Comments Add Comment

बिदा भए ९८ हजार म्यादी प्रहरी

फाइल फाेटाे

७ पुस, काठमाडौं । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ती गरिएका देशभरका म्यादी प्रहरीको शुक्रबारदेखि जिम्मेवारी सकिएको छ ।

विभिन्न जिल्लाको जिल्ला प्रहरी कार्यालयमा उनीहरुलाई म्यादी प्रहरीमा खटिएको प्रमाण–पत्र दिएर विदाइ गरिँदैछ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ९८ हजार २ सय ३८ म्यादी प्रहरी खटिएका थिए ।

‘५५ दिनको कार्यअवधि सकिएपछि प्रमाण–पत्र दिएर औपचारिक रुपमा विदाइ गरिँदैछ’, प्रहरी प्रवक्ता मनोज न्यौपानेले भने ।

म्यादी प्रहरीले ५५ दिन सुरक्षामा खटिएवापत प्रहरी जवान सरहको तलबभत्ता, दुर्गम क्षेत्रमा काम गर्नेलाई स्थानीय भत्ता, पोशाक वापत ४ हजार, यातायात खर्च १ हजार र चुनावको समयमा ७ दिनको ५ सय रुपैयाँका दरले दैनिक भत्ता पाएका छन् ।

जनताको सुरक्षार्थ खटिएका वेला वीरगञ्जमा भएको बम विष्फोटमा परी एक जना म्यादी प्रहरीको मृत्यु भएको थियो । त्यस्तै, दुई जना म्यादी प्रहरीको हेटौंडामा सवारी दुर्घटनामा र दार्चुलामा भीरबाट लडेर अर्का म्यादी प्रहरीको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment