Comments Add Comment

पूर्वी तराईका ५ चर्चित पिकनिक स्थल

सुनसरीको बक्लौरीमा रहेको राष्ट्रिय सम्मानित (रास) ताल ।

११, पुस, इटहरी । पुस जाडो महिना मात्रै होइन, वनभोजको मौसम पनि हो । सप्तकोशी र मेची नदीको बीचमा रहेको प्रदेश-१ को तराई भेगमा धेरै राम्रा वनभोज स्थलहरु छन् ।

सुनसरी, मोरङ र झापाका वनभोजस्थलमा अहिले भीड बढेको छ । भारतका सीमावर्ती विहार र पश्चिम बंगालका बासिन्दा पनि यहाँ वनभोजमा रमाउन आइपुग्छन् । पूर्व-पश्चिम राजमार्ग आसपासका यस्ता स्थलहरु पारखीहरुका रोजाइका गन्तव्य हुन् ।

यी हुन्, पूर्वी नेपालका केही चलनचल्तीका वनभोज स्थलः

१.राष्ट्रिय सम्मानित ताल, बक्लौरी, सुनसरी

इटहरी र आसपासका बासिन्दाका लागि सुनसरीको बक्लौरीस्थित राष्ट्रिय सम्मानित (रास) ताल एक गन्तव्य हो । कमै चर्चामा रहेको यस सीमसार क्षेत्रलाई इमानसिंह चेम्जोङ स्मृति प्रतिष्ठानले संरक्षण गर्दै आएको छ ।

करिब ४४ बिघाको ताल क्षेत्रमा पानीको भाग १५ बिघा छ, जुन सुनसरी सामुदायिक वन क्षेत्रमा पर्छ । बक्लौरी-८ को ६४ बिघा नामबाट पनि परिचित छ, यो क्षेत्र ।

धरानतिरबाट आउनेहरु तरहरा र इटहरीका बासिन्दा कान्छीचोकबाट भित्र आधा घण्टाको ड्राइभिङमा पुग्न सक्छन् ।

तालमा बोटिङ गर्दा जनही बयस्कलाई २५ तथा विद्यार्थी र बालबालिकालाई १० रुपैयाँ लाग्छ ।

प्रतिष्ठानका कार्यालय सचिव विजय राईका अनुसार सरकारको आठ लाख तथा अन्य स्रोतबाट पाँच लाख रुपैयाँ जुटाएर ताल क्षेत्रमा पूर्वाधार विकास थालिएको छ ।

हाल सातामा चार सय जनासम्म आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन् । ‘तर, दैनिक एक हजार जनासम्म वनभोज र घुम्न आउन सक्छन्,’ राई भन्छन् ।

२. तालतलैया, इटहरी

इटहरी-२ र ३ मा पर्ने तालतलैया पर्यटकीय क्षेत्रमा वाषिर्क करिब पाँच लाख आगन्तुक पुग्छन् ।

तालतलैया व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर राईका अनुसार तिहार सकिएपछि माघसम्म वनभोज गर्नेहरुको भीड लाग्छ । दैनिक करिब एक सय ६८ वटा गाडी त्यहाँ पुग्ने गरेको राई बताउँछन् ।

सुनसरी, मोरङ र झापाका पिकनिक पारखीहरु बढी आउँछन् । त्यसबाहेक सीमा जोडिएका भारतीय राज्यहरु विहार र पश्चिम बंगाल तथा तेस्रो मुलुकका पर्यटक पनि आइपुग्छन् ।

७६ दशमलव ४५ हेक्टरमा फैलिएको छ, तालतलैया । त्यसको २१ दशमलव ५० हेक्टरमा पर्खालले घेरिएको छ । आठ वटा पोखरीलाई गाभेर तालतलैयाको रुप दिइएको हो ।

‘जलपरी रिक्सा’को नामबाट जलविहार पनि सञ्चालनमा छ ।

सिजनमा दैनिक १० हजारभन्दा बढी आगन्तुक आउँछन् । ‘अफ सिजन’मा दैनिक पाँच सय जनासम्म पुग्छन् । व्यवस्थापन समितिले गाडीका लागि तीन सयदेखि ६ सय र प्रतिव्यक्ति १० रुपैयाँ शुल्क लिने गरेको छ ।

तालतलैयाभित्र बालउद्यान र मिनी चिडियाखाना पनि छन् । त्यहाँ रहेका पशुपंक्षी उद्धार केन्द्रलाई मिनी चिडियाखानाको रुप दिइएको छ, जसको प्रवेश शुल्क २० रुपैयाँ छ ।

जलपरी रिक्सा र घोडचढीको शुल्क दूरीअनुसार ५० देखि सय रुपैयाँसम्म लाग्छ ।

इटहरीको जुटविकास चोकबाट पाँच र तरहराबाट तीन किलोमिटरभित्र पर्छ, तालतलैया । त्यहाँ ढुंगाका २८ थान आकर्षक मुर्तिहरु पनि छन् ।

३. बेतना सीमसार, बेलबारी, मोरङ

मोरङको बेतना सीमसार क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । दैनिक एक हजारभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन्, त्यहाँ । पछिल्ला दिनमा भारतीय पर्यटकको समेत आउजाउ बाक्लिन थालेको उक्त सीमसारका प्रमुख धनबहादुर राई बताउँछन् ।

उनका अनुसार धरान, दमक र विराटनगरदेखि आन्तरिक पर्यटक आउँछन् । भारतका विहार, दार्जिलिङ र सिक्किमका पर्यटक पनि आउन थालेका छन् ।

एक सय ७५ हेक्टरमा फैलिएको सीमसार पूर्व-पश्चिम राजमार्गछेउमै छ । विशेषगरी वनभोज, घुमफिर, बोटिङ र जंगल सफारीमा आउने आगन्तुक बढ्दै गएका छन् ।

आगन्तुकहरु सीमसारनजिक राखिएको ठूलो आकारको कमिलाको मूर्तिसँग सेल्फी लिन रमाउने गरेका छन् ।

प्रवेश शुल्क ३० रुपैयाँ तिरेपछि डुंगा लिएर आधा घण्टा चार जनाले बोटिङ गर्न डेढ सय रुपैयाँ लिने गरिएको छ । हाँसको आकारमा बनाइएको डुंगा सयर गर्न भने आधा घण्टाको दुई सय रुपैयाँ शुल्क तोकिएको छ ।

उक्त सीमसारमा नौ जना करार र अन्य कर्मचारी गरी १३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । आसपासका दुई दर्जनभन्दा बढी पसलहरुको दैनिक कारोबार पनि राम्रो रहने गरेको छ ।

बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुली भन्छिन्, ‘प्रकृतिको शान्त, एकान्त र मनोरम दृष्यमा रमाउन यो उपयुक्त गन्तव्य हो यो ।’

४. गोकुलम रिसोर्ट, सुन्दरहरैंचा, मोरङ

इटहरीबाट नजिक पर्छ, अर्को पर्यटकीय गन्तव्य, गोकुलम । मोरङको सुन्दरहरैंचा नगरपालिकामा पूर्व-पश्चिम राजमार्गस्थित बलियाचोकबाट डेढ किमिभित्र छिरेपछि पुगिन्छ, त्यहाँ ।

साढे पाँच बिघामा फैलिएको गोकुलम रिसोर्टमा बोटिङ, हर्स राइडिङ, चिल्ड्रेन पार्क, होटेललगायत सुविधा छन् । ताज महल, आइफेल टावरलगायत विभिन्न विश्वप्रसिद्ध ल्यान्डमार्कहरुका नमूना पनि त्यहाँ राखिएको छ ।

त्यसको प्रवेश शुल्क २५ रुपैयाँ छ । वनभोजमा आउँदा प्रतिगाडी १५ सय रुपैयाँ शुल्क लाग्छ । व्यक्तिको प्रवेश भने निःशुल्क छ ।

१ वैशाख ०७३ देखि सञ्चालनमा आएको हो, उक्त रिसोर्ट । दैनिक औसत एक हजार आन्तरिक पर्यटक पुग्छन् । शनिबार र बिदाका दिनमा करिब पाँच हजार जनाको भीड लाग्छ ।

गत २७ साउनको बाढीले रिसोर्टमा पनि क्षति पुर्‍याएको थियो । सञ्चालक सतिश पोखरेलका अनुसार आगन्तुकलाई सहज होस् भनेर त्यहाँबाट इटहरीसम्म आउजाउ गर्ने आधा दर्जन गाडी खरिद गर्ने योजना छ ।

५. जामुनखाडी सीमसार, कन्काई, झापा

झापाको कन्काई-१ र २ मा पर्ने जामुनखाडी वनभोजमा रमाउनेहरुका लागि अर्को उत्कृष्ट गन्तव्य हो ।

सुरुंगा बजारबाट दुई र पूर्व-पश्चिम राजमार्गबाट एक किमि उत्तरमा पर्छ, यो गन्तव्य । झापा, मोरङ, सुनसरी, इलामलगायत जिल्लाका पिकनिक पारखी र आन्तरिक पर्यटक त्यहाँ पुग्छन् ।

जामुनखाडी सीमसार तथा पर्यटकीय क्षेत्रका कार्यालय सचिव अम चौहानका अनुसार २६ दशमलव ५४ हेक्टरमा फैलिएको सीमसारमा दैनिक औसत पाँच सय आगन्तुक पुग्छन् ।

कात्तिकदेखि माघसम्म वनभोजका टोलीहरुका कारण भरिभराउ रहन्छ, उक्त क्षेत्र ।

दुर्लभ वन्यजन्तुको आरक्ष, झोलुंगे पुल, हरिण पार्क, बाल उद्यान र बोटिङले उक्त गन्तव्यलाई थप आकर्षक बनाएको छ । पर्यटकीय आकर्षण बढ्दै गर्दा २० जनाले रोजगारी पाएका छन् ।

प्रवेशमा जनही ५० रुपैयाँ शुल्क तोकिएको छ । वनभोज समूहहरुलाई भने तीन सयदेखि पाँच सय रुपैयाँसम्म शुल्क लिने गरिएको छ ।

सीमसारभित्रका वनभोज स्थलमा जनही ५० रुपैयाँ शुल्क तिर्नुपर्छ । बोटिङ गर्नु परे जनही ५० रुपैयाँ शुल्क लाग्छ । १६ माघ ०६५ देखि सञ्चालनमा आएको हो, उक्त सीमसार क्षेत्रको पर्यटकीय गतिविधि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment