको आवश्यकता थियो। तर, जब उनले ‘शक्ति आर्जन’ को नाममा पुराना दलहरूसँग सम्झौता गरे, तब उनले आफ्नो दार्शनिक र नैतिक आधार कमजोर पारे।

यसबीचमा उनी विशुद्ध वैकल्पिक पार्टीको लाइनमा उभिइरहन सकेनन् । पुराना पार्टीहरूसँग पनि एकता गरे- शक्ति आर्जनको नाममा । उनको तर्क हुन्थ्यो- वैकल्पिक भएर मात्रै नहुने रहेछ, शक्ति पनि चाहिने रहेछ ।

यसैको लागि गरेको सम्झौताका कारण उनले कहिल्यै शक्ति हासिल गर्न सकेनन् । उनले बुझेनन् कि साँचो अर्थमा वैकल्पिक रहिरहन सके शक्ति आफैं पछ्याउँदै आउनेछ । आज उनीसँग शक्ति छैन । तर राजनीतिक नैतिकता भने देखाउँदै आइरहेका छन् ।

त्यसैले होला, उनको पार्टीले चाहेको जस्तो वैकल्पिक शक्ति हासिल गर्न सकेन। यहीक्रममा सम्भवतः उनले सिके- साँचो वैकल्पिक शक्ति तब मात्रै सम्भव छ जब विचार र नैतिकतामा कुनै सम्झौता गरिँदैन।

तर उनी सैद्धान्तिक इमानदारीमा बाँचे। उनले कहिल्यै राजनीति ‘व्यापार’ बनाएनन्।

भनिन्छ- असल उद्देश्यका लागि उपलब्धिहिनता पनि सुन्दर हुन्छ । किनकि उनले भनेअनुसार नेपाली राजनीति पुस्तान्तरणको छटपटिमा छ । र, यो निर्णायक घडीमा पनि उनले त्यागको बाटोमा आफूलाई उभ्याएका छन् ।

अब यो परीक्षामा हाम्रा हरेक नेताहरू छन् । उनको कदमले बाँकी नेतृत्वलाई पनि नेतृत्व हस्तान्तरणको लागि नैतिक दबाब सिर्जना गर्नेछ र नयाँ पुस्तालाई पहल लिन हौसला मिल्नेछ । उनीहरूका अगाडि प्रश्न उभिएको छ- के तपाईं पनि नेता होइन, ‘मार्गदर्शक’ बन्न तयार हुनुहुन्छ ? के तपाईंहरुको लागि सत्ताभन्दा राजनीतिक उत्तरदायित्व ठूलो बन्ने दिन आउँछ ?

राजनीतिमा सधैं जित्नुपर्छ भन्ने होइन, कहिलेकाहीँ हारेर पनि इतिहास जितिन्छ। बाबुरामले नेतृत्व छाडेर असफलताको सौन्दर्य देखाए र यथास्थितिको भीडमा एउटा सानो विजय हासिल गरे।

बाबुराम भट्टराई आफ्नो पुस्ताका अरूभन्दा अध्ययनशील र गतिशील राजनीतिक नेतृत्व हुन् । पछिल्लो जेनजी आन्दोलनताका पनि उनी नयाँ पुस्ता सँगै रहे । घर त उनकै पनि जलेकै हो । तर उनले आफ्नो व्यक्तिगत क्षति भुल्दै निरन्तर नयाँ पुस्ताको पक्षमा अडिए ।

जेनजी विद्रोहपछि देश पुरानै दिशातिर फर्कने जोखिमले अहिले नेपाली समाजमा उदासीनता र थप निराशा बढेको छ । विद्रोहपछि देशमा प्रगतिशील मार्गप्रशस्तको एउटा तरंग सिर्जना हुनुपर्ने हो । तर नेताहरू सहिदका रगतको टाटा नसुक्दै त्यही विद्रोहलाई गाली गर्दैछन् ।

यस्तोमा बाबुरामले नेतृत्व त्याग गरेर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु नैतिकबोधसहितको निर्णय हो र यसले अरुलाई पनि दबाब सिर्जना गर्नेछ । बाबुराम भट्टराईले नेतृत्व त्याग गरेर पुस्तान्तरणको लागि बाटो खुलाए, बाटो देखाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?