Comments Add Comment

भीष्मराजको ‘टुहुरो कुण्डली’ बजारमा

युवा उपन्यासकार भीष्मराज फुलाराको सामाजिक यथार्थवादी उपन्यास हो ‘टुहुरो कुण्डली’ । सुदूर पश्चिमाञ्चल, डोटी जिल्लाको दुर्गम तथा पिछडिएको गाउँ चुडीमा जन्मेर त्यहीँ हुर्किएका फुलाराले केही वर्षपछि आफैंले देखेका भोगेका घटना उपघटनाहरूलार्ई शब्दमा उनेर यो उपन्यास तयार पारेका हुन् ।

यस उपन्यासमा समाजमा टुहुरो भई बाँचिरहेका, आवाजविहीन भई दफनिएका, बगरमै लुटिएका, विषकुण्डमा होमिएका, सामाजिक रूपमा अपहेलित भएका, रणसमरमा ज्यान गुमाएका, विदेशी भूमिमै काम गर्दागर्दै आहूति दिएकाहरूको आवाजलाई उजागर गरिएको छ । यसैले पनि सामाजिक विषयवस्तु समेटिएको उपन्यास हो ‘टुहुरो कुण्डली’ भन्न सकिन्छ ।

सामाजिक संवेदना स्खलित हुँदै गइरहेको आजको विश्व परिवेशमा उपन्यासकार फुलाराले यस उपन्यासमार्फत करुणा, दया, माया, सद्भाव र सहानुभूतिजस्ता मानवीय संवेदनाको उठान गरेका छन् ।

यसरी आम पाठकलाई यतातिर सोच्न बाध्य पारेका छन् लेखकले । पुस्तकले दुर्गम ग्रामीण भेगको यथार्थताको चित्रित गरेको छ । सुदूरपश्चिमको पहिचान झल्कने संस्कृतिको ज्ञान र सामाजिक चालचलनको चित्र, शब्द चित्र दुरुस्त उतारेका छन् ।

शब्दमार्फत समाजको उत्कृष्ट फोटोकपी गर्न सफल छन् यस कृतिका लेखक । मानवीय पीडा भुलाउन अनेकन कथा उपकथालाई शृङ्खलाबद्ध गर्न खप्पिस लेखक जीवनका विविध आयाम, उकालीओरालीहरूलाई पुस्तकका अक्षरहरूमा यसरी प्रस्तुत गरेका छन् कि पुस्तक पढ्दै जाँदा जो कोहीको मन पनि भावविहृवल हुन्छ ।

पारिवारिक पीडा बोधलाई देश, काल र परिस्थितिको मालामा उन्दै जाँदा पुस्तकको ३९ पृष्ठमा सबै पाठकका आँखालाई रसिलो बनाउँछ । लेखकको बाल्यकालमै उनकी आमा उनलार्ई राख्ने न्यायो काख छुटाउँदै परलोक भएको घटना पुगेपछि कथा नयाँ मोडमा पुग्छ ।

उपन्यासकार फुलारा मूलपात्रको रूपमा आफैं उभिन्छन् । ‘म’ पात्रलार्ई प्रमुख बनाएर लेखक फुलाराले लेखेका यस उपन्यासमा दश वर्षको उमेरदेखिको अनुभूति समेटिएको छ ।

सम्झँदा पनि काँडाले घोचेसरह हुने र बिर्सन पनि नसकिने आफ्ना जीवनका क्षणहरू समेटिएको सो उपन्यासको सुरुआत मै भनिएको छ । जसले गर्दा वास्तविक मानवीय पीडा तथा अनुभूति नजिकबाट नियाल्न सहज हुन्छ ।

यो उपन्यास सरल भाषामा अगाडि बढेको छ । पढ्दै जाँदा अनेकन भाव मनमा प्रवाहित हुन्छ । उपन्यासकार आफैं भाव गंगामा पौडी खेल्दै मानवीय समवेदना प्रस्तुत गर्दै मन छुने पारामा जीवनलाई सोच्न बाध्य तुल्याउँछन् ।

उपन्यासकार आफू पनि दुःख पीडामा भिजेर लेखेको अनुभूति हुन्छ । आफ्नै दुःख पीडाको परिस्थितिबाट उन्मुक्ति लिँदै समाजलाई केही दिन खोज्ने चिन्तनमा लेखक रहेको प्रस्ट छ ।

कथा आफू अट्ने घर परिवार समाज, संस्कृति चाल, चलन, भेषभूषा र मूल्यमान्यता भित्रै घुमेको देखिन्छ । प्रश्रव अवस्थादेखि महायात्रा मुक्ति मार्गको बाटो र शोकै शोकमा जेलिएको कथाले आँखामा झलझली दृश्य खिचिएको आभाष दिलाउँछन् ।

पश्चिमी नेपालको रुढीवादी विकट गाउँले परिवेश, संस्कृति कुसंस्कार, र विद्यमान अन्धविश्वासको पर्दाफास पनि गरेको छ पुस्तकले । यो उपन्यास कारुणिक भए पनि दार्शनिक तथा मनोवैज्ञानिक पक्ष आकर्षक लाग्छ । करुणाले मानिसलाई उज्यालो बाटोमा हिँड्न सिकाउँछ ।

उपन्यासको अन्तमा लेखकले मार्मिक शब्दहरूले कठोर मन पनि पगाल्छ । अर्को जुनीमा उनै आमाको कोखबाट जन्मलिने इच्छा लेखक फुलाराले दर्शाएका छन् । उपन्यासको बिट मार्दै पेज नम्बर २६९ मा उनले भनेका छन् ‘अर्को जुनीमा म फेरि तपाईंको छोरा भएर जन्मन पाऊँ । अनि जीवनभर तपाईंको मातृवात्सल्यमा रमाउन पाऊँ । मलाई स्वर्ग चाहिँदैन । मलाई आमा भए पुग्छ । म फेरि तपाईंको गर्भमा नौ महिना बिताएर जन्मिन चाहन्छु । तर त्यसबेला चाहि टुहुरो बनाएर अलपत्र छाडेर नजानुहोला ।’

उपन्यासमा दर्शन छ । मानव जीवनलाई सचेत गराउँछ, पुस्तकका हरफहरूले । यसको अलावा आञ्चलिकता झल्किन्छ पुस्तकमा । भाषा शैली सुन्दर छ । उपन्यास पढ्दै जाँदा कौतुहलता जगाउँछ ।

खोजी प्रकाशन गृहले बजारमा ल्याएको यो पुस्तकको मूल्य ३८० रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment